• १८ असार २०८१, मङ्गलबार

एलपी ग्यासमा दुई थरी मूल्य तोक्ने तयारी

blog

काठमाडौँ, जेठ २१ गते  । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा दुई थरी मूल्य लागू गर्ने तयारी गरेको छ । सर्वसाधारण व्यक्तिलाई राहत दिन दुई थरी मूल्य निर्धारण गर्न लागिएको हो । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले घरायसी प्रयोजनका लागि हालकै मूल्य र व्यापारिक प्रयोजनका लागि परल मूल्य लागू गर्न लागिएको जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका सर्वसाधारण व्यक्ति पहिचान गरेर राहत दिइने र व्यापारिक प्रयोजनका लागि खरिद मूल्यमै बिक्री गर्ने तयारी गरिएको थानीले जानकारी दिनुभयो ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत एलपी ग्यासको उपभोगमा सर्वसाधारण जनताको घरायसी एवं व्यापारिक प्रयोगका लागि अलगअलग मूल्य कायम गर्ने घोषणा गरेको छ । यसअघि तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले ग्यासमा घरायसी प्रयोजनका लागि रातो र व्यापारिक प्रयोजनका लागि नीलो सिलिन्डर लागू गर्ने निर्णय गरे पनि यसको प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको थिएन । 

अध्ययन समिति गठन

निगमले फेरि दुई थरी मूल्य निर्धारण गर्न अध्ययन प्रक्रिया अगाडि बढाएको छ । यसका लागि अध्ययन समिति नै गठन भएको छ । दोहोरो मूल्य दुरुपयोग नहुने गरी आधुनिक प्रविधि प्रयोग गरेर सफ्टवेयर प्रणालीमार्फत लागू गर्न सकिने निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो । यसअघि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेकाले पनि अब कार्यान्वयन हुनेगरी सरोकारवाला निकायसँग छलफल गरेर लक्षित वर्ग पहिचान गरेर ग्यासमा राहत दिनेगरी अध्ययन सुरु गरेको उहाँले जानकारी दिनुभयो ।   

आर्थिक अवस्था कमजोर भएका, विद्यार्थी वर्गलाई ग्यासमा मूल्य घटाएर दिन सकिने उहाँले जानकारी दिनुभयो । सबैलाई छुट आवश्यक नपर्ने र निम्न वर्गका व्यक्तिलाई पहिचान गरी सहुलियत डिलर तोकेर त्यसमार्फत राहत दिन सकिने भट्टराईले बताउनुभयो । निगमका अनुसार ३० प्रतिशत व्यापारिक र ७० प्रतिशत घरायसी प्रयोजनमा ग्यासको खपत हुने गर्छ । घरायसी र व्यापारिक प्रयोजनका लागि हाल एउटै मूल्य कायम छ ।  

नेपाल ग्यास बिक्रेता महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले ग्यासमा दोहोरो मूल्य कार्यान्वयन गर्न कठिन भएको बताउनुभयो । घरायसी र व्यापारिक प्रयोगकर्ता छुट्याउन कठिन भएकाले दुई थरीको मूल्य कार्यान्वयन गर्न कठिन हुने उहाँले बताउनुभयो । 

बजारमा मासिक ४५ लाख मेट्रिक टन अर्थात् एक लाख ३५ हजार सिलिन्डर ग्यास खपत हुने गर्छ । निगमलाई सबैभन्दा धेरै घाटा ग्यासमा रहेको छ । प्रतिसिलिन्डरमा ७५१ रुपियाँ घाटा छ । ग्यास प्रतिसिलिन्डरको खरिद मूल्य दुई हजार ५५१ रुपियाँ रहेको छ । बजार मूल्य एक हजार आठ सय रुपियाँ रहेको छ । मासिक घाटा एक अर्ब ४३ करोड २४ लाख रुपियाँ घाटा रहेको छ ।  

ग्यासको मूल्य बढ्दै गए पनि सो अनुपातमा मूल्य समायोजन नहुँदा घाटा बढ्दै गएको निगमको भनाइ छ । चालू आर्थिक वर्षको वैशाख महिनासम्म चार लाख ७८ हजार मेट्रिक टन ग्यास आयात भएको छ । 

Author

लक्ष्मी सापकोटा