हरेक बिहानीमा बज्ने गर्दैन
मेरो आँगनमा चुरा
बरु बजिरहन्छ अजङ्गको सन्त्रास
जो कहिले असिना बनेर बर्सन्छ बालीमा
जो कहिले सर्प बनेर पस्छ बस्तीमा ।
मेरो मृदुल आँगनमा ।
केही समयअघि देख्दा शान्त देखिने
त्यो भद्र निलो सर्प पस्यो मेरोे झ्यालको खोपीबाट
सर्प मान्छे देख्दा तर्सनुपर्ने
लखेटिँदा भाग्नुपर्ने
तर अहँ ऊ डगमगाएन
चलमलाएन
ढकमक्क मेरो आसपास ढाकेर बस्यो
मेरो नित्य, अनित्य समय पनि ढाकेर बस्यो
बिस्तारै म तेरो सह हुँ, पूजा गर भन्यो गरेँ
मेरो -याल नै प्रसाद हो
जे जे चढाऊ चढा भन्यो चढाएँ
मै हुँ शक्ति भक्ति गर भन्यो गरेँ
हुँदाहुँदै एकदिन डँडाल्नोमा बस् भन्यो सकिएन
आँखा जुधाएर हेर् भन्यो सकिएन
सन्त्रासले न सुत्न सकियो न खान
न हिँड्न सकियो न बस्न
ऊ मागी मागी, सताई सताई
मेरै पौरख र समय खाइबस्यो
मेरै सिप, कमाइ र स्याहारले ढाडिबस्यो
म उसलाई फुत्कियोस् भनेर
हाँसी हाँसी बिदा गर्न खोज्थेँ
ऊ फँडा उठाउँथ्यो
म नाची नाची ऊ निदाओस् भन्थेँ
ऊ पुच्छरले पछाडिबाट निमोठ्थ्यो
म भोकले हुरुक्क भई खान खोज्थेँ
ऊ विषाक्त जिब्रो टक्टक्याउँथ्यो
खुसी भइदिऊन् भनेर गाउँथँे
ऊ पूरै शरीर लपलपाउँथ्यो
अहिले व्रmमशः ऊ
मलाई घरभित्रैबाट बिस्तारै ढोका खोलिदिन्छ
र जा कमाएर ल्या भन्छ
ऊ रातमा मलाई ओछ्यान मिलाइदिन्छ र
आनन्द लुट् भन्छ
चुरा बज्नुहुन्न बुझिस् तर भारी बोक भन्छ
पाउजु खोल्नुहुन्न बुझिस् तर ननाच भन्छ
मेरै डँडाल्नोमाथि बसेर ऊ म गजुर हुँ भन्छ