• १९ चैत २०८१, मङ्गलबार

अथक अध्येताको अवसान

blog

श्रद्धेय राप्रउ पोखरेल अचानक बिदा हुनुभयो । कुनै दीर्घरोगका कारण अशक्त अवस्थामा हुनुहुन्नथ्यो उहाँ । अध्ययन र लेखनमा सव्रिmय रहँदारहँदैको अवस्थामा, हिँडडुल गर्दागर्दैको अवस्थामा ८२ वर्षको उमेरमा उहाँको भौतिक अवसान भयो । आफन्त कसैलाई भेट्न जान घरबाट निस्किँदै गर्दा एक्कासि बिरामी पर्नुभएका राप्रउलाई केही दिनको भरमग्दुर उपचार प्रयासले बचाउन सकेन । शब्द र सम्झनाका स्मृतिलाई छोडेर उहाँ जानुभएको आज १३ दिन भएको छ । 

सामान्यतया सहज, शालीन र सुमधुर स्वभावका राप्रउ । एक गम्भीर अध्येता र विद्वान् लेखक कतिसम्म सरल र मिलनसार हुन सक्छन् भन्ने कुराको एउटा उदाहरण हुनुहुन्थ्यो उहाँ । बोल्ने तर ज्यादा नबोल्ने, मसिनो स्वरमा मिठो बोल्ने, चाहिने कुरा मात्र बोल्ने, सधैँ विनम्र देखिने, आफ्ना कुरा तर्कपूर्ण गहिराइमा राख्ने, आफूले जानेको र बुझेको कुरामा मात्र बोल्ने, आफूलाई ठिक लागेको कुरामा अडान लिने, सकेसम्म अरूलाई नचिढ्याउने, आफ्नो स्वाभिमानलाई झुक्न नदिने, ढोँग र आडम्बरबाट मुक्त, खुलस्त । उहाँको स्वभावजन्य परिचय यस्तै यस्तै थियो । 

०००

राप्रउले आफ्नो गृहजिल्ला महोत्तरीको जलेश्वरस्थित लक्ष्मीनारायण चण्डीप्रसाद मुरारका हाइस्कुलबाट माध्यमिक शिक्षा पूरा गर्नुभएको थियो । त्यहीँ नै उहाँले हिन्दी कथा र उपन्यास प्रशस्तै पढ्नुभयो । त्यहाँ ‘राजेश्वरी अध्ययन मण्डल’ र ‘अयोध्या पुस्तकालय’ नामका दुई वटा सार्वजनिक पुस्तकालय थिए । यी दुवै पुस्तकालयमा हिन्दी साहित्यका राम्रा पुस्तक सङ्कलित थिए । राप्रउले दुवै पुस्तकालयका सबै जसो पुस्तक पढेर भ्याउनुभयो । उहाँलाई अध्ययनप्रति रुचि जगाउने र साहित्य लेखनमा प्रेरित गर्ने काम यही समयको अध्ययनले गराएको थियो । 

कक्षा ९ मा पढ्दै गर्दा उहाँ नेपाल कम्युनिस्ट पार्टीमा संलग्न हुन पुग्नुभयो । २०१५ सालको पहिलो आमनिर्वाचनमा उहाँ कम्युनिस्ट पार्टीको प्रचारमा सव्रिmय भएर खट्नुभयो । कम्युनिस्ट पार्टीमा लागेपछि सोही अनुसारका दर्शन, इतिहास र विश्व साहित्यका पुस्तक पढ्नुभयो । कलेजमा पढ्न थालेपछि राहुल सांकृत्यायन, यशपाल, राँगेय राघवका र्चिर्चत कृतिसँगै माक्र्सवादी दर्शनका धेरै पुस्तक पढ्नुभयो । उहाँका लागि पढ्ने कुरा अम्मल जस्तै बन्यो । 

राप्रउ कुनै समय पत्रकारितासँग पनि जोडिनुभएको थियो । मदनमणि दीक्षितको सम्पादनमा प्रकाशित हुने ‘समीक्षा साप्ताहिक’ सँग जोडिएर उहाँले २०१८ सालदेखि पत्रकारिता गर्नुभयो । जनकपुरमा ‘समीक्षा’ को प्रमुख संवाददाता भएर पत्रकारिता गर्ने व्रmममा उहाँ प्रहरीको पव्रmाउमा पनि पर्नुभयो । पञ्चायती व्यवस्था र स्थानीय प्रशासनको विरोधमा समाचार प्रकाशित गराएको आरोपमा उहाँलाई प्रहरी हिरासतमा बिनापुर्जी चार दिन राखिएको थियो । 

उहाँको पत्रकारिताको यात्रा धेरै लामो रहेन । पत्रकारिताको छोटो यात्राले उहाँलाई लेखनमा अगाडि बढ्न प्रेरित नै ग¥यो । लेखहरू लेख्ने र पत्रपत्रिकामा छपाउने कुरामा उहाँको सव्रिmयता बढ्यो ।   

०००

लेखनमा राप्रउ पोखरेलका नामले सुपरिचित रामजीप्रसाद उपाध्याय पोखरेल सिर्जनात्मक लेखकसँगै साहित्य, संस्कृति, इतिहास, दर्शन र राजनीतिका विद्वान् हुनुहुन्थ्यो । विविध ज्ञानका एउटा भण्डार । पूर्वीय र पाश्चात्य साहित्य, दर्शन र धर्मसंस्कृतिका ज्ञाता । उहाँले कथा, समालोचना, दर्शन, संस्कृति र इतिहासबारे लेख्नुभयो । उहाँका पछिल्ला ‘विचार मीमांसा’ र ‘मन्दोदरीदेखि माक्र्ससम्म’ नामका दुई कृति पढ्दा पनि थाहा हुन्छ उहाँको असीमित अध्ययन र ज्ञानको गहनता अनि व्यापकता ।  

बैङ्क तथा सरकारी कर्मचारीका रूपमा रहेकै अवस्थामा पनि राप्रउ पोखरेल अध्ययन र लेखनमा निरन्तर लागिरहनुभयो । उहाँ आफ्ना समकालीनमध्येमा अध्ययन र बहसलाई रुचाउने व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको त्यही व्यक्तित्वकै कारण कतिपय सहकर्मीसँग गम्भीर मतभेद पनि रह्यो । उहाँको मतभेदलाई कतिले ‘सिर्जनात्मक बहस’ का रूपमा लिए, केहीले त्यसलाई नकारात्मक रूपमा पनि लिए ।  

राप्रउ पोखरेलमा अतिरिक्त महìवाकाङ्क्षा थिएन । उहाँ कुनै पनि विषयमा लेख्नुपर्दा त्यस विषयमा गहिरो अध्ययन गरेर मात्र लेख्नुहुन्थ्यो तर आफ्नो लेखनबारे अरूको प्रशंसाको अपेक्षा उहाँले कहिल्यै गर्नुभएन । बरु उहाँ आफैँ आफ्ना समकालीन लेखक तथा सहकर्मीको लेखनलाई प्रोत्साहन र प्रवर्धन गर्ने काममा लाग्नुहुन्थ्यो । उहाँले आफ्ना महìवपूर्ण जानकारी, ज्ञान र विद्वतालाई बाँडेर आफ्ना सहकर्मीलाई चर्चित बनाउने कामसमेत गर्नुभएको छ ।  

राप्रउ र मदनमणि दीक्षित नजिकका मित्र हुनुहुन्थ्यो । मदनमणिलाई राप्रउ धेरै कुरामा सुझाव र सल्लाह दिने गर्नुहुन्थ्यो । मदनमणिले ‘माधवी’ उपन्यास लेख्नुमा पनि प्रमुख भूमिका राप्रउकै थियो । मदनमणि महाभारतमा रहेको ‘नल–दमयन्ती’ को कथामा उपन्यास लेख्ने अन्तिम तयारीमा हुनुहुन्थ्यो तर राप्रउले मदनमणिलाई भन्नुभयो, “तपाईं आफूलाई माक्र्सवादी भन्नुहुन्छ । माक्र्सवादी बनेरै उपन्यास लेख्ने हो भने नल–दमयन्तीको होइन, महाभारतकै माधवी–गालवका बारेमा उपन्यास लेख्नूस् । त्यो धेरै राम्रो हुन्छ ।” 

राप्रउले मदनमणिलाई माधवी–गालवको कथा पनि सुनाउनुभयो । राप्रउका कुरा सुनेपछि मदनमणिको मन परिवर्तन भयो । यस सम्बन्धमा मदनमणि आफैँले लेख्नुभएको छ, “सौभाग्यवश उपन्यास लेख्ने दिन राप्रउ पोखरेल सदा झैँ मलाई भेट्न आउनुभयो । मैले नल–दमयन्तीको कथा लेख्नेबारे विचार प्रकट गर्दा उहाँले त्योभन्दा पनि उद्योगपर्वमा रहेको माधवी र गालवको कथा लेख्नुहोस्, नल–दमयन्तीको कथामा भन्दा माधवी–गालवको कथामा पुराताìिवक र सामाजिक, आर्थिक, सांस्कृतिक कारक प्रस्तुत गर्न तपाईंका निम्ति गाह्रो हुने छैन भन्ने सल्लाह दिनुभयो । मेरो चित्त बुझ्यो । यो दिउँसोको कुरो थियो । एक घण्टापछि राप्रउ जानुभयो । बेलुका ४ बजे मैले माधवी लेख्न थालेँ ।” आफ्ना मित्रलाई असल सल्लाह दिने र असल कृति लेख्न सुझाउने राप्रउको स्वभावको एउटा उदाहरण हो यो । ‘माधवी’ उपन्यासको लेखन आरम्भदेखि त्यसको समापनसम्म आद्योपान्त सुन्ने र सुझाव दिने पहिलो व्यक्ति राप्रउ नै हुनुहुन्थ्यो । उहाँको सल्लाह नपाएको भए मदनमणि दीक्षितको ‘माधवी’ उपन्यास सम्भवतः नजन्मिन पनि सक्थ्यो ।  

०००

नेपाली साहित्यमा ‘लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटाले स्थापना गरेको परम्पराको विकास हुन नसकेको’ राप्रउ ठान्नुहुन्छ । वर्तमान नेपाली साहित्यले समाज परिवर्तनको राम्रो धार समाए पनि त्यो कमजोर रहेको र त्यसलाई बलियो पार्ने समीक्षकको पनि अभाव रहेको विचार उहाँको छ । अहिलेको अवस्थामा नेपाली साहित्य कस्तो हुनु पर्छ भन्ने सन्दर्भमा उहाँ भन्नुहुन्छ, “समाजलाई उन्नत बनाउन साहित्य, कला संस्कृति आवश्यक छन् । ती मानवीय सचेत प्रवृत्ति पनि हुन् । समाजमा सकारात्मक परिवर्तन ल्याउने र समाजका कमीकमजोरीलाई विवेचनात्मक रूपमा प्रस्तुत गर्ने साहित्य लेखिए राम्रो हुने थियो । निराशा र विकृतिको शृङ्खला बोकेको पलायनवादी साहित्यले समाजलाई राम्रो गर्दैन ।” 

पछिल्लो समयमा राप्रउ पोखरेलले लोकतन्त्र र आजको माक्र्सवाद, पूर्वीय दर्शन र माक्र्सवाद, राजा पृथ्वीनारायण र महेन्द्र तथा हिन्दु धर्मबारे बहस नै चलाउने उद्देश्यले लेखरचनामार्फत आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । राजा पृथ्वीनारायण शाहलाई जनमतका प्रवर्तक र राजा महेन्द्रलाई स्वप्नदर्शी राजाका रूपमा चित्रण गर्दै उनीहरूको राष्ट्रवादको बखान गर्नुपर्ने प्रस्ताव उहाँको थियो । उहाँले माक्र्सवादसँग महेन्द्रीय राष्ट्रवादलाई जोड्न खोजेको भनेर कतिपयले आलोचनासमेत गर्ने गरेका छन् । २०६३ सालमा संसद्बाट नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषित गरेपछि राप्रउले ‘सर्वधर्म समभाव’ पुस्तक लेख्नुभयो । त्यस पुस्तकमा उहाँले बिनाबहस एक्कासि घोषणा गरिएको धर्मनिरपेक्षताको नियतबारे प्रश्नहरू उठाउनुभएको थियो ।  

०००

२०७१ सालको असोजमा राप्रउ पोखरेल, नारायण ढकाल, कृष्णमुरारी भण्डारी र म घुम्दै फिर्दै सुन्दरीजलमाथिको मूलखर्कमा पुगेका थियौँ । एक रात त्यहीँ बास बस्ने उद्देश्यले गएकाले हामी राति अबेरसम्म बहसका अनेक विषयमा सहभागी भएका थियौँ । बहसमा सबैलाई अग्रसर गराउने मूल व्यक्ति राप्रउ नै हुनुहुन्थ्यो । 

भोलिपल्ट उज्यालो भएकै थिएन, हाम्रा कानमा अचानक गीतापाठको आवाज गुञ्जियो । हामी सबै निद्राबाट ब्युँझियौँ । 

राप्रउ पोखरेल एकाबिहानै गीता पाठमा ? लामो समयदेखि हामीले उहाँलाई माक्र्सवादी दर्शनका गहन अध्येता र लेखकका रूपमा चिन्दै आएका थियौँ । एउटा माक्र्सवादीले गीता पाठ किन गर्छ ? हामी आश्चर्यचकित त भएनौँ तर उहाँको गीतापाठबारे जिज्ञासु चाहिँ भयौँ ।    

नेपाली राजनीतिक र साहित्यिक चिन्तनमा पूर्वीय र पाश्चात्य दर्शनको संंश्लेषणमा भिन्न व्याख्याको परम्परालाई अनौठो मानिँदैन । कतिपय बौद्धिक व्यक्तित्व त्यस्तो व्याख्यामा लाग्दै आएका छन् । विद्वान् कम्युनिस्ट नेता तुलसीलाल अमात्यले त माक्र्सवाद, गीता र बुद्धिजमको तुलनात्मक अध्ययन नै गर्नुभएको छ ।   

हामीले राप्रउको गीतापाठलाई पनि त्यस्तै त्यस्तै रूपमा लियौँ । तथापि यसअघि पनि केही ठाउँमा उहाँसँगै यात्रा गर्ने अवसर मिलेको थियो । त्यहाँ उहाँले गीता पाठ गरेको देखिएको थिएन तर यस पटक उहाँले किन गीता पाठ गर्नुभयो ?  

“दाजु त गीता पाठमा पो लाग्नुभएछ !” मेरो जिज्ञासालाई बुझेर होला उहाँले नढाँटी, बडो सफा मनका साथ भन्नुभयो, “आस्था र अनुरागका कारण मैले यो पाठ गरेको होइन । यद्यपि यो एउटा जीवनदर्शन हो भन्ने कुराको बोध भने मलाई भएको छ । नित्य नियमित यसको पाठ गर्नेले जीवन बाँच्नुको अर्थमा धेरै परिवर्तन आएको बताए । के यो त्यस्तै चिज हो त ? म त्यसको प्रयोग र परीक्षण पनि गर्न चाहन्छु ।” 

उहाँको भनाइ हामीलाई बेठिक लागेन । अरूले हल्ला मच्चाएको कुरामा यथार्थ के हो भनेर प्रयोग र परीक्षण गर्नु कुनै अनौठो कुरो थिएन । अर्को पटक हामी रातै बस्ने गरी काभ्रेको कुशादेवीमा पुगेका थियौँ । त्यहाँ उहाँले गीता पाठ गरेको देखिएन । हामीलाई लाग्यो, उहाँको प्रयोग र परीक्षणले अरूको प्रचारलाई मिथ्या साबित गरेकाले उहाँले गीता पाठ गर्न छोड्नुभएको पनि हुन सक्छ ।   

०००

माक्र्सवादी राप्रउमा ४० वर्ष नाघेपछि पूर्वीय दर्शनमा रुचि जागेको थियो । उहाँले ‘उपनिषद्’ बाट त्यसको अध्ययन सुरु गर्नुभयो । सर्वदर्शनाचार्य चूडानाथ भट्टरायको सान्निध्यमा रहेर पूर्वीय दर्शनको अध्ययनलाई तीव्रता दिनुभयो । त्यसपछि उहाँलाई पश्चिमी दर्शन र माक्र्सवादकै कतिपय कुरा अपरिष्कृत र पुराना लाग्दै गए । 

२०७० सालमा सुजित मैनालीले लिएको एउटा अन्तर्वार्तामा राप्रउले आफ्नो पछिल्लो जीवनदर्शनबारे स्पष्ट पार्नुभएको छ । उहाँ भन्नुहुन्छ, “माक्र्सबाट प्रभावित थिएँ । २०१५ देखि २०४६ सालसम्म कम्युनिस्ट पार्टीको सदस्य भएँ । सोच्ने र विश्लेषण गर्ने सवालमा माक्र्सको प्रभाव ममा अद्यापि कायम छ । पूर्वीय दर्शन पढेपछि आफूमा रहेको माक्र्सको प्रभावलाई परिमार्जन गरेँ । पूर्वीय दर्शन र माक्र्सवादबिच धेरै समानता र केही भेद पनि रहेछन् । दुवै दर्शनमा द्वन्द्ववाद छ । पूर्वीय दर्शन पदार्थमा रहने सìव, रज र तम यी तीन तìव वा गुण निरन्तर गतिशील र आपसमा द्वन्द्वरत रहन्छन् । माक्र्सको द्वन्द्ववादले पनि प्रकृति र समाजमा निरन्तर द्वन्द्व भइरहने नियमको प्रतिपादन गरेको छ । यसै द्वन्द्वले जगत्लाई निरन्तर गतिशील र विकासशील रहने सिद्धान्त निरूपित गर्छ । पूर्वीय दर्शनमा आध्यात्मिक र भौतिकधार दुवै छन् । हामीकहाँ वृहस्पति र चार्वाकजस्ता भौतिक मतलाई समर्थन गर्ने ऋषि परम्परा पनि छ । यस मतले भौतिकता र अनात्मवादलाई स्वीकार गर्छ । चार्वाकले आत्मा छैन भने । वेदलाई ‘भाँडहरूको शास्त्र’ को संज्ञा दिए । वाल्मीकि रामायणका ऋषि जाबाली भौतिकवादी धारकै प्रतिनिधि हुन् । पदार्थको गुणमा आन्तरिक द्वन्द्वबाट, प्रकृति–पुरुषको संयोगबाट सृष्टिको प्रदुर्भाव हुने हो र निरन्तरता पाइरहेको छ भन्ने साङ्ख्यदर्शनसँग हेगेल र माक्र्सको द्वन्द्ववादसितको समीपता गौड गरेर हेरेपछि मात्र बुझिने छ ।”

यही नै थियो उहाँले जीवनको उत्तरार्धमा सत्य, सही र पूर्ण मानेको जीवनदर्शन । उहाँले उत्तरार्धमा जे जति लेख्नुभयो, यही जीवनदर्शनकै आधारमा लेख्नुभयो । त्यसैले उहाँको त्यो लेखन बहसको विषय पनि बन्दै आएको छ ।  

राप्रउ पोखरेल अब हुनुहुन्न । आफ्ना लिखित अजस्र शब्दलाई छोडेर उहाँ बिदा हुनुभएको छ । उहाँको निधनसँगै उहाँको मस्तिष्कको भण्डारमा रहेको गहिरो ज्ञान र विद्वताको पनि अवसान भएको छ । एक अथक अध्येता नेपालको विद्वत् जमिनबाट हराएको छ ।