काठमाडौँ, चैत १५ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम मूख्यतया सफा छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । आज दिउँसो ती दुवै प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात तथा पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा आज राति हल्का हिमपात र पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ ।
लुम्बिनी प्रदेशलगायत सुदुरपश्चिमको तराईका केही भूभागमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । रासस