• १८ चैत २०८१, सोमबार

नाङ्गो तार हटाउँदै प्राधिकरण

blog

कञ्चनपुर समाचारदाता

बेलौरी (कञ्चनपुर), चैत १५ गते । कञ्चनपुरको दक्षिणी क्षेत्रका विभिन्न स्थानमा ‘कभर कन्डक्टर’ जडान कार्य अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरण बेलौरी वितरण केन्द्रले विद्युत् प्रवाह अवरुद्ध नहोस् भनी विभिन्न स्थानको नाङ्गो तार हटाउँदै कभरसहितको तार जडानको कार्य थालेको छ । डोकेबजार हुँदै बेलौरी, पुनर्वास र बेलडाँडी क्षेत्रका ‘हाइटेन्सन लाइन’ मा कभरसहितको तार जडानको कार्य भइरहेको सो कार्यालयका प्रमुख टेकराज गिरीले जानकारी दिनुभयो । 

कार्यालय प्रमुख गिरीले बेलौरी बजार क्षेत्रमा पुरानो पोल र तारलाई हटाएर नयाँ योजना अनुसार प्रणाली शुद्धीकरणको कार्य भइरहेको बताउनुभयो । पछिल्लो समय विद्युत् प्रवाहमा अवरोध बढेपछि खुला तारबाट विद्युत् प्रसारण अन्त्य गर्न कभर भएको तार प्रयोग हुन थालेको हो । गत वर्ष प्रणाली शुद्धीकरणका लागि प्राधिकरणले साढे दुई करोड रुपियाँमा टेन्डर भएको जनाएको छ । जस अनुरूप कभरसहितको तार जडानको कार्य अन्तिम चरणमा रहेको कार्यालय प्रमुख गिरीले बताउनुभयो । 

खुला तारबाट विद्युत् विस्तार हुँदा हावाहुरीका कारण बाँस र रुखमा ट्रिपिङ बढेर विद्युत् अवरुद्ध हुने क्रम बढेपछि प्राधिकरणले कभरसहितको तार प्रयोग गरेको छ । विद्युत् प्रसारण लाइन विस्तार र मर्मतमा कभर कन्डक्टर तारको प्रयोग भएपछि विद्युत् अवरुद्ध कम हुने अपेक्षा स्थानीयको छ । विद्युत् प्राधिकरण बेलौरी वितरण केन्द्रले बेलौरी शान्तिपुर क्षेत्रमा एक हजार १०० मिटर नाङ्गो तार हटाएर कभर भएको तार जडान गरेको जनाएको छ । वितरण केन्द्रले बेलडाँडी सिहपाल टोल, बेलौरी वडा नम्बर १०, शिवनगर–बन्दाजाला, पुनर्वास नगरपालिका–५ पशुपति टोल क्षेत्रमा विस्तार गरिएको कार्यालय प्रमुख गिरीले बताउनुभयो ।