• १८ चैत २०८१, सोमबार

स्वार्थमा प्रयोग हुँदै मन्थली विमानस्थल

blog

रामेछाप सदरमुकाम मन्थलीस्थित मन्थली विमानस्थल ।

नवराज श्रेष्ठ

रामेछाप, चैत १५ गते । रामेछापस्थित मन्थली विमानस्थल यतिबेला सुनसान बनेको छ । अबको केही दिनपछि भने यो विमानस्थलमा उडान र अवतरण गर्न विमान कम्पनीले पालो पर्खनुपर्ने हुन्छ । सरकारले सगरमाथा क्षेत्र भ्रमणका लागि नेपाल आएका विदेशी पर्यटकलाई मन्थली विमानस्थलबाट लुक्ला पु¥याउने र ल्याउने व्यवस्था गरेको छ । नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र शरद ऋतुको असोज पहिलो सातादेखि मङ्सिर १५ गतेसम्म मन्थली विमानस्थल भएर लुक्ला विमानस्थलमा पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ । दुई सिजन गरी वर्षमा छ महिना अति व्यस्त रहने मन्थली विमानस्थल बाँकी छ महिना भने सुनसान बन्ने गरेको छ । 

मन्थली विमानस्थललाई प्रयोग गरी सीता, तारा र समिट एयरका जहाजले सगरमाथा क्षेत्रको भ्रमणमा आएका विदेशी पर्यटकलाई लुक्ला पु¥याउने र ल्याउने गरेका छन् । एउटा उडानमा १४ देखि १८ जनासम्म पर्यटक मन्थली विमानस्थलबाट लुक्ला पुग्ने गरेका छन् । नागरिक उड्डयन कार्यालय मन्थलीका अनुसार दुई सिजनमा मौसम खुलेको समयमा दैनिक ६० वटा उडानमार्फत ८५० जना पर्यटक लुक्ला पुग्ने गरेका छन् । 

रामेछाप–काठमाडौँ उडान अवरुद्ध

रामेछापका राजनीतिक दल, प्रशासक, स्थानीय सरकार र नागरिक समाजलगायत विभिन्न क्षेत्रबाट रामेछाप–काठमाडौँ नियमित उडानको माग हुँदै आएको छ । लुक्लाका लागि व्यावसायिक उडान गर्ने विमान कम्पनीलाई सामाजिक उत्तरदायित्वका लागि भए पनि रामेछाप–काठमाडौँ उडान गर्न रामेछापवासीले लामो समयदेखि माग गर्दै आएका छन् । विमान कम्पनीले रामेछाप–काठमाडौँ उडानका लागि यात्रु नहुने भन्दै अटेर गर्दै आएका छन् । 

सिजनमा ट्याक्टर पार्किङ गरे जसरी मन्थली विमानस्थलमा विमान लाइन लगाउने विमान कम्पनीहरू रामेछाप–काठमाडौँ उडान गर्न भने अटेर गरिरहेको नेपाल बार एसोसिएसन रामेछापका अध्यक्ष पाण्डव प्रसाईं बताउनहुन्छ । उहाँले भन्नुभयो, “रामेछाप–काठमाडौँ उडान नहुँदा बिरामी, सुत्केरी, अशक्त, वृद्धवृद्धा, उच्च राजनीतिज्ञ र प्रशासक तथा व्यवसायीहरू सुविधासम्पन्न यात्रा गर्नबाट वञ्चित छन् । मन्थली विमानस्थल रामेछापवासीका लागि ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ जस्तै भएको छ ।”

प्रसाईंका अनुसार स्थानीयले यो विमानस्थलबाट धुवाँ, धुलो, फोहोर र ध्वनि प्रदूषणबाहेक केही पाएका छैनन् । मन्थली विमानस्थल सेवामा भन्दा स्वार्थमा प्रयोग हुँदै आएको उहाँले बताउनुभयो । 

गत असोज दोस्रो साताको अविरल वर्षासँगैको बाढीपहिरोले सडकमार्ग बन्द हुँदा केही दिन रामेछाप–काठमाडौँ उडान राखेका विमान कम्पनीले तुरुन्तै उडान बन्द गरेका थिए । सर्वसाधारणमा अब उडान नियमित हुने भन्दै हल्ला फैलाएका राजनीतिक दलका नेता तथा नागरिक समाजका अगुवाले फेरि रामेछाप–काठमाडौँ उडानका लागि पहल गरेका छैनन् । सातामा कम्तीमा दुई पटक रामेछाप–काठमाडौँ उडान हुनुपर्ने रामेछापवासीले माग गर्दै आएका छन् । 

यात्रु नभएकै कारण रामेछाप–काठमाडौँ नियमित उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण मन्थलीका उपप्रबन्धक हिरण साह बताउनुहुन्छ । बाढीपहिरोले सडकमार्ग बन्द भएको समयदेखि उडान तालिका राखेर रामेछाप–काठमाडौँ उडान गरिए पनि यात्रु नभएकै कारण केही दिनमै बन्द गर्नु परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विमान कम्पनीले रामेछाप–काठमाडौँ उडान नगरेको होइन तर उडान तालिका राखेर उडान सुरु गर्दा यात्रु नभएकै कारणले उडान बन्द भएको हो ।”