• १८ चैत २०८१, सोमबार

कागजमा सरकारी विद्यालय, बिजुलीको पोलमा साइनबोर्ड

blog

विनय कर्ण

कल्याणपुर (सप्तरी), चैत १५ गते । सप्तरीको रूपनी गाउँपालिका–४ स्थित पम्प नहरको डिलमा रहेको एउटा बिजुलीको पोलमा ‘श्री राष्ट्रिय प्राथमिक विद्यालय, विष्णुपुर गाउँपालिका १ खुरहुरिया (उत्तर टोल), स्थापना २०६७’ अङ्कित साइनबोर्ड झुन्ड्याइएको छ । साइनबोर्ड झुन्ड्याइएको पोलदेखि करिब सय मिटर दक्षिणतर्फ वस्तुगोठ जस्तै देखिने इँटाको पर्खाल र जस्तापाताले छाएको चारकोठे टहरो भेटियो । उक्त टहरोमा भने कुनै साइनबोर्ड थिएन । न विद्यार्थी थिए, न त शिक्षक र कर्मचारी नै । वास्तविकतामा त्यही नै ‘श्री राष्ट्रिय प्राथमिक विद्यालय’ थियो ।

विद्यालय अवलोकनका व्रmममा प्रधानाध्यापकलाई फोन गर्दा उहाँको फोन उठेन । त्यहाँ भेटिएका एक स्थानीयले विद्यालय त्यही नै भएको बताए । सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थित उक्त विद्यालय भवनको अवस्था हेर्दा विद्यालय भन्नै मिल्दैन । एउटा पनि कोठामा ढोका छैनन् । खानेपानी, शौचालयलगायतका पूर्वाधार केही पनि देखिएनन् । डेस्क बेन्च त दुर्लभै भयो । कागजमा भने विसं २०६७ देखि नै सञ्चालनमा रहेको सरकारी विद्यालय हो । 

कक्षा ३ सम्म सञ्चालित विद्यालयमा दुई शिक्षक कार्यरत रहेका गाउँपालिकाका शिक्षा संयोजक रामेन्द्र यादवले जानकारी दिनुभयो । उहाँले राहत कोटाबाट प्रधानाध्यापकमा नरेशकुमार यादव र स्वयंसेवक शिक्षक सन्तकुमार यादव कार्यरत रहेका बताउनुभयो । “३०÷४० जना विद्यार्थी पनि अध्ययनरत छन्,” संयोजक यादवले भन्नुभयो ।

न शिक्षक, न विद्यार्थी

कहिलेकाहीँ मात्र शिक्षक आउने गरेको विद्यालयवरपरका स्थानीयवासीले जानकारी दिए । उनीहरूले आफूहरू १० बजेको समयमा नियमित विद्यार्थी र शिक्षक आएर विद्यालय सञ्चालन भएको कहिल्यै नदेखेको सुनाउनुभयो । “१०÷१५ दिनमा एक चोटि नरेश सर आउनुहुन्छ,” स्थानीयको भनाइ छ । यता विद्यालयका प्रधानाध्यापक यादवले भने आफू नियमित विद्यालय आउने गरेको दाबी गर्नुभयो तर विद्यालय सञ्चालनको समयमा भने उहाँ विद्यालयमा भेटिनुहुन्न । भवनलगायतका पूर्वाधार नभएपछि विद्यालय सञ्चालनमा अप्ठ्यारो भएकाले भवन निर्माणसम्बन्धी कामका लागि बिहीबार गाउँपालिका जानुपर्ने भएपछि विद्यालय नगएको उहाँको भनाइ छ ।  “म त्यो विद्यालयमा पुस महिनामा आएँ, नयाँ छु । ६२÷६३ जना विद्यार्थी विद्यालयको रेकर्डमा छन् । हिजो बुधबार परीक्षा सञ्चालन गरेँ, १५÷१६ जना विद्यार्थी आएका थिए,” उहाँले भन्नुभयो । 

पालिकादेखि विद्यालयका प्रधानाध्यापकसम्मले यकिनसाथ एउटै तथ्याङ्कसम्म दिन नसक्नुले विद्यालय कागजमा मात्रै सञ्चालनमा रहेको र शिक्षक, कर्मचारीले कागजकै भरमा तलबभत्ता लिने गरेको हुन सक्ने स्थानीयले बताएका छन् । 

गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवले विद्यालय अहिलेसम्म कागजमै सीमित रहेको स्वीकार गर्नुभयो । उहाँले म पालिका अध्यक्षमा निर्वाचित भएर आएपछि विद्यालयको अवस्था बुझ्दै जाँदा सो विद्यालयमा कुनै पूर्वाधार नै नभएर कागजमै सीमित भएको देखेपछि जीवन्त बनाउन दुई शिक्षक पठाउनुका साथै यस वर्ष पालिकाबाट भवन निर्माणका लागि १० लाख रुपियाँ विनियोजन गरिएको जानकारी उहाँले दिनुभयो । “यो विद्यालय कागजमै मात्र छ । भवन, खानेपानी, शौचालयलगायतका भौतिक पूर्वाधार नै छैन । एक दिन अनुगमन गर्न जाँदा १७÷१८ जना विद्यार्थी भेटिए । दयनीय अवस्थामा रहेको विद्यालयलाई व्यवस्थित गर्न यसै वर्ष भवन निर्माण कार्य थालिने छ,” उहाँले भन्नुभयो ।

उहाँले शिक्षक विद्यालयमा नआएरै तलब खाने गरेकोबारे आफू गम्भीर रहेको र यस विषयमा कडाइसाथ प्रस्तुत हुने बताउनुभयो । निर्वाचित भएदेखि नै अध्यक्ष यादवले गाउँपालिकास्थित सरकारी विद्यालयको अवस्थामा सुधार ल्याउन नियमित अनुगमन गर्नुका साथै पूर्वाधार विकासका लागि उल्लेखनीय काम गर्दै आएको जानकारी दिनुभयो ।