• १६ चैत २०८१, शनिबार

दीर्घ आयुको रहस्य

blog

लागूऔषध (नियन्त्रण) ऐन, सवारी ऐन, करणीमा कारबाही हुने विभिन्न कार्य, विद्युतीय कारोबार ऐन आदिमा युवाद्वारा बढी लापर्बाही र हेलचेक्र्याइँ हुने भएका कारण उनीहरू फस्ने गरेका छन् ।

लामो समयसम्म बाँच्नेमा सुनसरीको इटहरीका वीरनारायण चौधरी पनि एक हुन् । उनी १४१ वर्षसम्म बाँचेका थिए । माछामासु, हरियो तरकारी र चामल खान रुचाउने वीरनारायण अम्मली पनि थिए । 

तत्कालीन राजा वीरेन्द्रले उनलाई नेपालको सबैभन्दा ज्येष्ठ नागरिक तथा लामो आयु भएको मानिसका रूपमा सम्मान गरेका थिए । उनको परिवारले वीरनारायणलाई १४१ वर्ष उमेरको दाबी गरे पनि त्यसलाई पुष्टि गर्ने केही प्रमाण थिएन । 

उनको नागरिकता नै बनाइएको थिएन । वीरनारायणको नागरिकता प्रमाणपत्र नभएका कारण गिनिज बुक वल्र्ड रेकर्डमा उनको नाम दर्ता हुन सकेन । 

जतिबेला नेपालका वीरनारायण लामो आयु भएको मानिसका रूपमा विश्वरभर परिचित थिएनन् त्यतिबेला फ्रान्सका जेनी काल्मेन्ट  विश्वको सबैभन्दा धेरै बाँचेको मानिस मानिइन् । उनको जन्म सन् १८७५ फेब्रुअरी २१ मा भएको थियो र सन् १९९७ अगस्त ४ मा उनको निधन भयो । काल्मेन्ट १२२ वर्षसम्म बाँचेको रेकर्ड छ ।

कालमेन्टपछि धेरै वर्ष बाँच्नेमा स्पेनकी मारिया ब्रानेस हुन् । उनी ११७ वर्ष बाँचेकी थिइन् । सन् २०२४ अगस्त १९ मा उनको निधन भयो । उनकी कान्छी छोरी रोसा मोरेटले एक अन्तर्वार्तामा भनेकी थिइन्, “आमा सबै कुरा शान्त होस्, मृत्युमा कुनै पीडा नहोस् भन्ने चाहन्थिन् । उनकै इच्छा अनुरूप अस्पताल पनि जानु परेन । कुनै स्वास्थ्य समस्या पनि बेहोर्नु परेन । मारिया सधैँ खुशी र प्रसन्न रहन मन पराउँथिन् ।”

सन् १९०७ मार्च ४ मा अमेरिकाको सानफ्रान्सिस्कोमा जन्मेकी थिइन् । मारियाको परिवार अमेरिकाबाट हुँदै मेक्सिको बसाइँ सरेको थियो । प्रथम विश्वयुद्ध सुरु भएपछि उनको परिवार स्पेन पुग्यो । मारियाका पिताको पानीजहाज यात्रा गर्दागर्दै क्षयरोगका कारण मृत्यु भएको थियो । त्यतिबेला क्षयरोग प्राणघातक सरुवा रोग भएकाले मारियाका पिताको शव कफिनभित्र राखेर समुद्रमै बिसर्जन गरियो । 

पिताको मृत्युपछि स्पेनको बार्सिलोना शहरमा बस्न थालेकी मारियाको बिहे एक चिकित्सकसँग भयो । उनका श्रीमान्को ७२ वर्षको उमेरमा निधन भयो भने तीन छोराछोरीको लालनपालनमा उनको समय बितेको थियो ।  

लामो आयु बाँचेकी मारियाले क्याटलान दैनिक पत्रिकासँग यसो भनेकी थिइन्, “मैले त्यस्तो कुनै असाधारण काम गरेको छैन । केवल  एउटा कुरा गरेको छु आफूलाई अहिलेसम्म जीवित राखेको छु ।”

मारियाको लामो आयु हुनुको रहस्य पत्ता लगाउन डा. मोनल स्टेलरले उनको डिएनए अध्ययन गरेका थिए । मारियाको स्वस्थ शरीर देखेर चिकित्सक छक्क परे । सधैँ प्रफुल्ल र चिन्तारहित जीवनशैली नै मारियाको दीर्घायुको रहस्य थियो । उनी सबै कुरा स्पष्ट रूपमा सम्झिन सक्थिन् । यतिसम्मकी चार वर्षको उमेरका कुरा पनि उनलाई सम्झना थियो । 

सानै उमेरमा उनमा हृदयरोगको समस्या देखियो तर पछि त्यो निको भयो । कान थोरै सुन्ने समस्या थियो । यति लामो उमेरसम्म मारिया कसरी यति स्वस्थ र सक्रिय रहन सकिन् भनी बार्सिलोना विश्वविद्यालयको एक अनुसन्धान टोलीले उनको डिएनए परीक्षण गरेर धेरै कुरा पत्ता लगाएर प्रकाशमा ल्याएको थियो । उनले भनेकी थिइन्, “समय नजिकियो, नरोउ । मलाई आँसु मन पर्दैन । सबैभन्दा महत्वपूर्ण कुरा मेरा लागि कसैले दुःख नपाउनु । म जहाँ जाऊँ म धेरै खुशी रहने छु ।”  

यस्तो कुरा भनेको हप्ता १० दिन नबित्दै सन् २०२४ अगस्त १९ मा मारियाको निधन भएको खबर पत्रपत्रिकामा छापियो । उनले चिताए जस्तै गरी प्राण त्याग गरिन् । आफू सुतेकै ओछ्यानमा हाँस्दै, बोल्दै गर्दा मारियाको निधन भएको थियो । 

उनको निधनपछि विश्वमा सबैभन्दा बढी आयु भएका मानिस जापानको ओशाकाका टोमिको इतुका हुन् । उनी ११६ वर्ष बाँचे । भलिबल खेल्न रुचाउने र हिमाल आरोहण मन पराउने इतुका टेक्सटाइल फ्याक्ट्री सञ्चालक थिए । उनको मृत्यु सन् २०२४ डिसेम्बर २८ मा भयो । 

यसै गरी ब्राजिलकी इना कैनाबारो लुकास विश्वको जीवित ज्येष्ठ मानिस हुन् । उनको उमेर ११६ वर्ष रहेको छ । यस्तै जापानकी ओकागी ह्यासी ११५ वर्ष भइन् । उनी विश्वको दोस्रो ज्येष्ठ नागरिक हुन् । 

लामो आयु भएका मानिसको भनाइमा दीर्घजीवी बन्न सधैँ सफा, सादा, स्वस्थ खानपानसँगै नियमित व्यायाम गर्ने तथा तन्दुरुस्ती हुनु पर्छ । आवश्यकता अनुसार सुत्नु, सधैँ सक्रिय जीवन जिउनु, खराब बानी त्याग्नु अनिवार्य हुन्छ । सकारात्मक सोचाइ, शाकाहारी भोजन, हाँसीखुशी रहने, सन्तुलित आहार, घुमफिर र पारिवारिक रमाइलो दीर्घ आयुका लागि उपयोगी तत्व मानिएका छन् । 

–युवामञ्च   

Author

रमेश खनाल