हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), चैत ११ गते । मुस्ताङमा दुर्लभ हिउँ चितुवाको आनीबानी र उपस्थितिबारे बुझ्न उपल्लो मुस्ताङमा सर्वेक्षण गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले हिउँ चितुवा तथा आहारा प्रजातिको अध्ययन अनुगमनका लागि क्यामेरा ट्र्याप र ट्रान्जेक्ट सर्भे विधि अवलम्बन गरेको हो ।
एक्याप इलाका संरक्षण कार्यालय जोमसोमका प्रकृति श्रोत संरक्षण सहायक दिपक ओलीका अनुसार गत वर्ष उपल्लो मुस्ताङमा हिउँ चितुवा पाइने सम्भावित क्षेत्रहरू साङ्ता, लोमान्थाङ र दामोदर कुण्डलाई तीनवटा ब्लकमा विभाजन गरी पाँच-पाँच बर्गमिटरको दूरीमा ४४ ग्रीडहरू विछ्याइएर अध्ययन गरिएको थियो ।
एक ग्रीडमा दुई वटा क्यामेरा जडान गरिएकोमा हिउँ चितुवा साथै आहारा प्रजातीहरु नाउर र अन्य लोमोन्मुख तथा दुर्लभ स्तनधारी वन्यजन्तुहरु समेत कैद गरिएको एक्याप इलाका संरक्षण कार्यालय जोमसोमकाले जनाएको छ । "प्रत्येक ग्रीडमा एकजोड क्यामेरा जडान गरी पैचालिस दिन फिल्डमै राखिएको थियो," ओलीले भन्नुभयो ।
ग्रीड र क्यामेरा राखिएको स्थानको खोज अनुसन्धानको क्रममा प्राप्त तथ्याङ्कलाई आधार मानेर यस वर्ष तल्लो मुस्ताङको मुक्तिनाथदेखि घाँसासम्मको उच्च हिमाली क्षेत्रमामा समेत अनुसन्धान कार्यलाई निरन्तरता दिइने छ । दुई वर्षको तथ्याङ्क र स्थलगत विवरणका आधारमा मुस्ताङमा हिउँ चितुवाको संख्या नजिक पुग्न सकिने र आगामी दिनमा हुन संरक्षणका लागि थप प्राविधिक तथा विभिन्न खोज अनुसन्धानमा सहज हुने छ ।
हिउँ चितुवाको मुख्य आहारा हिमाली वन्यजन्तु नाउर मानिन्छ । गएको फागुन ९ गते वारागुङ मुक्तिक्षेत्र गापा–३,समरमा च्यांग्राको खोरमा पसेको हिउँ चितुवाको उद्दार गरी प्राकृतिक वासस्थानमा छोडिएको थियो ।यो नेपालमै पहिलोपटक भएको एक्याप जोमसोमले जनाएको छ ।
पछिल्लो समय हिमाली क्षेत्रमा डढेलो सहितका अन्य प्राकृतिक प्रकोपका कारण हिम चितुवाको आहाराले बासस्थान परिवर्तन गर्दा बस्तीमा पसेरसमेत पशुधनको क्षति पुर्याउने गरेको छ । पर्वतीय क्षेत्रमा क्यामेरा ट्यापिङमा कैद भएका हिउँ चितुवाको तस्बिर सङ्कलन तथा गणना गर्ने कार्य भइरहेको छ ।
एक्यापले मुस्ताङमा बढ्दो मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पिडितलाई नेपाल सरकारबाट उपलब्ध गराइने क्षतिको राहत वितरणमा सहजीकरण गर्नुका अतिरिक्त आफ्नो आन्तरिक कोषबाट हिमाली कालो भालु तथा रतुवा मृगबाट हुने मकै, उवा लगायतका अन्नवालीको क्षतिमा समेत घरदैलोमा पुगेर राहत वितरण गर्ने गरेको छ । लजालु स्वाभावको हुने हिउँचितुवाको समुद्री सतहको ३५ सय मिटरदेखि ५५ सय मिटरको अग्लो उचाईमा मुख्य बासस्थान मानिन्छ ।