काठमाडौँ, चैत ५ गते । आज त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ।
मंगलबार बिहान ८:०० बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ४:०० बजेसम्म हुने छ । मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझबाट गर्नेछ । विद्ययुतीय मेसिनको माध्यमबाट निर्वाचन भएको ठाउँमा छिट्टै मत परिणाम आउने सम्बन्धित क्याम्पसले जानकारी दिएको छ ।
त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ । निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन् ।
काठमाडौं उपत्यकाका महेन्द्ररत्न क्याम्पस, जनप्रशासन, मीनभवन, आइओएम महाराजगञ्ज, पुल्चोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ, सानोठिमी, पाटन संयुक्त, ललितकला आदि क्याम्पसमा चुनाव भइरहेको छ।
काठमाडौं उपत्यकामा त्रिवि केन्द्रीय क्याम्पस, रत्नराज्य, त्रिचन्द्र, शंकरदेव, पब्लिक युथ, सरस्वती, अमृत साइन्स क्याम्पस, विश्वभाषा लगायत क्याम्पसमा तालाबन्दीका कारण निर्वाचन प्रभावित बनेको छ।
















 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                