• २८ फागुन २०८१, बुधबार

नाइट्रोजनको स्रोत एलोजा

blog

गाउँठाउँमा प्रशस्त पाइन्छ एजोला । विशेष प्रकारको लेउ एलोजा नाइट्रोजनको एक स्रोत हो तर यसबारेमा ज्ञान नहुँदा नेपाली किसानले खेतीपातीका लागि लाभ उठाउन सकिरहेका छैनन् । 

एजोला पानीमा तैरिने सानो जलीय वनस्पति हो । हरियो मलका रूपमा यसलाई प्रयोग गर्न सकिन्छ । यसको वानस्पतिक जात एजोला पिनाटा हो । नेपालको तराईदेखि मध्यपहाडसम्म जमेको पानी, नहर, नदीनाला मुख्यतः धान खेतमा यो वनस्पति देख्न सकिन्छ । यो पानीमा हुने मखमल, जल उनिउँ, हाँसको झार तथा रातो एजोला नामले प्रचलित छ । यो उष्ण, समशीतोष्ण तथा उपोष्ण क्षेत्रमा पाइन्छ । 

विश्व खाद्य सङ्गठनका अनुसार एजोला पिनाटा र एजोला फिलोकुलोइड्स नेपालका पोखरी तथा दलदले क्षेत्रमा बढी मात्रामा पाइन्छ । यसका दुई वटा भागका पात पालैपालो रहेका हुन्छन् । जमिनपट्टिको भाग बाक्लो हुन्छ र यसमा ‘क्याभिटी’ पाइन्छ । जसभित्र साइनोब्याक्टेरिया हुन्छ । साइनोब्याक्टेरिया एजोलासँग परस्पर सहयोगी सम्बन्धमा रहेका हुन्छन् । 

रोपाँइदेखि बाला लाग्दासम्म दुई पटक एजोला प्रयोग गर्नाले करिब ४० प्रतिशत उत्पादनमा वृद्धि हुने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक विष्णुहरि अधिकारीले एउटा जर्नलमा प्रकाशित गरेका छन् । यसले कोसेबालीभन्दा तीन गुणा बढी नाइट्रोजन दिने तथ्य दी एजोला फाउन्डेसनले प्रकाशित गरेको छ । 

नार्कले एजोलालाई कृषकको साथी भनेर प्रमाणित गरिसके पनि यसको महìवबारे किसानलाई जानकारी नहुँदा उनीहरूले त्यसबाट लाभ लिन सकिरहेका छैनन् । विज्ञका अनुसार उनिउँ प्रजातिमा पर्ने एजोलालाई खेतीसँगै पशु आहारका रूपमा प्रयोग गर्न सकिन्छ । सानो क्षेत्रफल पोखरी, तलाउ, ड्रम, कुलेसोमा सहजै उत्पादन गर्न सकिने पोषिलो प्राङ्गारिक पदार्थ एलोजा गाई, भैँसी, बाख्रा, बङ्गुर, कुखुरा, हाँस, बट्टाई र खरायोलाई खुवाउन सकिने भए पनि यसको प्रयोग हुन सकेको छैन । 

पशु प्राविधिक राजेश लम्सालका अनुसार एजोलामा बढी मात्रामा कच्चा प्रोटिन, एमिनो एसिड, भिटामिन ए र बी, क्याल्सियम, फस्फोरस, म्याग्नेसियम, पोटासियम जस्ता खनिज तìव प्रशस्त मात्रामा पाइन्छ । पशुले मिठो मानेर यसलाई खाने गर्छन् । 

एलोजालाई पखालेर एक/दुई दिन ओइलाएपछि बाख्राको दानामा २० प्रतिशतसम्म मिसाएर खुवाउन सकिन्छ । एक परीक्षणमा दुधालु गाईलाई एक केजी दानामा एक केजी एजोला प्रतिदिन खान दिँदा १२ प्रतिशत दूध वृद्धि भएको पाइएको छ ।

गाईमा मात्रै हैन यसको प्रयोग परीक्षण भैँसीमा पनि गरिएको छ । भैँसीलाई दुई केजी एजोला प्रतिदिनका दरले दाना, घाँस वा परालसँग मिसाएर खान दिँदा १० प्रतिशत दूध र ०.५ प्रतिशत चिल्लो पदार्थ वृद्धि भएको पाइएको छ । 

यस्तै बङ्गुरको दानामा ३० प्रतिशतसम्म एजोला समावेश गर्न सकिन्छ । ताजा एजोला दानामा मिसाएर कुखुरालाई खान दिन सकिन्छ । सय कुखुरालाई प्रतिदिन नौ केजी एजोला आवश्यक पर्छ ।  एजोला घाममा सुकाई धूलो बनाएर दानामा मिसाई ब्रोइलर, लेयर्स कुखुरा, बङ्गुरलाई खान दिन सकिन्छ तर यसको सहज प्रयोग किसानले जान्न सकेका छैनन् । 

कृषि वन स्रोत केन्द्रका अनुसन्धानकर्ता किरण खरेलले एजोलामा प्रशस्त मात्रामा प्रोटिन, एमोनो एसिड, भिटामिन, वृद्धिवर्धक रसायन, क्याल्सियम, पोटासियम, तामा, फलाम हुने जानकारी दिएका छन् । उनका अनुसार धान खेतीमा प्रयोग भएको युरियाको मात्रा ४० प्रतिशत कम गराउन एजोलाको भूमिका हुन सक्छ । पशुका लागि खानाका रूपमा मात्रै हैन ठूलो मात्रामा आयात हुने रासायनिक मलको विस्थापनमा समेत एलोजाको प्रयोग हुन सक्ने भएकाले सरकारी निकायले नै यसको प्रयोग प्रोत्साहनमा लाग्नु आवश्यक देखिन्छ । 

धान खेती अध्ययनकर्ता एवं कृषि प्रसार अधिकृत कृष्ण धिताल कोसेबालीले भन्दा एजोलाले करिब तीन गुणा बढी नाइट्रोजन दिने भन्छन् । उनका अनुसार एजोला लगाउन सजिलो हुने भएकाले यसको उपयोग कृषकले सहजै गर्न सक्ने अवस्था भए पनि यसको महत्व किसानले बुझ्न सकेका छैनन् । विशेषतः अग्र्यानिक खेतीमा लागेका कृषि उद्यमीका लागि यो नाइट्रोजनको दरिलो स्रोत बन्न सक्छ । 

विश्वमा धानबारे अनुसन्धान गर्ने संस्था इरीका अनुसार एजोलाले पानी र माटोबाट पोषण लिन्छ तथा त्यसमा हुने साइनोब्याक्टेरियालाई उपलब्ध गराउँछ । साइनोब्याक्टेरियाले वायुमण्डलको नाइट्रोजन एजोलालाई उपलब्ध गराउँछ । उपयुक्त अवस्थामा एजोलाको वृद्धि एकदमै छिटो हुने गरेको छ । एजोलालाई खेतमा हालेपछि कुहिन्छ र नाइट्रोजन धानलाई उपलब्ध हुने गर्छ । 

कृषि प्रसार अधिकृत धितालका अनुसार वायुमण्डलको नाइट्रोजन बिरुवाले लिन सक्ने अवस्थामा उपलब्ध गराउनु एजोलाको मुख्य विशेषता हो । एकदमै छिटो बढ्ने र माटो नचाहिने हुँदा एजोलालाई विशिष्ट किसिमको बिरुवा भनिन्छ । पशुको आहाराका रूपमा तथा पोल्ट्रीको दानामा एलोजा प्रयोग गर्न सकिने भनाइ उनको छ । 

उनका अनुसार गाईको गोबर र एजोला मिसाई गोबरग्यासमा प्रयोग गर्दा गाईको गोबर मात्रै प्रयोग गरेभन्दा १.४ गुणा बढी ग्यास उत्पादन हुन्छ । यसर्थ गोबरग्यास उत्पादनमा पनि एजोलालाई प्रयोग गर्न सकिन्छ । एजोलालाई जैविक इन्धन बनाउन पनि प्रयोग गर्न सकिने देखिएको छ ।   

कोसेबालीले प्रतिवर्ष चार सय केजी नाइट्रोजन प्रतिहेक्टर उपलब्ध गराउँछ भने एजोलाबाट करिब ११ सय केजी नाइट्रोजन प्रतिहेक्टर उपलब्ध हुन्छ । यसरी हेर्दा एजोलाको उचित विकास गर्न जरुरी देखिएको छ । एजोला सजिलै उत्पादन गर्न सकिने भएकाले किसानले पनि सहजै उपयोग गर्न सक्छन् । उचित जानकारी र अनुसन्धानको कमीले नेपालमा एजोला खासै प्रयोग भएको छैन । 

नेपालको अधिकांश ठाउँमा धान खेतमा एजोला फैलिएको देखेमा कृषकले धानलाई असर पार्ने झार मानी गोडेर बाहिर फ्याँक्ने गरेको देखिन्छ । यो अज्ञानताको कमीले भएको हो । एजोलाको विस्तार, उपयोगिता, महìवका बारेमा कृषकस्तरमा जान आवश्यक छ ।  

–युवामञ्च      

Author
केशवराज पौडेल

उहाँ गोरखापत्र दैनिकको उपत्यका समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।