डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपति भएसँगै डेनमार्कबाट ग्रिनल्यान्ड कब्जा गर्ने, पनामा नहर पुनः अमेरिका मातहत ल्याउने र क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने विवादास्पद अभिव्यक्ति दिइरहेका छन् । ग्रिनल्यान्ड र पनामा नहर नियन्त्रणका लागि अमेरिकाले सेना प्रयोग गर्न सक्ने तथा क्यानडाले अमेरिकामा समाहित भए क्यानडाको व्यापार घाटा कम हुनुका साथै करमा कटौती गर्ने भनाइ ट्रम्पको छ । राष्ट्रपति ट्रम्पको भनाइमा पनामा र क्यानडाले आपत्ति जनाएका छन् । के हो पनामा नहरको कथा र वास्तविकता ? प्रस्तुत लेख यसै विषयमा केन्द्रित छ ।
नहरको परिकल्पना
मध्य अमेरिकामा दक्षिण अमेरिकासँग जोडिएको एउटा देश छ पनामा गणराज्य । गणराज्य पनामाले उत्तरी अमेरिकालाई दक्षिण अमेरिकासँग छुट्याउँछ । पनामाको पश्चिममा कोस्टारिका, दक्षिणपूर्वमा कोलम्बिया, उत्तरमा आन्ध्र महासागर (क्यारेबियन सागर) र दक्षिणमा प्रशान्त महासागर रहेको छ । पनामाको प्रशान्त महासागर र आन्ध्र महासागरबीचमा पर्ने साँघुरो भूभागबाट पनामा नहर निर्माण गरी दुई वटा महासागरबीच जलपारवहन सञ्चालनमा छ । पनामा देशको मध्य भूभाग भएर एकअर्को समुद्रलाई जोड्ने नहरलाई ‘पनामा नहर’ भनिन्छ ।
पनामा नहरको परिकल्पनाकार को थिए भन्ने बुझ्न इस्वी संवत्को १५/१६ औँ शताब्दीका घटनाक्रमलाई बुझ्नुपर्ने हुन्छ । आन्ध्र महासागर र प्रशान्त महासागरलाई पनामाको साँघुरो मध्यभागबाट नहरमार्फत जोड्ने परिकल्पनाकार भास्को नुनेज दे बाल्बोवा थिए । बाल्बोवाले सन् १५१३ मा पनामाको दुई समुद्रबीचमा पर्ने साँघुरो भागको यात्रा गरेका थिए । सो यात्राका क्रममा उनले दुई महासागरलाई एउटा साँघुरो भूभागले छुट्याएको चाल पाए । त्यसपछि रोमन सम्राट चाल्र्स पाँचौँ (जो स्पेनका चाल्र्स पहिलो समेत थिए) ले सोही स्थानबाट नहर निर्माणको योजना अघि सारे ।
सन् १५३४ मा सम्राट चाल्र्सले पनामाका क्षेत्रीय गभर्नरलाई चाग्रेस नदी पछ्याउँदै प्रशान्त र आन्ध्र महासागर जोड्ने जलपारवहन निर्माणका लागि आवश्यक सर्वेक्षण गर्न निर्देशन दिए । पानीजहाज आवागमनका लागि जलमार्ग प्रशस्त गर्न नहर निर्माणका लागि अघि सारिएको यो पहिलो सर्वेक्षण थियो । जुन सर्वेक्षणले वर्तमानको पनामा नहरको मार्गलाई झन्डै पछ्याएको देखिन्छ । सर्वेक्षण पूरा भएपछि दुवै महासागरलाई जोड्ने गरी जलमार्ग निर्माण कार्य असम्भव रहेको सुझाव गभर्नरले दिएपछि निर्माण कार्य अघि बढेन ।
नहर निर्माण कार्य
पनामा नहर निर्माणको इतिहास फ्रान्सेली र अमेरिकी संलग्नताका आधारमा विभाजित छ । स्पेनीहरूले परिकल्पना गरेको भए पनि पनामा नहरको निर्माण कार्यको थालनी इस्वी संवत्को १९ औँ शताब्दीमा फ्रान्सेलीबाट भयो । प्रसिद्ध फ्रान्सेली इन्जिनियर फर्डिनान्ड डे लेस्सेप्सले नहरको खाका कोरे । इन्जिनियर लेस्सेप्स तिनै व्यक्ति हुन् जो त्यसअघि स्वेज नहरमा समेत संलग्न थिए ।
इन्जिनियर लेस्सेप्सको योजना प्रशान्त र आन्ध्र महासागरलाई नहरमार्फत सिधै जोड्ने थियो । सोही योजना अनुसार नहर निर्माण कार्य थालियो तर निर्माण कार्य अघि बढ्दा अनेकौँ कठिनाइ आइलागे । जटिल भूगोल, मजदुर प्राविधिकका लागि प्रतिकूल हावापानी र सो हावापानीका कारण उत्पन्न विभिन्न रोग (मलेरिया र जन्डिस) ले हजारौँ मजदुरको ज्यान गयो । उष्ण हावापानीका कारण मुसलधारे वर्षा, बाढीपहिरोले निर्माण कार्य अवरुद्ध भयो । यस्ता यावत् कठिनाइसँग जुध्न नसक्दा फ्रान्सेलीहरू नहर निर्माणबाट बाहिरिए । नहर निर्माण कार्य स्थगित भयो ।
पनामा नहरबाट फ्रान्स बाहिरिएपछि सन् १९०१ मा अमेरिकाले त्यसमा चासो देखायो । सन् १९०१ नोभेम्बर १८ मा अमेरिका र बेलायतबीच भएको हाय–पान्सेफोट सन्धिले सन् १८५० को क्लेटन–बुल्वर सन्धिलाई खारेज गर्दै अमेरिकालाई प्रशान्त महासागर र आन्ध्र महासागरलाई जोड्ने पनामा नहर निर्माणको अधिकार दियो । क्लेटन–बुल्वर सन्धिमा दुवै राष्ट्रले एकल नियन्त्रणमा यस्तो नहर निर्माण नगर्ने सहमति जनाएका थिए । त्यसैले क्लेटन–बुल्वर सन्धिमा अमेरिकाको असन्तुष्टि थियो ।
बेलायतले त्यस क्षेत्रमा आफ्नो प्रभुत्व कम हुँदै गएको तथा अमेरिका र जर्मनीबीच सन्तुलन कायम गर्न बेलायत अमेरिकासँग सम्बन्ध सुधार्न चाहन्थ्यो । त्यही कारण अमेरिका र बेलायतबीच क्लेटन–बुल्वर सन्धि भएको थियो ।
बेलायतसँगको क्लेटन–बुल्वर सन्धिपछि अमेरिकाले पनामा नहर निर्माण अघि बढायो । त्यसका लागि तत्कालीन अमेरिकी राष्ट्रपति थियोडोर रुज्वेल्टले सन् १९०२ मा पनामा नहर क्षेत्रका फ्रान्सेली सम्पत्ति चार करोड अमेरिकी डलरमा खरिद गरे । सन् १९०३ नोभेम्बर ६ मा पनामाले गणतन्त्रको मान्यता पायो र सन् १९०३ नोभेम्बर १८ मा अमेरिका र पनामाबीच हाय–बुनौ–वारिला सन्धिमा हस्ताक्षर भई अमेरिकालाई पनामा नहरका लागि अनुमति प्राप्त भयो ।
सन् १९०४ मे ६ मा अमेरिकी राष्ट्रपति रुज्वेल्टले जोन फाइन्डली वालेसलाई परियोजनाको मुख्य इन्जिनियर नियुक्त गरे तर इन्जिनियर वालेसले कर्मचारीतन्त्रको असहयोगका कारण सन् १९०५ मा राजीनामा दिए । त्यसपछि पनामा नहरको मुख्य इन्जिनियरका रूपमा जोहन फ्रान्क स्टेवन नियुक्त भए । स्टेवन त्यसअघि ग्रेट नर्दर्न रेलमार्ग निर्माणमा संलग्न भइसकेका थिए । स्टिवन्सपछि इन्जिनियर स्टिभेन्सको नेतृत्वमा पनामा नहरलाई पुनः डिजाइन गरियो । अमेरिकाले नहर निर्माण स्थलमा मलेरिया उन्मूलनलगायतका सुरक्षा उपाय अपनायो र निर्माण कार्य अघि बढायो ।
सन् १९०४ मा थालिएको पनामा नहरको निर्माण कार्य सन् १९१४ मा पूरा भयो । पनामा नहर सन् १९१४ अगस्त १५ देखि विधिवत् रूपमा सञ्चालनमा आएको थियो । फ्रान्सले पनामा नहर निर्माण अघि बढाउँदा मलेरियालगायत रोग र दुर्घटनाका कारण २० हजारभन्दा बढी कामदारले ज्यान गुमाएका थिए । अमेरिकाले नहर निर्माणको जिम्मा लिएपछि नहर निर्माणमा संलग्न पाँच हजारभन्दा बढी कामदारको दुर्घटना र रोगका कारण ज्यान गएको थियो ।
नहरको संरचना
पनामा नहरलाई आधुनिक इन्जिनियरिङको एक अद्भूत नमुना मानिन्छ । ८२ किलोमिटर लामो पनामा नहर सबैभन्दा ठूलो मानवनिर्मित जलमार्ग हो । नहर सञ्चालनका लागि गाटुन ताल र चाग्रेस नदीमाथि २६ मिटर अग्लो बाँध बनाइएको छ । पनामा नहर मिराफ्लोरेस, पेड्रो मिगुएल र गाटुन गरी तीन वटा लक सिस्टम (ताला प्रणाली) मा आधारित छ । प्रत्येक लक सिस्टममा ठूला ढोकाहरू छन् । यी ढोकाको प्रयोगबाट पानीको प्रवाहलाई नियन्त्रण र सन्तुलनमा राखिन्छ । जहाज नहरमा प्रवेश भएपछि ढोका बन्द गर्दै पानीको सतहलाई नियन्त्रणमा राखेर जहाजलाई माथि उठाइन्छ र त्यसै गरी तल झारिन्छ । यसै प्रक्रियाबाट जहाजलाई सुरक्षित रूपमा अर्को सागरसम्म पुर्याइन्छ ।
गाटन तालले नहरमा जहाजहरूलाई माथि र तल उठाउन आवश्यक पानी प्रदान गर्छ । बढ्दो व्यापारिक मागलाई ध्यानमा राखेर पनामा नहरलाई विस्तार गरिएको छ । पछिल्लो पटक सन् २०१६ मा नयाँ संरचनामा निओपनामाक्स लक्स थपिएका छन् । जसका कारण ठूला जहाजको आवागमन सहज बनेको छ ।
नहर हस्तान्तरण सम्झौता
पनामा नहर अमेरिकाले निर्माण गरेको भए पनि यसको सार्वभौम अधिकार पनामा सरकारमा थियो । सोही कारण पनामा नहर पनामा सरकारलाई हस्तान्तरणका लागि अमेरिका र पनामाबीच सन् १९७४ देखि वार्ता सुरु भयो । सन् १९७७ सेप्टेम्बर ७ मा नहर हस्तान्तरण सन्धिमा अमेरिकी राष्ट्रपति जिमी कार्टर र पनामा सरकारका प्रमुख ओमार टोरिजोसले हस्ताक्षर गरेका थिए । यस सम्झौताले पनामा नहरको स्वतन्त्र नियन्त्रण र सञ्चालनको अधिकारसहितको स्वामित्व पनामासँग रहने कुरा स्वीकारेको छ । यो सम्झौता कति वर्षको हुने भन्ने कुनै समयसीमा तोकिएको छैन ।
सम्झौताले पनामा नहर प्रयोग गर्ने सबै राष्ट्रलाई बिनाभेदभाव आवश्यक शुल्क लिएर सहज पहुँच सुनिश्चित गरेको छ । सम्झौता अनुसार पनामाबाहेक कुनै पनि राष्ट्रले पनामा नहर सञ्चालन गर्न वा पनामाको क्षेत्राधिकारमा सैन्य सुरक्षा राख्न नपाउने व्यवस्था छ । अमेरिका र पनामाबीचको उक्त सम्झौता अमेरिकी सिनेटले सन् १९७८ मा अनुमोदन गरी कार्यान्वयनमा ल्याएको थियो ।
आर्थिक–सामरिक महत्व
पनामा नहरले विश्वव्यापी व्यापारमा अभूतपूर्व प्रभाव पारेको छ । यसले पानीजहाजको यात्रा समय घटाएर व्यापारलाई सहज बनाएको छ । पनामा नहर निर्माणअघि पानीजहाजले दक्षिण अमेरिकाको पुछार हुँदै हजारौँ किलोमिटर अतिरिक्त यात्रा गर्नुपथ्र्यो । यस नहरका कारण दक्षिण अमेरिका भएर जाने पानीजहाजको यात्रामार्ग १२ हजार ८७५ किलोमिटर कम भएको छ । ८२ किलोमिटर लामो पनामा नहरबाट प्रशान्त महासागर र आन्ध्र महासागर पुग्न पानीजहाजलाई १० घण्टा लाग्छ । यो नहर निर्माणपछि ढुवानीको लागतमा समेत ठूलो कमी आएको छ ।
पनामा नहरले पनामाको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ । नहरबाट प्राप्त हुने राजस्वले पनामाको आर्थिक विकासमा टेवा पुग्छ । यसले पनामाको रोजगारका साथै पर्यटन व्यवसायसमेत फस्टाएको छ । पनामा नहरको सामरिक महत्व पनि उत्तिकै छ । पनामा नहरलाई लिएर अहिले पनि भू–राजनीतिक खिचातानी जारी छ । पनामा नहर सबैभन्दा धेरै प्रयोग गर्ने सूचीमा अमेरिकाको नाम अगाडि छ । वार्षिक रूपमा पनामा नहर भएर जाने मालसामानको तीन चौथाइ हिस्सा अमेरिकाले ओगटेको छ । नहरसँग जोडिएका कुल पाँच बन्दरगाहमा अमेरिकी कम्पनीका साथै अन्य विदेशी कम्पनी संलग्न छन् । नहरका दुवै छेउमा अवस्थित बन्दरगाहमध्ये एउटा हङकङमा आधारित कम्पनीको सञ्चालनमा रहेको छ । सोही कारण पनि अमेरिकी राष्ट्रपति ट्रम्पले पनामा नहर पुनः नियन्त्रणमा लिने विवादित अभिव्यक्ति दिएको अनुमान गरिँदै छ ।
–युवामञ्च