साहारा लिम्बू
फुङलिङ, फागुन २४ गते। ताप्लेजुङमा शेर्पा समुदायले ल्होसार पर्व मनाएका छन्। २१५२ औँ ग्याल्पो ल्होसार पर्वको अवसरमा नेपाल शेर्पा सङ्घ ताप्लेजुङ्ले सदरमुकाम फुङ्लिङमा सद्भाव र्यालीसहित शुभकामना आदानप्रदान गर्दै पर्व मनाएका हुन्।
गत फागुन १४ गते तय गरिएको कार्यक्रम पाथीभरा केबलकार बिबादपछिको झडपका कारण लागु भएको निषेधाज्ञाले स्थगित गरिएको थियो। त्यसैले सोही कार्यक्रम शनिबारका लागि तय भएको शेर्पा सङ्घ ताप्लेजुङले जनाएको छ। र्यालीमा शेर्पा जातिको परम्परागत मौलिक नृत्य ‘सिलि नाच’ प्रस्तुत गरिएको थियो।
गत फागुन १६ गते परेको ग्याल्पो ल्होसार घरघरमा मनाइएको र आज सामूहिक रूपमा भेला भएर मनाएको सङ्घका सचिव पासाङ रिता शेर्पाले जानकारी दिनुभयो। र्यालीपछी सदरमुकामस्थित होटल जन्नु इनको सभाहलमा शुभकामना आदानप्रदान लगायतको कार्यक्रम गरिएको छ।
कार्यक्रममा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, विभिन्न वडाका जनप्रतिनिधि, शेर्पा समुदायको अग्रजको उपस्थिति रहेको थियो।