फडिन्द्र अधिकारी
लेखनाथ, फागुन २३ गते । पोखरा महानगरपालिकाको पर्यटकीय केन्द्र लेकसाइडमा गर्न लागिएको कोटिहोमको भूमिपूजनमा शुक्रबार झडप हुँदा १३ जना घाइते भएका छन् । कोटिहोम गर्ने पक्ष र नगर प्रहरीबिच बिहान १०ः३० बजेतिर झडप भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले पाँच नगर प्रहरी र आठ जना कोटिहोम पक्षका गरी १३ जना घाइते भएको जानकारी दिनुभयो ।
“घाइतेमध्ये १० जनाको मेट्रोसिटी हस्पिटल र तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ,” उहाँले भन्नुभयो ।
बाराही घाट पुगेका नगर प्रहरीले भूमिपूजन रोक्न भनेपछि आयोजक पक्षका युवाहरुले आक्रमण गरेका थिए । बाराही घाटमा केही युवा लाठी र रडसहित देखिएका थिए ।
पोखरा महानगरपालिकाले पर्यटकीय केन्द्र लेकसाइडमा गर्न लागिएको सो कोटिहोम रोक्न उच्च अदालत पोखरामा फागुन १२ गते भ्याकेट निवेदन दर्ता गराएको थियो । गएको फागुन १ गते उच्चले दिएको अन्तरिम आदेश बेरितको भएको दाबीसहित महानगरको रिटमा उच्चले अन्तरिम आदेश दिन नपर्ने ठहरसहित सबै रिटलाई अग्राधिकार दिने आदेश गरेको थियो ।
महायज्ञको आयोजक नेपाल सेवा फाउण्डेशन नेपालले गर्न लागेको कोटिहोम महायज्ञ स्थल फेवातालको ६५ मिटरको मापदण्डमा पर्छ । केही दिनभित्रै तालको मीमाङ्कन गर्न सुरु गर्नुपर्ने र महानगरले कोटिहोम गर्न अनुमति नदिएकाले त्यसलाई रोकिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।
मानव सेवा फाउन्डेसनले लेकसाइडमा वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म ‘श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ’ गर्ने जनाएको छ । यसअघि फाउन्डेसनले पोखराका चौतारीहरु जथाभावी काटेपछि महानगरले ती काठ जफत गरेको थियो । महानगरले ३० ट्रकभन्दा बढी दाउरा जफत गरेको थियो ।
नेपाल ट्रष्टसँग फाउन्डेसनले वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्मका लागि विराट ज्ञान महायज्ञ तथा कोटिहोमका लागि बाराहीघाट छेउको जग्गा भाडामा लिएको छ । फाउन्डेसनले सो स्थानका लागि ११ लाख ५९ हजार रुपियाँ भाडा बुझाएको छ ।