रजनी योगी
सुर्खेत, फागुन २३ गते । वैदिशक रोजगारमा जानेको अहिलेको अवस्था कहालीलाग्दो रहेकोछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२४’ मा सो अवस्था देखिएको हो ।
उक्त प्रतिवेदनले वैदेशिक रोजगारीमा कहालीलाग्दो स्थिति रहेको स्पष्ट देखाएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्ने जिम्मेवारी पाएका सरोकारवालाले यो विषयमा चासो दिएको पाइँदैन ।
प्रतिवेदन अध्ययन टोलीका सदस्य साकार सापकोटाका अनुसार सन् २०२२ देखि २०२४ सम्मको प्रतिवेदन तयार गरिएको हो । वैदेशिक रोजगारीका क्रममा धेरै नेपालीको अकालमा ज्यान जाने गरेको छ ।
दुई वर्षको अवधिमा एक हजार ३०० भन्दा बढी नेपाली श्रमिकको मृत्यु भएको छ । सरदर हरेक दिन तीन जना श्रमिकले ज्यान गुमाउने गरेका छन् । सन् २०२२ देखि २०२४ सम्म मलेसियामा मात्र १०१ जना नेपाली श्रमिकको मृत्यु भएको छ ।
वैदेशिक रोजगारीमा गएका नेपाली कामदार सम्बन्धित देशको हावापानी, कामको चाप, मदिरा सेवन, कामदारबिच झैँझगडा, पारिवारिक तनाव, स्थानीय कानुनको जानकारीको अभाव, मेसिनरी औजारको सञ्चालनमा हुने प्राविधिक त्रुटि, ट्राफिक दुर्घटना, बिरामी, कार्यस्थल दुर्घटना, जलेर, निस्सासियर, डुबेरलगायतका कारणले मृत्यु भएको देखिएको छ ।
श्रम ठगीसम्बन्धी मुद्दा पनि उल्लेखनीय रूपमा दर्ता भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलका उपसचिव बसन्त बोहराले बताउनुभयो । उपसचिव बोहराका अनुसार देशभर १४ हजार ३५० ठगीका मुद्दा दर्ता भएका छन् । जसमा कर्णाली प्रदेशबाट मात्र १०० वटा मुद्दा दर्ता भएका छन् । जसअन्तर्गत ९५ पुरुष रहेका छन् भने पाँच जना महिला रहेका छन् ।
महिला श्रमिकका लागि युएई प्रमुख गन्तव्य रहेको छ । पछिल्लो दुई वर्षमा सबैभन्दा बढी महिला कामदार युएई गएका छन् भने त्यसपछि कतार र जोर्डन रहेका छन् ।
४२ हजारले लिए श्रम स्वीकृति
प्रतिवेदनअनुसार दुई वर्षको अवधिमा कर्णालीबाट ४२ हजार ७३६ जनाले श्रम स्वीकृति लिएका छन् । कर्णाली प्रदेशबाट दुई वर्षमा २४ हजार ९७४ पुरुष र १८ हजार ६६२ महिलाले श्रम स्वीकृति लिएको पाइएको छ । भारत जाने श्रमिकलाई श्रम स्वीकृति लिन नपर्ने भएकाले कर्णालीबाट काम गर्न बाहिर जाने श्रमिकको सङ्ख्या कम देखिएको बताइएको छ ।
यो अवधिमा १५ लाख नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । सन् २००८ देखि २०२४ सम्म ५६ लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएको पाइएको छ । पछिल्ला दुई वर्षमा महिला श्रमिकको सङ्ख्यामा १२.३ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेशगत श्रम आप्रवासन हेर्दा सबैभन्दा धेरै श्रमिक कोशी प्रदेशबाट विदेश गएका छन् भने सबैभन्दा कम सुदुरपश्चिम प्रदेशबाट गएका छन् । नेपालबाट रोजगारीका लागि सबैभन्दा बढी मलेसिया जाने गरेका छन् । त्यसपछि साउदी अरेबिया, कतार, कुवेत, बहराइन प्रमुख श्रम गन्तव्यका रूपमा रहेका छन् ।
पछिल्लो समय रोमानिया, क्रोएशिया, पोल्यान्ड, साइप्रस, टर्की, अल्बानिया लगायतका मुलुकहरू नयाँ श्रम गन्तव्य बनेका छन् । वैदेशिक रोजगारीमा जानेमध्ये ४८.४ प्रतिशत श्रमिक अवर्गीकृत मजदुर रहेको पाइएको छ ।
नीतिमाथि छलफल
यसैबिच आप्रवास नीतिमाथि सुर्खेतमा छलफल गरिएको छ । उपसचिव बोहराले श्रम आप्रवासन नीति २०८१, को मस्यौदासमेत प्रस्तुत गर्नुभएको थियो । प्रदेश सरकार, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवाला निकायको सहभागिता रहेको उक्त कार्यक्रममा नेपालमा वैदेशिक रोजगारीका चुनौती र अवसरबारे छलफल गरिएको थियो ।
छलफलका क्रममा श्रम सम्झौताको विषयमा जोड दिइएको छ । अहिले नेपालले १२ वटा देशका लागि मात्र श्रम सम्झौता गरेको छ । १०० भन्दा बढी देशमा नेपाली कामदार कार्यरत छन् । श्रम सम्झौता नहुँदा कामदारहरू ठगिने गरेको अधिकारकर्मी प्रकाश सारुले बताउनुभयो । उहाँले सरकारले सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने विषय नीतिमा राखिनु पर्ने सुझावसमेत दिनुभएको छ ।
श्रम सम्झौताबारे आप्रवासन नीतिमा स्पष्ट राखिनु पर्ने सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले बताउनुभयो । विदेशबाट फर्किएकाको ज्ञान, सिपको सदुपयोग गर्नेगरी नीतिमा समेटिनुपर्ने उहाँको भनाइ छ ।
नयाँ निर्माण गरिएको आप्रवासन नीति २०८१, का विषयमा सरोकारवालासँग छलफल गरिएको छ । सहभागीले नीतिले तीन तहकै सरकारका विषय समेट्न नसकेको बताएका थिए भने केही विषय समावेश गर्न समेत सुझाव दिएका छन् ।