• २५ फागुन २०८१, आइतबार

८१ जनाको मोतियाविन्दुको शल्यक्रिया

blog

स्वास्थ्य शिविरमा मोतियाविन्दुको शल्यक्रियापछि सामूहिक फोटो खिचाउँदै सेवाग्राहीहरू ।

चित्र मिजार

सिन्धुपाल्चोक, फागुन २३ गते । चौतारा साँगचोकगढी नगरपालिका–६ गिदानेका ६९ वर्षीया निलबहादुर थापाले तीन वर्षदेखि मोतियाविन्दुका कारण आँखा देख्नु हुँदैनथ्यो । गाउँघरमै आँखाको शल्यक्रिया गरेपछि अहिले थापा आफैँ हिड्न र काम गर्न सक्ने हुनुभएको छ । आँखाको ज्योति फर्केला र पुन संसार देख्न पाइएला भन्ने उहाँको सपना पूरा हुदाँ हर्षको सीमा छैन ।

सोही नगरपालिका सिरुवारीका ७८ वर्षीय कुलबहादुर दुलालको दुवै आँखाको ज्योति गुमेका १४ वर्ष भएको थियो । केही समयअघि राजधानीका अस्पतालमा उहाँको मोतियाविन्दुको शल्यक्रिया गरिए पनि पुनः उहाँको आँखाको ज्योति गुमेको थियो। पुन आँखाको ज्योति गुमेपछि दुलालको लागि संसार अन्धकार झै थियो । तर घर नजिकै आएको स्वास्थ्य शिविरमा उहाँले मोतियाविन्दुको शल्यक्रिया गरेपछि अहिले सबै देख्न सक्नुभएको छ । 

थापा र दुलाल मात्रै होइन की चौतारा साँगचोकगढी नगरपालिकाले २०–२२ गतेसम्म चौतारामा सञ्चालन गरेको स्वास्थ्य शिविरमा आँखाको ज्योति गुमाएका ८१ जनाले निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गराई पुनः संसार देख्न पाएकोमा उनीहरूमा खुसीले गदगद् भएका छन् । एक सय २८ जनालाई निःशुल्क चस्मा र औषधी वितरण गरिएको छ । सात सय २९ जनाले स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण सेवा पाएका थिए । 

तीन सय ६३ जनाको खकार परीक्षण खकार जाँच गरिएको थियो । उक्त नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले नगरको १४ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गरेर जटिल अवस्थामा रहेका बिरामीहरूको शल्यक्रिया गरिएको जानकारी दिनुभयो । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका पूर्व निर्देशक तथा आँखा विशेषज्ञ डाक्टर इन्दुप्रसाद ढुंगेल नेतृत्वमा स्वास्थकर्मीहरूले मोतियाविन्दुको शल्यक्रिया र अन्य सेवा दिएका थिए ।