• ७ वैशाख २०८२, आइतबार

‘सिसीटिभी जडान गर्न सके अपराध न्यूनीकरण हुने’

blog

पोखरा महानगरपालिका वडा नम्बर ८ भित्र विभिन्न स्थानमा जडान गरिएको सिसीटिभी क्यामेरा प्रहरी बिटलाई हस्तान्तरण गरिँदै । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी

कास्की, फागुन २३ गते । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले पोखराका सम्पूर्ण ठाउँमा सिसीटिभी जडान गर्न सके अपराध न्यूनीकरण हुने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ भित्र विभिन्न स्थानमा जडान गरिएको सिसीटिभी क्यामेरा प्रहरी विटलाई हस्तान्तरण गर्ने कार्यक्रममा उहाँले पर्यटकीय राजधानी पोखरामा सबै ठाउँमा क्यामरा आवश्यक भएको उल्लेख गर्नुभएको हो ।

‘‘जतिपनि अपराध शहरभित्र हुने भएकाले सिसिटिभी जडान गरेको खण्डमा अपराध कम हुने र अपराध गरेमा त्यसमा संलग्नलाई पत्ता लगाउन सहज हुने थियो । स्थानीय निकायहरुले यसमा केही ध्यान दिएको भए पनि पोखरा महानगरले सम्पूर्ण वडाहरुमा सिसिटिभी जडान गर्न सके थोरै सङ्ख्यामा रहेका प्रहरीले शान्ति सुरक्षा प्रदान गर्न सकिनेछ,’’ उहाँले भन्नुभयो ।

यसका लागि पोखरा महानगरका प्रमुखसमक्ष आफूले पटकपटक आग्रह गरेको ओलियाले बताउनुभयो । पोखरामा चोरी, लागु औषध र सवारी दुर्घटनाको सङ्ख्या उल्लेख्य मात्रामा रहेकाले दुर्घटनाको अनुसन्धान गर्न समेत सिसिटीभीले सहायता पुग्ने र दुर्घटना न्यूनीकरणमा प्रविधिले सहयोग पुग्ने उहाँको भनाइ थियो ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले सिसिटीभी क्यामेरा जडानबाट वडा प्रहरी कार्यालय बैदामको कार्यलाई थप मद्दत पुग्ने बताउनुभयो । वडा नं ८ मा सिटिटीभी क्यामेरा जडान गर्दै गर्दा विभिन्न ६ वटा घटना पत्ता लगाउन सफल भएको बताउँदै वडा नं ८ मात्र नभ  अन्य वडाले समेत यसलाई अनुसरण गर्न सकेको खण्डमा अपराध न्यूनीकरणमा थप मद्दत पुग्ने बताउनुभयो । सिसिटीभीमा भेटिएको प्रमाणले अनुुसन्धानलाई प्रभावकारी बनाउने उहाँको भनाइ रहेको थियो ।

नागरिक समाजका अगुवा विष्णु बरालले पोखरा महानगरपालिका वडा नं ८ ले आफ्नो वडाभित्र सिसिटीभी क्यामेरा जडान गरी प्रविधिमैत्री वडा बनेकोमा धन्यवाद व्यक्त गर्नुभयो । वडाभित्रका बस्ती र मन्दिरहरुमा समेत चोरी बढिरहेको बताउँदै बरालले पोखरामा पछिल्लो समय सडक छाप मानिसको सङ्ख्या वृद्धि हुँदै जाँदा विभिन्न अपराधका घटना बढ्न सक्ने भएकाले त्यसतर्फ सम्पूर्ण सचेत हुनुुपर्नेमा समेत जोड दिनुभयो ।

सिसिटीभी क्यामेरा जडान गर्ने गोम्जा आइटी इन्जीनियरिङ प्रालिका सञ्चालक गोम्जा रावत तामाङले आफूले पोखरा महानगरसँगको सहकार्यमा वडा भित्रका जाल्पारोड, शिवालयचोक वरिपरि रहेका विभिन्न गल्लीलाई समेटेर २४ वटा स्थानमा सिसिटीभी क्यामेरा जडान गरेको जानकारी दिनुभयो । आफूहरुले जडान गरेको सिसिटीभी क्यामेरा पाँच मेगापिक्सलको भएकाले यसअघिका क्यामेराभन्दा उच्च स्तरको रहेको, रातको समयमा समेत दिनमा जस्तै रङ्गिन भिडियो आउने बताउँदै रातमा समेत ५० मिटरसम्मको दूरीमा भिडियो खिच्ने बताउनुभयो ।

पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालले पोखरा ८ भित्र ८० प्रतिशत ठाउँमा सिसिटीभी क्यामेरा जडान गरिसकेको बताउँदै आगामी दिनमा वडाको सम्पूर्ण ठाउँलाई समेट्ने गरी सिसिटीभी क्यामेरा जडान गर्ने जानकारी दिनुभयो ।