• ७ वैशाख २०८२, आइतबार

मध्यपहाडी लोकमार्गः विवाद नमिल्दा निर्माण ठप्प

blog

मध्य पहाडी लोकमार्ग अन्तर्गत काम हुन नसकेको सुन्दरबजार ठाँटीचौरस्थित सडक खण्ड । तस्बिर : नवीनराज

नवीनराज कुइँकेल

लमजुङ, फागुन २३ गते । मध्य पहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत लमजुङ खण्डको केही स्थानमा लामो समयदेखि रहेको विवाद नसुल्झिँदा सडक निर्माण सुरु हुन सकेको छैन ।

सुन्दरबजार र भोर्लेटार क्षेत्रमा बस्तीभित्रबाट सडक बनाउने योजनाको विरोधमा स्थानीय उत्रिँदा सडक निर्माणको काम हुन नसकेको हो । सात वर्षदेखि स्थानीयले सङ्घर्ष समिति बनाएर सडक निर्माणमा अवरोध गरिरहेका छन् । 

स्थानीयको अवरोधले सुन्दरबजार–७ क्याम्पस गेटदेखि खत्रीठाँटीसम्म दुई किलोमिटर र मध्यनेपाल–६ भोर्लेटार रानीपानी चोकदेखि मिदिमखोला पुलसम्म १७०० मिटर सडक निर्माण हुन सकेको छैन । लोकमार्गको मापदण्ड अनुसार दायाँबायाँ ३१÷३१ मिटर फराकिलो बनाएमा बजार ध्वस्त हुने र अर्बौं रुपैयाँको नोक्सान हुने भन्दै स्थानीयले विरोध गरिरहेका छन् । 

सडक विस्तार गर्दा आफ्नो घर–जग्गामा असर पर्ने भएकाले उचित क्षतिपूर्ति दिनुपर्ने माग स्थानीयको छ । सुन्दरबजार–८ का रामप्रसाद पण्डितले स्थानीयलाई उचित क्षतिपूर्तिसहितको प्रक्रिया अपनाए अवरोध नहुने बताउनुभयो ।  

सुन्दरबजारका श्रीचन्द्र लामिछानेको संयोजकत्वमा गठित सङ्घर्ष समितिले सडक निर्माणको विरुद्द दुई वर्षअघि नै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । तर सर्वोच्चले अहिलेसम्म कुनै फैसला गरेको छैन । गण्डकी प्रदेश सरकारले समस्या समाधानका लागि तत्कालीन भौतिक पूर्वाधार मन्त्रीको नेतृत्वमा कार्यदल नै बनाए पनि समाधान गर्न सकेन । लमजुङका प्रतिनिधिसभा सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पनि पटक–पटक पहलकदमी लिँदा पनि स्थानीय टसमस भएका छैनन् । 

सडक निर्माणका लागि सम्झौता अनुसारको समय अब दुई महिना मात्र बाँकी छ । लोकमार्ग योजना कार्यालय, पालुङटार गोरखाका प्रमुख ईश्वरबहादुर रिजालले स्थानीयको अवरोधका कारण सडक निर्माण अन्योलमा परेको बताउनुभयो । स्थानीयको अवरोध हटेमा हप्ता दिनमा काम सुरु गरेर दुई महिनाभित्र काम सम्पन्न गर्न सकिने उहाँले बताउनुभयो ।

स्थानीयको अवरोध नहट्दासम्म निर्माणको काम अघि नबढ्ने योजना कार्यालय पालुङ्टारले जनाएको छ । विवाद समाधान गर्ने प्रमुख दायित्व जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय तह र स्थानीयवासीको नै भएको आयोजनाले जनाएको छ ।

सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले सडक निर्माणमा अवरोध हुनु दुःखद भएको बताउनुभयो । उहाँले स्थानीयको जायज माग सम्बोधन गर्दै निर्माणको काम अघि बढाउन पहल गरिरहेको बताउनुभयो ।

पूर्वको पाँचथर देखि पश्चिम बैतडीसम्मको एक हजार सात सय ८७ किलोमिटर लम्बाइको मध्य पहाडी लोकमार्ग लमजुङमा ४५ किलोमिटर पर्छ । विवाद रहेको स्थानबाहेक बाँकी स्थानमा धेरैजसोमा कालोपत्रे भइसकेको छ भने केही स्थानमा कालोपत्रेको काम भइरहेको छ ।