विनय कर्ण
कल्याणपुर (सप्तरी), फागुन २३ गते । नागरिकता किर्ते गर्ने दुई युवालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । दोस्रो व्यक्तिको नागरिकतामा फोटो टाँसेर किर्ते गरी रकम ठगी गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका वडा नम्बर १२ बस्ने २० वर्षीय अरुणकुमार यादव र सोही ठाउँका २८ वर्षीय अभिषेक यादव छन् । उनीहरू २०८० साल असार महिनामा एक पीडितको नागरिकताको प्रमाणपत्र हराएकोमा सो नागरिकता फेला पारी पीडितको फोटो निकालेर आफ्नो फोटो टाँसी विराटनगरस्थित रहेको सिटिजन्स बैङ्कमा गई खाता खोली अन्य व्यक्तिहरूबाट लाखौँ रकम ठगी गरिरहेको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
उनीहरूविरुद्ध यस कार्यालयमा नागरिकतासम्बन्धी कसुर र ठगीमा जाहेरी प्राप्त भएपछि पक्राउ गरी जिल्ला अदालत सप्तरीबाट म्याद थप भई अनुसन्धान कार्य थालिएको प्रहरी उपरीक्षक खतिवडाले बताउनुभयो ।