शिवकुमार रिजाल काशी
हेटौँडा, फागुन २२ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०८४ को चुनाव सम्झेर वर्तमान अवसरलाई खेर फाल्न नहुने बताउनुभएको छ । अरू काम छाडेर चुनावको मात्र चर्चा गर्नु उपयुक्त नभएको उहाँको भनाइ छ ।
मकवानपुरको मनहरी गाउँपालिकामा बिहीबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले वर्तमानमा नेपाली कांग्रेसले प्राप्त गरेको उपलब्धिको अधिकतम उपयोग गरेर जनहितकारी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘धेरैले २०८४ सालको चर्चा गर्छन्, हामीले गर्नेगरेका छौं । तर अहिले क्रियाशील जनप्रतिनिधिहरुले २०८४ किन पर्खनुपर्ने, अहिल्यै जनतासामु देखिने काम गर्नु पर्दैन?’
उहाँले २०७९ सालको चुनावदेखि २०८४ साल र २०८४ देखि २०८९ सालभन्दै चुनावको मात्र चिन्ता गरिरहने हो भने देशको बारेमा कहिल्यै चिन्ता लिने भन्दै प्रश्न गर्नुभयो । अन्य राजनीतिक पार्टी र विपक्षीलाई गाली नगरी पनि राजनीति गर्न सकिने स्पष्ट पार्दै राजनीतिक शब्दावलीमा गाली भन्ने शब्द नै प्रयोग गर्न नहुने उहाँको भनाइ छ ।
अहिले देखिएको अराजक शक्ति र समूहले समस्या उचाल्न मात्र जान्ने तर समाधानमा ध्यान दिन नसक्ने भन्दै उहाँले समग्र देशको समस्या समाधानका लागि इतिहासदेखि नै कांग्रेसले भूमिका निर्बाह गरिरहेको बताउनुभयो । उहाँले सरकारको स्थायित्वका लागि नेकपा (एमाले) सँग सहकार्य गरिएको स्पष्ट पार्दै जनताका हितका लागि प्रस्तुत भएको अध्यादेश संसदबाट पारित गरिएको र भूमि व्यवस्थासम्बन्धि अध्यादेश खारेज नभएको स्पष्ट पार्नुभयो ।
‘भूमिसम्बन्धी अध्यादेश मुल्तबीमा राखिएको मात्र हो, जनताले जग्गा पाउने विषय कुनै पनि हालतमा मुल्तबीमा राखिरहनु हुँदैन भन्नेमा हामी स्पष्ट छौं’, उहाँले भन्नुभयो । केही समयभित्र उक्त अध्यादेशले पनि सही ढङ्गले निकास पाउने र जनताले जग्गाको स्वामित्व प्राप्त गर्नेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले स्थानीय तहका जनप्रतिनिधि र पार्टी नेतृत्वबिच निरन्तर छलफल र अन्तरक्रिया भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्ताैलाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तहका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।