अविनाश चौधरी
धनगढी, फागुन २२ गते । धनगढी उपमहानगरपालिका–७ पटेलामा बनिरहेको आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको काम ६५ प्रतिशत पूरा भएको छ ।
दुई वर्षसम्म निर्माण समयावधि रहेको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको काम सात महिनामा आधाभन्दा बढी भएको हो । अब धेरैजसो काम मेसिनरी उपकरण राख्ने भएकाले तोकिएको समयावधिभन्दा ६ महिना अगाडि नै निर्माणको काम पूरा गर्ने निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर इन्जिनीयर अशोक पाण्डेयले बताउनुभयो । “छ महिना अगाडि नै काम पूरा गर्ने हाम्रो लक्ष्य छ” उहाँले भन्नुभयो ।
क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एसियाली विकास बैँक (एडीबी) को सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्र बनिरहेको छ । ९६ करोड रुपियाँ लगानीमा २२ हेक्टर क्षेत्रफलमा बनिरहेको फोहोरमैला व्यवस्थापन केन्द्रमा दैनिक २२ टन फोहोरमैला व्यवस्थापन गर्न सकिने जनाइएको छ ।
फोहोरमैला व्यवस्थापन केन्द्रमा पुनः प्रयोग हुने, कुहिने र प्रयोगहीन (नकुहिने न बिक्री हुने) गरेर तीन तरिकाले फोहोर छुट्टयाएर व्यवस्थापन गर्ने एडिबीका सुपरभिजन टिम लिडर इन्जिनीयर गिरीश चन्दले बताउनुभयो । उहाँका अनुसार फोहोर व्यवस्थापन गरेर निस्केको तरललाई जलीय जीवलाई कुनै पनि असर नगर्ने बनाएर खुटिया नदीमा फालिने छ ।
यो फोहोरमैला व्यवस्थापन केन्द्रमा ३० वर्षसम्म धनगढीको फोहोर व्यवस्थापन गर्न सकिने जनाइएको छ । चीनको सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनीयरिङ कम्प्लेक्सले ठेक्का पाएर निर्माणको काम गरिरहेको छ । २०२४ अप्रिलमा ठेक्का भई निर्माणको काम सुरु गरिएको थियो ।
२०२६ अप्रिलसम्म निर्माण समायवधि रहेको छ । दुई वर्षभित्र निर्माण कम्पनीले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरी तीन वर्षसम्म आफैले सञ्चालन गरेर मात्र धनगढी उपमहानगरपालिकाको कार्यालयलाई हस्तान्तरण गर्ने जनाएको छ ।
त्यसपछिको बाँकी समय धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्ने इन्जिनीयर चन्दले बताउनुभयो । फोहोरमैला व्यवस्थापन केन्द्रका कारण दुर्गन्ध नहुने र आसपासका बस्तीलाई कुनै पनि असर नगर्ने उहाँको जिकिर छ । “यसले वातावरण प्रदूषित हुँदैन र कुनै पनि असर गर्दैन” उहाँले भन्नुभयो ।
फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भएमा ५०–६० जना स्थानीयले रोजगारी पाउने जनाइएको छ । यसैगरी, उत्पादित मल पनि कृषि कार्यमा प्रयोगका लागि स्थानीयलाई नै दिइने बताइएको छ ।
फोहोरमैला व्यवस्थापन केन्द्रमा उपयोगहीन फोहोर व्यवस्थापनका लागि छ वटा सेल निर्माण गरिदैंछ । यसैगरी, तरल पदार्थ शुद्धीकरणका लागि २८ घनमिटरको पोखरी निर्माण गरिएको छ । फोहोरमैला व्यवस्थापन गरेर निस्केको तरल पदार्थको बायोकेमिकल अक्सिजन डिमान्ड (बिओडी), केमिकल अक्सिजन डिमान्ड (सिओडी) र पिएच जाँच गरेर नदीमा फाल्ने जनाइएको छ ।
“जब तरल कुनै पनि जलिय जीवलाई असर नगर्ने गरी प्रशोदित भएको पुष्टि हुन्छ, अनिमात्र त्यसलाई खुटिया नदीमा फालिन्छ” चन्दले भन्नुभयो । ३० वर्षपछि फोहोरमैला व्यवस्थापन गरिएको ठाउँ अग्लो डाँडाजस्तै बन्नेछ । त्यसपछि त्यहाँ चिल्ड्रेन पार्क वा वृक्षारोपण गरेर पुनः वन बनाउन सकिने जनाइएको छ । पटेला सामुदायिक वन क्षेत्रमा सो फोहोरमैला व्यवस्थापन केन्द्र बन्दैछ ।