विदुर आचार्य
चौतारा, फागुन २२ गते । आगलागीका घटना न्यूनीकरण गर्न हरित स्वयम्सेवक क्रियाशील बनेका छन् । सिन्धुपाल्चोकमा बर्सेनी हुने आगलागी तथा डढेलोको घटनालाई निवारणका लागि स्वयम् सेवक खटिएका हुन् ।
डिभिजन वन कार्यालयमार्फत स्थानीय तह, वडा तथा सामुदायिक वनसम्म पुगेर सचेतना सुरु भएको हो । वन अभियनता, हरित् स्वयमंसेवक, डिभिजन वन कार्यालय र सामुदायिक वन समितिको सक्रियतामा सचेतनासँगै अग्नीरेखा निर्माण र नियन्त्रित डढेलोको काम सुरु गरिएको हो ।
डिभिजन वन कार्यालय चौतारा, गौराती र कल्लेरी सामुदायिक वन समिति र हरित स्वयम्सेवकको सक्रियतामा अग्निरेखा निर्माण गरिएको हरित स्वयम् सेवक शारदाप्रसाद चालिसेले जानकारी दिनुभयो । समुदायनजिक रहेको र पर्यटकीय रूपमा परिचित वनमा अग्निरेखा निर्माण गरिएको चालिसेले जानकारी दिनुभयो ।
जिल्लाका अन्य सामुदायिक तथा कवुलियती वनमा पनि अग्निरेखा निर्माण गरिने उहाँले जानकारी दिनुभयो । ‘सामुदायिक वनमा आगलागी नियन्त्रणमा लिने, अग्निरेखा निर्माण गर्ने, सडक क्षेत्रमा जम्मा भएका पत्कर जम्मा गरी नियन्त्रित डढेलोको काममा स्वयम् सेवक परिचालित भएका छौँ, चालिसेले भन्नुभयो, ‘जिल्लाभरी सचेतना बृद्धि गरी डढेलो नियन्त्रण गर्न तत्पर छौँ ।’
डढेलो नियन्त्रण गर्न स्थानीय तह र समुदायसम्म सचेतनाको कार्यक्रम गरिएको डिभिजन वन कार्यालय चौताराका प्रमुख मदन कँडेलले जानकारी दिनुभयो । ‘डिभिजन तथा सब डिभिजन कार्यालय, हरित स्वयम् सेवक र स्थानीय तहले समेत तालिम, माइकिङमार्फत सचेतना फैलाइरहेका छन्’, कँडेलले भन्नुभयो, ‘डढेलो नियन्त्रणमा गम्भीर हुन अनुरोध गरिएको छ ।
डढेलो तथा आगलागी नियन्त्रण सहायता सामग्री तीनवटा सुरक्षा संयन्त्रलाई तालिमसहित वितरण गरिएको छ ।’ कंडेलका अनुसार जङ्गली जनावर र मानवविचको द्वन्द्व, प्रतिशोध, घाँस उम्रने आस, दुव्र्यसनीहरूका कारण डढेलो लाग्ने गरेको छ । सामुदायिक वन समितिको निष्क्रियता, वन सामग्रीको प्रयोगमा ह्रासका कारण पनि वन संरक्षमा चुनौती थपिएको हो ।
डिभिजन प्रमुख कंडेलका अनुसार वन डढेलो लगाएमा वन ऐन २०७६ अनुसार विगो असुल गरी ६० हजार जरिवाना र तीन वर्ष कैदको व्यवस्था छ । वनलाई जिविकोपार्जनमा जोड्नसके वन जोगिने सामुदायिक वन उपभोक्ता महासङ्घका कार्यक्रम संयोजक यज्ञ दंगाल बताउनुभयो ।
वन क्षेत्रमा गत वर्ष सन् २०२४ मा जिल्लाभर तीन हजार चार सय हेक्टर क्षेत्र डढेलोले नष्ट भएको थियो । यो वर्ष जिल्लाको त्रिपुरासुन्दरी, भोटेकोशी र जुगल गाउँपालिका डढेलोका घटनामा ८२ हेक्टर वन नष्ट भएका छन् ।