गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले अत्यावश्यक परेका बेला अध्यादेश ल्याउन सक्ने भन्दै संवैधानिक व्यवस्थाअनुसार अध्यादेश आएको बताउनुभएको छ ।
राष्ट्रियसभा बैठकमा आज सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो । “अध्यादेशको विषयवस्तुमा छलफल गरौं, त्यसमा सरकारलाई सुझाव दिउँ, संवैधानिक व्यवस्थाअनुसार ल्याएको अध्यादेशमा विरोधका लागि विरोध मात्र गरिनु हुन्न ।”
देशमा सुशासन कायम गर्न, मुलुकको विकासका लागि सरकारले अध्यादेश ल्याएको प्रष्ट पार्नुहुँदै मन्त्री गुरुङले भन्नुभयो, “हाम्रो देशको पुँजीगत खर्चको के अवस्था छ, हामी सबैलाई जानकारी छ, त्यो खर्च हुन नसकेर विकासको काम रोकिएको छ । अध्यादेशले त्यसलाई सम्बोधन गर्नेछ ।”
जनताको समस्या छिटो समाधान गर्न र सरकारको काम चुस्त बनाउनेगरी अध्यादेश आएको जानकारी दिनुहुँदै मन्त्री गुरुङले अध्यादेश पारितपछि केही ऐन परिमार्जन भई सरकारको काम प्रभावकारी हुने उहाँले विश्वास दिलाउनुभयो ।

