कास्की, फागुन २२ गते । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशलाई साहसिक तथा पर्वतीय खेलकुद पर्यटनको हबका रूपमा विकास गर्न सकिने बताउनुभएको छ ।
अल्पाइन स्पोर्ट्स फेडेरेशन, गण्डकी प्रदेशको प्रथम साधारण सभामा प्रमुख अतिथि भट्टले नेपाल विश्वमै लोकप्रिय साहसिक तथा पर्वतीय खेलको केन्द्रबिन्दु बन्न सक्ने बताउँदै मुलुकभित्र पनि गण्डकी प्रदेशलाई हबका रूपमा विकास गर्न सकिने बताउनुभयो । ‘‘गण्डकी प्रदेशलाई हिमालपारिको जिल्ला मुस्ताङ र मनाङ गण्डकी प्रदेशमा छन् । मनोरम माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्ण हिमशृङ्खलालाई ऐना बनाएर खेल खेल्नका लागि विदेशबाट खेलाडीहरू यहाँ ल्याउन सकिन्छ,’’ प्रदेश प्रमुख भट्टले भन्नुभयो ।
गण्डकी प्रदेश सरकार, सङ्घ सरकार र स्थानीय तहहरूले पनि धेरैअघिदेखि केही प्रयास गरेको पाइएको बताउनुभयो । उहाँले राष्ट्रिय खेलकुद परिषद्को अगुवाइमा मनाङको तिमाङमा ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ निर्माण, मुस्ताङको लोमान्थाङमा विश्वकै अग्लो गल्फ कोर्स निर्माण, गण्डकी प्रदेश सरकारले मुस्ताङको बारागुङ मुक्ति क्षेत्रमा हाई अल्टिच्युड खेल मैदान तथा ट्रेनिङ सेन्टर निर्माण प्रक्रिया अघि बढाउनु सकारात्मक पक्ष रहेको सुनाउनुभयो ।
पर्वतीय तथा उच्च हिमाली क्षेत्रमा खेलिने खेललाई आवश्यक मैदान तथा भौतिक पूर्वाधारको अभाव, जनशक्ति अभाव तथा समुदायबाट टाढा रहेर खेल्नुपर्ने जस्ता समस्याहरू भोग्नुपर्ने भएकाले राज्यले अब खेल पर्यटनलाई बढवा दिई यस्ता सम्भावना युक्त क्षेत्रहरूमा लगानी बढाउन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
साहसिक, पर्वतीय, हिमाली, उच्च हिमाली, अल्पाइन तथा हिउँजन्य खेलमार्फत पर्यटन प्रवर्द्धन, आर्थिक उन्नति तथा खेल क्षेत्रको विकासमा योगदान पुर्याउन विशेष खेल सङ्घको रूपमा अल्पाइन स्पोर्टस् फेडेरेशन, गण्डकी प्रदेश स्थापना गरिएकोमा उहाँले प्रगतिको कामना पनि गर्नुभयो ।