• ७ वैशाख २०८२, आइतबार

उर्जाबाट देश समृद्ध बनाउन सकिन्छ : मन्त्री खड्का

blog

डुम्रे महोत्सवमा बोल्नु हुँदै मन्त्री दीपक खड्का । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, फागुन २१ गते । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले जलविद्युत र सिँचाइको माध्यमबाट स्थानीय जनतालाई धनी बनाउन सकिने बताउनुभएको छ । 

तनहुँको भानु नगरपालिका –१ पुलचोकमा ‘चौंथो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८१’ को  उदघाटन गर्दै मन्त्री खडकाले उर्जा क्षेत्रमा लगानी गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभयो । 

प्रतिफल दिने क्षेत्रमा लगानी गर्न उपयुक्त हुने भएकाले सरकारले उर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै यसले स्थानीय जनतालाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिने बताउनुभयो । जलस्रोतको माध्यमबाट विद्युत निर्यात गर्न सकिने, पेट्रोलियम पद्धार्थको आयातलाई घटाउन सकिने, सिँचाइको माध्यमबाट किसानलाई प्रोत्साहन गरी धनी बन्न सकिने उहाँको भनाइ छ । 

बिदेशी ऋण सहयोगमा भर पर्दा जलविद्युत आयोजना प्रभावित हुन सक्ने हुँदा नेपाल सरकारले लगानी बढाउने काम गरिरहेको उहाँले बताउनुभयो । तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाई आयोजनामा “व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने नारासाथ बुधबारदेखि महोत्सव सुरु भएको छ ।  

सो अवसरमा आयोजकले मन्त्री खड्कालाई सम्मान गरेको छ । उर्जा तथा सिँचाइ क्षेत्रमा उत्कृष्ट काम गरेबापत मन्त्री खड्कालाई सम्मानपत्र प्रदान गरी सम्मानित गरिएको छ । बुधबारदेखि सुरु भएको महोत्सव चैत ३ गतेसम्म चल्ने छ । आर्थिक मन्दीले व्यवसाय सुस्ताएपछि चलायमान बनाउन महोत्सव गरिएको आयोजकको भनाइ छ । 

कोभिड–१९ पछिको आर्थिक मन्दीले बजारमा व्यापार घट्दै जाँदा व्यवसायी पलायन हुनेक्रम बढेको, किसानले उत्पादन गरेको समान बिक्री गर्न समस्या परेको तथा होमस्टेको प्रचार–प्रसार नहुँदा पाहुना बढाउन नसकिएकाले चलायमान बनाउन महोत्सवको आयोजना गर्ने निर्णय गरिएको महोत्सवका प्रवक्ता तथा तनहुँ उद्योग वाणिज्य सङ्घका महासचिव सुवोध अधिकारीले बताउनुभयो । 

अधिकारीले भन्नुभयो, ‘‘कोभिड–१९ ले शिथिल बनाएको र हाल आर्थिक मन्दीले व्यवसायी सङ्कटमा परेकाले आर्थिक चलायमान बनाउन  महोत्सव गर्ने निर्णय गरेका हौं ।’’ महोत्सवमा व्यापारिक एवम् सेवामूलक उद्देश्यसहित एकसय २५ स्टल छन् । 

जसमा स्थानीय रैथाने सामग्री र कृषि उत्पादन, शैक्षिक तथा विज्ञान प्रदर्शनीलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ । सामान खरिद बिक्री हुने सांस्कृतिको संरक्षण हुने होटल रेस्टुराँमा आर्थिक कारोबार बढ्ने भएकाले महोत्सव आयोजना गरिएको महोत्सवका निर्देशक तथा तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष घनश्याम देवानले बताउनुभयो । 

बन्दीपुर गाउँपालिका –१ र ४ स्थित डुम्रे तनहुँको मात्र नभई गोरखा, लमजुङ र मनाङको समेत व्यापारिक नाका भएकाले यहाँको आर्थिक तथा सामाजिक समुन्नतिमा सङ्गठित रुपमा प्रयत्न गर्न महोत्सव गरिएको उहाँले बताउनुभयो । महोत्सवले आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्धनमा योगदान गर्ने उद्देश्य लिएको महोत्सव मूल समारोह समितिका संयोजक तथा तनहुँ उद्योग वाणिज्य सङ्घ दमौलीबजार इकाईका अध्यक्ष हेमलाल भिकेले जानकारी दिनुभयो । 

उहाँका अनुसार महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिनेछ ।