काठमाडौँ, फागुन १८ गते। वैदेशिक रोजगार बोर्डका निर्देशक एवम् गीतकार टीकाराम ढकालको गीत ‘छोरो गयो परदेश’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
डिजराज पौडेलको स्वर अनि सङ्गीत रहेको गीतको म्युजिक भिडियो काठमाडौँमा एक कार्यक्रम गरेर सार्वजनिक गरिएको हो।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको गीतको भिडियो कपिल कार्कीले निर्देशन गर्नुभएको हो। भिडियोमा कलाकार नारद खतिवडा, दीपेन्द्र खत्री (आरुष), डिजराज पौडेल, टीकाराम ढकाल, मन्जु श्रेष्ठ, आरोभ ढकाल लगायतले अभिनय गर्नुभएको छ।
वैदेशिक रोजगार बोर्डका निर्देशक ढकालले रचना गरेको गीतको भिडियोमा रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता, त्यहाँका कठिनाइ अनि पैसा कमाउन गएका बाकसमा फर्कनुपर्ने अवस्था चित्रण गरिएको छ।
गीत सार्वजनिक समारोहमा गीतकार ढकालले आफै वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको कल्याणकारी कार्य गर्ने निकायमा कार्यरत रहेकोले वैदेशिक रोजगारीका समस्या, पीडा, वर्तमान अवस्था प्रत्यक्ष रूपमा नजिकबाट अनुभूति गरेको बताउनुभयो।