चाँदनी आचार्य
घोडाघोडी(कैलाली), फागुन १८ गते । कैलालीको घोडाघोडी नगरपालिकामा सञ्चालित १५औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा घोडाघोडीले सबैभन्दा बढी खेलमा विजयी भई प्रथम उपाधि हासिल गरेको छ । घोडाघोडी नगरपालिका १० कान्तिराज्य लक्ष्मी माध्यमिक विद्यालयको खेलमैदान र सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा खेलहरुमा भएका थिए ।
उक्त प्रतियोगितामा घोडाघोडीले २५ स्वर्ण, १४ रजत र २० काँस्य गरी जम्मा ५९ पदक प्राप्त गरी प्रथम स्थान हुन सफल भएको हो । त्यसैगरी दोस्रो स्थानमा धनगढी उपमहानगरपालिका आउन सफल भएको छ । धनगढी उपमहानगरपालिकाले २४ स्वर्ण, ९ रजत र ५ काश्य पदक प्राप्त गरी दोस्रो स्थानमा आउन सफल भएको हो ।
प्रतियोगितामा गोदावरी नगरपालिका तेस्रो भएको छ । गोदावरीले १२ स्वर्ण, १५ रजत र १२ काँस्य पदक गरी ३९ पदक प्राप्त गरेको छ । कैलाली जिल्लास्तरीय प्रतियोगिता बिहीबारबाट सुरु भएको हो। प्रतियोगिताको कैलाली जिल्ला खेलकुद समिति आयोजक र घोडाघोडी नगरपालिका सहआयोजक छन् ।
यसअघि धनगढी रगंशालामा हुदै आएको प्रतियोगिता पहिलोपटक घोडाघोडीमा सुरु भएको हो । प्रतियोगितामा विजेता समुहलाई घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले पदक तथा नगद पुरस्कार प्रदान गर्नुभएको छ ।
कैलालीका १३ वटा स्थानीय तहबाट छनाेट भएर आएका खेलाडीहरु जिल्ला स्तरिय रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका थिए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ललित खत्रीका जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा कराँते, उशु, तेक्वान्दो, भलिबल, एथलेटिक्स र कबड्डी लगायतका खेल भएको जानकारी दिनुभयो । यस प्रतियोगिताबाट छनाेट भएका पालिकाका खेलाडीले प्रदेशस्तरीय रनिङ शिल्ड प्रतियोगिताका भाग लिन पाउनेछन् ।
प्रतियोगिताको समापन कार्यक्रम घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले सधै जिल्लाको सदरमुकाम धनगढीमा हुँदै आएको जिल्लास्तरीय खेल प्रतियोगिता पहिलो पटक पालिकामा सफलरुपमा सम्पन्न गर्न पाएकोमा गर्व लागेको बताउनुभयो । उहाँले प्रतियोगिता सफल, शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने सम्बन्धित सबैलाई धन्यवाद दिनुभयो । उक्त कार्यक्रममा खेलकुद समितिले आगामी वर्ष हुने १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बर्दगोरिया गाउँपालिकामा गर्नेगरी सम्झौता गरेको छ ।