• २२ फागुन २०८१, बिहिबार

राजविराज बजार बन्द

blog

राजविराजमा बिटौरी तथा ब्लक जग्गाको लालपुर्जाको माग गर्दै आन्दोलित । तस्बिर : देवरामप्रसाद यादव

देवरामप्रसाद यादव

सप्तरी, फागुन १८ गते । सप्तरीको राजविराजवासीले बिटौरी तथा ब्लक जग्गाको लालपुर्जाको माग गर्दै आज बिहानैदेखि बजार बन्द गरेर आन्दोलन गरेका छन् । आन्दोलनकारीहरूले राजविराजको सडकमा प्रदर्शन गर्दै दिउँसो एक बजेसम्मका लागि बजार बन्द गरेका हुन् । 

राजविराज स्थापना कालमा बिटौरी भनि दिएको जग्गाको लालपुर्जा सरकारले नदिएकोले अविलम्ब लालपुर्जा दिनुपर्ने उनीहरूको मुख्य माग छ । लालपुर्जा नहुँदा जग्गा लिएर कारोबार गर्न सक्ने अवस्था नरहेकोले समस्या भइरहेको स्थानीय सुवी यादव बताउनुहुन्छ । 

यसैगरी आन्दोलनकारीहरूले राजविराज हटियामा निर्माणाधीन व्यावसायीक कम्प्लेक्स अबिलम्व निर्माण हुनुपर्ने, नयाँ बसपार्क सञ्चालन हुनुपर्ने, नगरका निर्माणाधीन सडकको काम सक्नुपर्ने, साकेत पार्क निर्माणलगायतका माग समेत राखेका छन् ।

यस्तै राजरङ्गशालाको स्तरोन्नति, कन्या छात्रावासको निर्माण र राजविराजको सिसिटिभी क्यामेरा प्रकरणका दोषीलाईसमेत कारबाहीको माग समेत गरेका छन् । आन्दोलनकारीले गराएको बन्दका कारण राजविराजमा औषधी पसलबाहेक सबै पसलहरू बन्द छन् । आन्दोलनको क्रममा टाइर बालेपछि सुरक्षाकर्मीले निभाउन खोज्दा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी समेत भएको थियो ।