• १९ फागुन २०८१, सोमबार

जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्वको खर्च अपारदर्शी

blog

ठाकुरप्रसाद आचार्य
म्याग्दी, फागुन १८ गते ।
म्याग्दीमा निर्माणाधीन जलविद्युत् आयोजनाहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत गर्नुपर्ने खर्च पारदर्शी नभएको सरोकारवालाहरुले बताएका छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेका पाँच जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्वका क्षेत्रमा गर्नुपर्ने बजेटलाई अपारदर्शी तवरले खर्च गर्ने गरेको जनप्रतिनिधि र  आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुको गुनासो छ ।

रघुगङ्गा गाउँपालिका केन्द्र मौवाफाँटमा भएको सरोकारवालासहितको कार्यक्रमा जलविद्युत् आयोजनाले स्थानीय तह र प्रभावित स्थानीयहरुसँग समन्वय नगरी अपारदर्शी रुपमा खर्च गर्ने गरेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

जलविद्युत आयोजनाहरुले प्रभावित क्षेत्रका बासिन्दाको माग बमोजिम समुदायको शिक्षा, स्वास्थ्य, खानेपानीलगायतको क्षेत्रमा खर्चिनुपर्ने रकमको पारदर्शीता नभएको उहाँको भनाइ छ । 

रघुङ्गामा ४० मेगावाट क्षमताको राहुघाट, २२ दशमलव ५ मेगावाटको ठुलोखोला ‘ए’, ३५ दशमलव ५ मेगावाट क्षमताको राहुघाट मंगले, २१ दशमलव ३ मेगावाट क्षमताको ठुलोखोला र ४८ दशमलव ५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छन् । जलविद्युत् आयोजनाले निर्माणको क्रममा वातावरणीय पक्षलाई बेवास्ता गरेका छन् ।

संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन र प्रारम्भिक वातावरणीय परीक्षण, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनहरुमा प्रस्तावित जलविद्युत आयोजनाको प्रभाव क्षेत्रभित्र रहेको क्षेत्रको भौतिक, जैविक, रसायनिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक वातावरणमा पर्ने असरहरु र ती असरहरुलाई न्यूनीकरण निश्चित बजेट नै विनियोजन हुने भए पनि आयोजनाहरुले आफूखुसी उक्त रकम खर्च गर्ने गरेको पालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘गाउँपालिका भित्र निर्माणाधीन जलविद्युत आयोजनाहरुले आफूखुसी रुपमा अपारदर्शी तवरले खर्च गरेका छन् । त्यस्तो खर्च गर्दा गाउँपालिकासँग समन्वय गर्दैनन् । कुन क्षेत्रमा के कति खर्च भयो त्यसको विवरण पनि दिन मान्दैनन् ।’’

पालिका भित्र निर्माणाधीन सबै आयोजनाहरुलाई सामाजिक उत्तरदायित्वमा खर्चिने रकमको विवरण पेश गर्न भनेपनि अहिलेसम्म कसैले पनि पालिकामा नबुझाएको पालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।

केही आयोजनाहरुले आफ्नै पहुँचमार्गमा बनाइएको सडक र पुलका पूर्वाधार तथा सुरुङबाट निस्कने मकिङ डम्पिङ गर्न बनाएका पूर्वाधारलाई समेत सामाजिक उत्तरदायित्वअन्तर्गत नै बनाइएको प्रचार गरेको भन्दै पालिका अध्यक्ष भण्डारीले समुदायमा खर्चिनुपर्ने दायित्वबाट आयोजनाहरु पञ्छिन खोजेको उहाँको भनाइ छ ।

प्रतिनिधिसभा सदस्य खमबीर गर्वुजा र प्रदेश सभा सदस्य हरि भण्डारीले जलविद्युत् आयोजनाहरुले समुदायमा गर्नुपर्ने दायित्वबाट भाग्न खोजेको गुनासो आएको बताउँदै आयोजनाहरुले सामाजिक उत्तरदायित्वको साथै सडकलाई कालोपत्रे गर्ने र समुदायको विकासमा उचित सहकार्य गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले आयोजनाहरुले आफ्नो पूर्वाधार निर्माण हुने क्षेत्रमा राजश्व नै नतिरीकन नदिजन्य पदार्थको प्रयोग गरेको देखिएको बताउँदै त्यसतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्ने र आयोजनाहरुले समुदायप्रतिको उत्तरदायित्व बहन गर्नुपर्ने बताउनुभयो ।

रघुगङ्गा जलविद्युत् आयोजनाका सिभिल महाशाखा प्रमुख रविन कट्टेलले आयोजनाबाट सामाजिक उत्तरदायित्वको क्षेत्रमा कुल ६ करोड ६४ लाख खर्चिन पाउनेमध्ये हालसम्म दुई करोड ३९ लाख रुपियाँ खर्च भएको जानकारी गराउनुभएको थियो ।

त्यसैगरी २२ दशमलब ५ मेगावाटको ठुलोखोला ‘ए’ जलविद्युत् आयोजनाका आवासीय इञ्जिनियर सञ्जिप न्यौपानेले सामाजिक उत्तरदायित्वको क्षेत्रमा खर्च हुने कुल  एक करोड ९२ लाख रुपियाँ बजेटलाई प्रभावित क्षेत्रमा पर्ने वडा नम्बर ८ र ७ मा खर्च गर्ने तयारी भएको जानकारी दिनुभयो ।

कार्यक्रममा २१ दशमलब ३ मेगावाट क्षमताको ठुखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको संयुक्त ऊर्जा लिमिटेडका बुद्धिराज अधिकारी, अपर राहुघाट र राहुघाट मंगले दुई जलविद्युत् निर्माण गरिरहेको तुदी पावर कम्पनीका उपेन्द्रराज गौतमले आयोजनाले सामाजिक उत्तरदायित्वको क्षेत्रमा खर्च गरेको विवरण पेश गरे पनि कुल खर्च  हुने रकम सार्वजनिक गर्न सक्नुभएन ।