स्वरसम्राट् नारायणगोपालको जीवनीपरक कृति ‘स्वरसम्राट् नारायणगोपाल’ हालै प्रकाशन भएको छ । चलचित्र निर्देशक एवं सञ्चारकर्मी प्रकाश सायमीले नारायणगोपालको जीवनको साङ्गोपाङ्गो पक्षलाई केलाउने प्रयास गर्नुभएको छ ।
साँच्चै भन्ने हो भने जीवनी लेख्नु सजिलो छैन, त्यो पनि स्रष्टाको निधनपछि त झनै कठिन हुन्छ । गीतसङ्गीतको अध्ययन अनुसन्धानमा लामो समयदेखि सव्रिmय लेखक प्रकाश सायमीले भने नारायणगोपालको जीवनीपरक कृति लेख्नुभएको छ ।
लेखक सायमीले यस कृतिमा नारायणगोपालको सन्दर्भमा पाए जति र भेटे जति सामग्री, गीति क्षेत्रका दिग्गज गीतकार, लेखक, कविको अनुभव र विचारलाई समावेश गरी त्यसलाई अभैm आधिकारिकता दिने कोसिस गर्नुभएको छ । वास्तवमा लेखक सायमीले एउटा अत्यन्त सराहनीय प्रयास गर्नुभएको छ । प्रस्तुत कृतिमा उहाँले नारायणगोपालको बाल्यकालसम्बन्धी अपत्यारिलो तर वास्तवमा तथ्य, विद्यालय र कलेज जीवन, उनको सुगम गीतसङ्गीतप्रतिको विशेष मोह, लगाव र आकर्षण, शास्त्रीय सङ्गीतको अध्ययन, असफल प्रेम प्रसङ्ग, नोकरी र विवाह सम्बन्धका धेरै विषयलाई सिलसिलाबद्ध रूपमा प्रस्तुत गर्नुभएको छ ।
प्रस्तुत पुस्तकमा लेखक सायमीले नारायणगोपालको जीवनमा भएका विविध प्रसङ्गलाई अलग अलग शीर्षकमा प्रस्तुत गर्नुभएको छ । यसो हेर्दा प्रत्येक शीर्षक नै एउटा एउटा अध्याय जस्तै छन् । ‘ओ चन्दनवाले’ शीर्षकबाट प्रारम्भ भएको नारायणगोपालको जीवनी लेखन ‘निधनपछि नारायणगोपाल’ शीर्षकमा पुगेर टुङ्गिएको छ । यसभित्रका शीर्षकहरूमा–
‘जन्म’, ‘पिताजीको सजाय’, ‘साङ्गीतिक मित्रभेट’, ‘मेकानिक कार्यमा युवाकाल’, ‘दार्जिलिङ ः पहिलो प्रेमको अन्त्य’, ‘बरोदा कनेक्सन’, ‘दार्जिलिङ ः १९६४’, ‘नयाँ गीत ः नयाँ यात्रा’,
‘दार्जिलिङ ः चिनारी हाम्रो धेरै पुरानो’, ‘काठमान्डु ः २०२४’, ‘शास्त्रीय सङ्गीतबाट पुनर्बास’, ‘मितेरी सङ्गीतको युग’,
‘मितज्यू नाइट काठमान्डूमा’, ‘मितज्यू नाइटपछिको विवाद’, ‘सुटकेससहितको यात्रा’, ‘शुभविवाह’, ‘पोखरा प्रवास’, ‘डेराको जीवन’, ‘चलचित्रमा पहिलो गायन’, ‘एउटा सपनाको अवसान’, ‘बागीना प्रकाशन’, ‘अरुणा लामा सहयोग साँझ’,
‘प्रहरीसहितको गाडीमा यात्रा’, ‘महाप्रबन्धकको नयाँ अवतार’, ‘मध्यान्तरपश्चात्’, ‘मातृभाषाको गायनबाट पलायन’, ‘मालती मङ््गले’, ‘फिल्मी गायनमा नारायणगोपाल’, ‘ब्ल्यु नोट्स र रत्न रेकर्डिङ्स’, ‘स्टेजमा पुनरागमन’, ‘स्वर्णिम सन्ध्या’, ‘कवि गायक र जगदम्बाश्री’, ‘महाकविको सम्झनामा नारायणगोपाल’,
‘पहलवानका साथी भीम’, ‘दुई पाइन्टवाल र कट्टुवाल’,
‘कालीप्रसादसितको परिचय’, ‘दुई महाराजको कथा’, ‘तारादेवी’, ‘दोस्त दिलमाया’, ‘रेडियो नेपालसित दसबर्से द्वन्द्व’, ‘गायनका बारे नारायणगोपाल’, ‘नारायणगोपाल कस्ता थिए’, ‘अन्तर्वार्तामा असहज व्यक्ति’, ‘अराजनीतिक व्यक्तित्व’, ‘यात्रामा’, ‘सर्वोत्कृष्ट गायकको पुरस्कार बहिष्कार’, ‘चेसका उस्ताद’, ‘भूकम्पका बेलामा सडक यात्रामा’, ‘उर्वशीको सम्पादकीय’, ‘स्वरसम्राट्को घोषणा’, ‘गीतियात्रा’, ‘रोगको आव्रmमण’, ‘वीर अस्पतालमा भर्ना’, ‘२०४७ मङ्सिर २०’, ‘प्रज्ञा भवन’, ‘अन्तिम बिदाइ’, ‘एउटी आमा सधैँ रुन्छे छोराको सपना विपनामा’,
‘निधनपछि नारायणगोपाल’ आदि शीर्षकमा लेखक सायमीले नारायणगोपालका बारेमा प्राप्तसामग्री एवं जानकारी एकीकृत गरी विविध घटनाव्रmमलाई विस्तारपूर्वक प्रस्तुत गर्नुभएको छ ।
विसं २०१८ मा कोलकातामा रत्नशमशेर थापाद्वारा लिखित छ वटा गीत एकै पटक रेकर्ड गरेपछि नारायणगोपाल त्यही गीतबाट चर्चित भए । त्यो नै उनका निम्ति आधुनिक गीतको क्षेत्रमा कहिल्यै नओइलाउने पूmल भनौँ या सदाबहार वृक्ष साबित भयो । ‘ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो’, ‘स्वर्गकी रानी’, ‘आँखाको भाखा आँखैले’, ‘भो भो मलाई नसोध’, ‘कुञ्जमा गुन्जियो’, ‘मधुमासमा यो दिलको बाग’ आदि गीतले नारायणगोपाललाई नेपाली आधुनिक गीत गायनमा ठुलो सफलता मिल्यो ।
नारायणगोपाल कतिसम्म चर्चित भए भने उनको स्वर सुनेरै उनीप्रति मरिहत्ते गर्ने दार्जिलिङकी पेमालासँग नारायणगोपालको भेट पनि अति रोचक छ, कुनै सिनेमाको जस्तो । जब नारायणगोपाल दार्जिलिङ पुगे, तब त्यहाँ अध्ययन गरिरहेका नगेन्द्र थापा र गोपाल योञ्जनसँगको सहयोगमा उनी पेमालालाई भेट्न सुकिया पोखरी पुग्छन् । नारायणगोपाललाई कहिल्यै नदेखेकी पेमालाले नगेन्द्र शर्मालाई नै नारायणगोपाल भन्ठानेको भाव पेमालाको अनुहारमा देखेपछि झटपट नगेन्द्र थापाले ‘नारान ऊ पर उभिएको छ’ भनेर देखाउनु परेको प्रसङ्ग निकै रोचक छ । लेखक प्रकाशले नारायणगोपालको प्रेम र विवाहका प्रसङ्गलाई रोचक तरिकाबाट प्रस्तुत गर्नुभएको छ । पुस्तकमा उल्लेख गरिएका प्रायः सबै प्रसङ्ग एउटा विशेष घटना जस्तो लाग्छ । तिनलाई पढ्दा कुनै चलचित्रका दृश्य हेरिरहे जस्तो भान हुन्छ । जीवनी लेखनलाई सरल रूपमा प्रस्तुत गरेको हुनाले हरेक घटनाव्रmममा उत्सुकता र जिज्ञासा पैदा हुन्छ ।
नारायणगोपालले बाल्यकालदेखि नै गर्नु परेको सङ्घर्ष, पाएको अनेक दुःख, हन्डर र अभाव, मिलन र बिछोडका घटना, अध्ययन, असफल प्रेम, प्रेम अनि वैवाहिक जीवन, पेसा र व्यवसायबारेका अनेक रोचक प्रसङ्ग पढ्दा र नेपाली आधुनिक गीतको क्षेत्रमा नारायणगोपालले गरेको योगदान हेर्दा उनलाई प्रदान गरिएको स्वरसम्राट्को उपाधिले न्याय गर्न सकेको छैन कि जस्तो आभास हुन्छ । नेपाली आधुनिक गीतको क्षेत्रमा भने उनले श्रोताबाट पाएको अति माया र श्रद्धाको भर्पाई भनेकै त्यही स्वरसम्राट्को उपाधि नै हो ।
धेरैलाई लाग्छ, नारायणगोपाल काठमाडौँको नेवार परिवारमा जन्मिएका हुन् तर उनको जन्म नेपालकै सिराहा जिल्लाको भगवानपुरमा १९९६ साल असोज १८ गते बुधबारका दिन भएको हो । पिता आशालाल गुरुवाचार्य काठमाडौँबाट १९९० सालपछि राणा सरकारको दरमाहादार पदमा सिराहाको भगवानपुरमा जागिरे भएपछि नारायणगोपाल त्यहीँ जन्मिएको विषयलाई लेखकले उल्लेख गर्नुभएको छ । काठमाडौँको जेपी हाइस्कुलमा पढ्ने हट्टाकट्टा जिउडालका नारायणगोपाल साथीहरू दिउँसो खाजा खान गएपछि आपूmसँग पैसा नभएका कारण कक्षाको टेबल ठटाएर गीत गाउँथे । विद्यालयका साथीहरू उनलाई ‘ओ वस्ताजजी’ भनेर बोलाउँथे । नारायणगोपालका सहपाठी साहित्यकार विनोद दीक्षितलाई उद्धृत गर्दै सायमी लेख्नुहुन्छ, “क्षत्रपाटीस्थित जुद्धोदय हाइस्कुलमा नारायणगोपाल मेरो अत्यन्त मिल्ने साथी थिए । क्लासभरि सबभन्दा जेठा उनी र कान्छो म । हामीले एसएलसी पास गरिसकेका थियौँ, उनका पाँच गीत रेकर्ड भएर हिट हुँदा । ती पाँच गीत अत्यन्त लोकप्रिय भइरहेका थिए र जताततै नारायणगोपालको नाउँ सुनिन्थ्यो । रेडियो नेपालमा उनको गीत फर्मायस गर्नेहरूको ताँती हुन्थ्यो ।”
यस कृतिमा सायमीले नारायणगोपालको जीवनलाई सकेसम्म पूर्णता दिने सक्दो प्रयास गर्नुभएको छ । नारायणगोपालसँग सम्बन्धित तस्बिर पनि पुस्तकमा राखिएका छन् । त्यसै गरी नारायणगोपालको निधनपछि पत्रपत्रिकाले कस्तो समाचार प्रकाशन गरे भन्ने कुरालाई पत्रिकाबाट उद्धरण गरिएको छ । कवि राजेन्द्र भण्डारीले नारायणगोपालको सम्झनामा लेखेकोे लामो कविता पनि समावेश गरिएको छ । नारायणगोपालले १२ वटा नेपाली चलचित्रमा गाएको चलचित्रको नाम र त्यसका निर्देशकको विवरण पनि समावेश गरिएको छ । यो विवरण अनुसार उनले १३३ वटा आधुनिक गीत गाएका पाइन्छ । उनले सबैभन्दा धेरै गीत गोपाल योञ्जनका २२ वटा, रत्नशमशेरका १२ वटा, ईश्वर वल्लभका सात वटा, नगेन्द्र थापा र कालीप्रसाद रिजालका छ÷छ वटा अनि चेतन कार्की र किरण खरेलका चार÷चार वटा गाएका छन् ।
अन्य गीतकारका गीत एउटादेखि तीन वटासम्म गाएका छन् । २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्कृष्ट सङ्गीतकारको सम्मान थापेका नारायणगोपालले २०२४ सालमै सर्वोत्कृष्ट गायकको सम्मान पाएको देखिन्छ । त्यसपछि गोरखा दक्षिणबाहु (चौथो), इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, छिन्नलता पुरस्कारका साथै जगदम्बाश्री पुरस्कारका अतिरिक्त अन्य धेरै पुरस्कार पाएका थिए । उनले मरणोपरान्त पाएको पुरस्कार हो, ‘त्रिशक्ति पट्ट’ र ‘महाउज्ज्वल राष्ट्रिय, प्रथम श्रेणी’ । यसरी जीवनको ५१ वर्षभित्र अनेक सङ्घर्षमय जीवन व्यतीत गरेर नेपाली जनमानसमा अमिट छाप छाडेर नेपाली आकाशमा सधैँ गुञ्जिरहने गायक स्वरसम्राट् नारायणगोपालको जीवनीपरक कृति प्रकाशित हुनु अवश्य पनि खुसीको कुरा हो । यसमा लेखक प्रकाश सायमीले निकै मेहनत गर्नुभएको छ । नेपाली आधुनिक गीतसङ्गीतको क्षेत्रमा अध्ययन र अनुसन्धान गर्ने र रुचि राख्ने विद्यार्थी, गीतका पारखीका निम्ति यो कृति अत्यन्त महŒवपूर्ण छ । कुल ३९२ पृष्ठको यस कृतिलाई काठमाडौँ पब्लिकेसनले २०८१ सालमा प्रकाशित गरेको हो । लेखक, प्रकाशक एवं यस कृतिका निम्ति प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै धन्यवादका पात्र छन् ।