ललितपुर, फागुन १५ गते । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले निरन्तर सिक्ने, नयाँ विचार ल्याउने र समस्याहरूको समाधान खोज्ने विद्यार्थीहरूले मात्र भविष्य निर्माण गर्न सक्ने बताउनु भएको छ ।
पुल्चोक क्याम्पसमा अध्ययनरत छात्राहरुको समूह ‘पुल्चोक गर्ल्स’ द्वारा बिहीबार आयोजित ‘नेतृत्वमा महिला : महत्त्वपूर्ण आवाजहरू’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले
भन्नुभयो, ‘‘हामीले नेतृत्व लिन चाहन्छौं भने पहिले आफूभित्र नवीनता ल्याउनुपर्छ। निरन्तर सिक्ने, नयाँ विचार ल्याउने र समस्याहरूको समाधान खोज्ने विद्यार्थीहरूले मात्र भविष्य निर्माण गर्न सक्छन् ।’’
महिलाहरूको नेतृत्व, कानूनी अधिकार, शिक्षामा चुनौतीहरू, सामाजिक सेवामा युवाको भूमिका, विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणित क्षेत्रमा महिलाहरूको सहभागितालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विविध विषयमा छलफल गरिएको थियो।
मुख्य वक्ताका रूपमा सबिता उप्रेती, लक्ष्मी बखाद्यो र डा. रेणुका सोलु हुनुहुन्थ्यो । छलफलमा मुख्य चार विषय राखिएका थिए ।
महिला शिक्षामा कानूनी सुरक्षा तथा चुनौतीहरू विषयमा महिला शिक्षामा कानूनी संरचना, यौन उत्पीडनविरुद्धका नीति तथा शिक्षामा संस्थागत सुरक्षाका उपायबारे वक्ताहरुले आफ्नो विचार प्रस्तुत गर्नुभयो।
यसैगरी, सामाजिक सेवामा महिला तथा युवाको भूमिका विषयमा महिलाहरूको नेतृत्व विकास, युवाहरूको सामाजिक सेवामा सहभागिता तथा समाज रूपान्तरणका लागि आवश्यक नीतिहरूको बारेमा चर्चा गरियो भने शिक्षामा महिलाहरूको सहभागिता विषयमा नेपालमा विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित शिक्षामा महिलाको न्यून सहभागिताको कारण खोजी गर्दै महिला प्रेरणा तथा समावेशिताका उपायबारे बहस गरिएको थियो ।
पुल्चोक गर्ल्सका अध्यक्ष बेन्जिना ढकालले यस्ता छलफल र रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।