• १५ फागुन २०८१, बिहिबार

मिथिला मध्यमिकि परिक्रमा सुरु

blog

मिथिला माध्यमिकी परिक्रमाको शुभारम्भ हुँदै । तस्बिरः धर्बेन्द्र झा

धर्बेन्द्र झा

जनकपुरधाम, फागुन १५ गते । नेपालको सबैभन्दा लामो दूरीको १५ दिवसीय मिथिला मध्यमिकि परिक्रमा बिहीबारदेखि सुरु भएको छ । फागुन कृष्णपक्षको औंसी तीथिमा धनुषाको मिथिला बिहारी नगरपालिका –८ कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट निकालिएको भगवान रामको डोला र जनकपुरधाम –८ स्थित सुन्दर सदनबाट निकालिएको माता सीताको डोला जनकपुरधामको हनुमानगढीमा पुगेपछि मिथिला माध्यमिकि परिक्रमा प्रारम्भ भएको मानिन्छ । 

मधेश प्रदेशको प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले धनुषाको मिथिला बिहारी नगरपालिका –८ स्थित आज आयोजित कार्यक्रमविच मिथिला माध्यमिकि परिक्रमा शुभारम्भ कार्यक्रममा सहभागी भइ राम–सीताको डोलायात्रालाई शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै उहाँले जनकपुरधामसहित आसपास क्षेत्रलाई धार्मिक पर्यटनको हव बनाउनु पर्ने बताउनुभयो । धनुषाभित्र रहेका बिभिन्न धार्मिकस्थललाई अन्तर्राष्ट्रिय क्षेत्रका धार्मिकस्थलसँगको सर्किटमा जोडेर लैजान सकेमा भक्तजनको आकर्षण बढ्ने भन्दै प्रदेश प्रमुख सुवेदीले पौराणिककालदेखि महत्व रहेका धार्मिक क्षेत्रलाई ब्यवस्थित गरी अझ बढी धार्मिक पर्यटन भित्र्याउन सकिने सुझाव दिनुभयो । 

उहाँले नेपाल र भारतका बिभिन्न धार्मिकस्थललाई जोडेर एउटै मार्ग निर्माण भएमा सहज हुने भन्दै यस प्रकारको धार्मिक यात्राले दुई देशबिचको कुटनीतिक सम्बन्धलाई समेत सुमधुर बनाउने बताउनुभयो । 

नेपाल र भारतबिचमा हुने धार्मिक एकताको सन्देशले दुवै देशका जनताबिच आत्मियता, सदभाव, भावनात्मक सम्बन्ध प्रगाढ हुने उहाँको भनाइ छ । आजबाट सुरु भएको मिथिला माध्यमिकी परिक्रमाका तीर्थयात्री जनकपुरधामको हनुमानगढीमा विश्राम लिएर शुक्रबार भारत विहारको कलानेश्वरको लागि प्रस्थान गर्नेछ । कलानेश्वर महादेव मन्दिरमा संकल्प लिएर तीर्थयात्रीहरु औपचारिक रुपमा मिथिला माध्यमिकी परिक्रमा यात्रालाई सुरु गर्नेछ । परिक्रमा यात्राको क्रममा सहभागीले नेपालको ११ र भारतको ४ विश्राम स्थलमा विश्राम लिनेछ । 

यात्राको क्रममा तीर्थयात्रीले नेपाल ९० र भारतको ३० गरी जम्मा १२० किलोमिटरको यात्रा खाली खुट्टा गरिनेछ । परिक्रममा साधु सन्तसहित हजारौं सर्वसधारणको सहभागिता रहेको छ ।