चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले नवविवाहित जोडीलाई स्वास्थ्य सन्देशले भरिएको शुभकामना कार्ड प्रदान गरेको छ। भर्खरै विवाहबन्धनमा बाँधिनुभएका कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङको जोडी (दम्पत्ती) लाई गाउँपालिकाले स्वास्थ्य सन्देशसहितको शुभकामना कार्ड प्रदान गरेको हो।
केही वर्षदेखि पत्नी वियोगमा रहनुभएका पूर्वमन्त्री साम्सोहाङले माया तामाङसँग विवाह बन्धनमा बाँधिनुभएको छ। पाथीभरा याङ्वरक गाउँपालिका–५ चाक्सिबोटे निवासी साम्सोहाङले सोही गाउँपालिका–१ नाङ्खोल्याङस्थित कालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक तामाङसँग दोस्रोपटक वैवाहिक सम्बन्ध सुरुवात गर्नुभएको हो।
नवविवाहित साम्सोहाङ दम्पत्तीलाई पाथीभरा याङ्वरक गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बा र उपाध्यक्ष रनमाया गुरुङले शुभकामना कार्ड प्रदान गर्नुभएको हो। गाउँपालिकाका पदाधिकारीको उपस्थितिमा घरमै पुगेर नवदम्पतीलाई स्वास्थ्य सन्देशले भरिएको शुभकामना कार्ड प्रदान गरिएको बताइएको छ।
शुभकामना कार्डमा विवाहित जोडीलाई दाम्पत्य जीवन स्वास्थ्य, सुखमय र उज्ज्वल बनाउनमा सहयोग पुग्ने सन्देशहरू समावेश गरिएको छ।
गाउँपालिका अध्यक्ष सुब्बाका अनुसार शुभकामना कार्डमा प्रजनन् स्वास्थ्य, जन्मजात अपाङ्गता रोकथाम लगायतमा अपनाउनुपर्ने स्वास्थ्य सावधानीका विषय र अन्य स्वास्थ्य सन्देश तथा जानकारीहरू रहेका छन्।
गाउँपालिकाले यसअघिदेखि नै वैवाहिक सम्बन्ध सुरुवात गर्ने दम्पत्तीलाई स्वास्थ्य सन्देशसहितको शुभकामना कार्ड प्रदान गर्दै आइरहेको जनाएको छ।