• १५ फागुन २०८१, बिहिबार

सङ्घीय शिक्षा ऐन ल्याउन माग गर्दै शिक्षामन्त्रीलाई ध्यानाकर्षण

blog

शिक्षकहरूको ध्यानाकर्षण पत्र बुझ्दै शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, फागुन १५ गते । सङ्घीय शिक्षा ऐन ल्याउनु पर्ने माग गर्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा शिक्षकहरूले बिहीबार प्रदर्शन गरी मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिबारीलाई ध्यानाकषर्ण पत्र बुझाएको छ ।

नेपाल शिक्षक सङ्घ मधेश प्रदेशका संयोजक एवम प्रदेश आन्दोलन परिचालन समितिका अध्यक्ष परशुराम यादवको नेतृत्वमा शिक्षकहरुको अधिकारका लागि गठित नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, अखिल नेपाल शिक्षक सङ्गठन, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक सहितका सात वटा सङ्घ, सङ्गठनमा आबद्ध शिक्षकहरूले शिक्षकको अधिकारसँग सम्बन्धित विभिन्न किसिमको सुझावहरु सङ्घीय शिक्षा ऐनमा समावेश गरी शिक्षा ऐन ल्याउनु पर्ने माग गर्दै शिक्षा तथा संस्कृति मन्त्री तिवारीलाई ध्यानकर्षण पत्र बुझाएका थिए । 

शिक्षकहरूले बुझाएको ध्यानाकर्षणपत्र बुझदै मधेश प्रदेशका शिक्षामन्त्री तिवारीले प्रदेश सरकारले संविधानमा उल्लेखित कतिपय अधिकारको लागि आफै सङ्घर्षरक्त रहेको भन्दै शिक्षकहरूले उठाएका मागको विषयलाई सङ्घ सरकार समक्ष पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

शिक्षकहरूले संविधानको अनुसूची ८ को अधिकार अनुसुची ९ मा लगिनुपर्ने, अस्थायी शिक्षकलाई प्रक्रिया पहुँचाएर स्थायी गर्नुपर्ने, शिक्षकहरूको १० वर्षमा अनिवार्य बढुवा हुनुपर्ने सहितका सुझावहरू ध्यानाकर्षणपत्रमा उल्लेख गरी बुझाएको एकिकृत अखिल नेपाल शिक्षक सङ्गठन मधेश प्रदेशका महासचिव गुलाव यादवले बताउनुभयो । 

शिक्षकहरूले प्रदेश सरकारले निषेधित गरेको क्षेत्रमा प्रदर्शन गर्न खोज्दा केही बेर प्रहरीसँग भनाभन भएको थियो ।