• १४ फागुन २०८१, बुधबार

थाहामा कृषि सामग्री वितरण

blog

थाहाका कृषि समुहलाई कृषि सामाग्री वितरण । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, फागुन १४ गते । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरमा कृषि सामग्री वितरण गरिएको छ । चालु आर्थिक वर्ष २०८१-८२ को स्वीकृत प्रमुख वडा स्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम अन्तर्गत पालिकाको विनियोजित १२ लाख रुपियाँ बजेटमा थाहा नगरपालिका–७ मा रहेको समूहलाई कृषि सामग्री वितरण गरिएको हो । 

थाहा नगरको राम्चेमा रहेको पारिजात कृषक समुह र डाँडाबासमा रहेको सुन्दरी देवी कृषि समूहलाई कृषि सामग्री वितरण गरिएको छ । सुन्दरी देवी कृषक समुहलाई मिनिटिलर ७ एच पी १५ थान, मिनिटिलर डिजल २ थान, स्पे पम्प ४८ थान, मल्चिङ प्लास्टिक ३० रोल, डिजिटल काटा ९ थान, सिम्पोलिन ४ थान, हिलटेक २ हजार लिटरको एक थान, हिलटेक एक हजार लिटरको २ थान, हिलटेक ५ सय लिटरको ५ थान, गार्डेन पाइप ८६ केजी, हजारी १० लिटरको २६ थान, स्पृङ्कक ठुलो ५ थान, सानो एक थानको कृषि सामाग्री ५० प्रतिशत अनुदानमा प्रदान गरिएको कृषि शाखा प्रमुख सञ्जय तिवारीले जानकारी दिनुभयो ।

यस्तै पारिजात कृषि समुहलाई मिनिटिलर पेट्रोल १७ थान, मिनिटिलर डिजल २ थान, स्प्रे पम्प ४० थान, युभी प्लास्टिक एक सय माइक्रोनको २ रोल, मल्चिङ प्लास्टिक २० रोल, बायोटिक चुन २ सय ८० केजी, हिलटेक एक हजार लिटरको २ थान, डिजिटल काटा ३ थान, स्प्रीङकल ठुलो सानो १२० थान, एचडिइपी २० एमएमको पाइप ३ सय ४ मिटर र एप्रोन सेट ३० थान प्रदान गरिएको हो ।

स्वीकृत कार्यक्रमका लागि पालिकाको कृषि विकास शाखाले २७ साउनमा सूचना प्रकाशन गरी किसानहरूबाट प्रस्ताव माग गरेको थियो । तरकारी पकेट कार्यक्रम सञ्चालन निर्देशिका अनुसार गरिने कार्यक्रम थाहा नगरपालिका क्षेत्रमा ३ वटा कार्यक्रम कम्तीमा १४० रोपनी क्षेत्रफलका दरले सञ्चालन गरिने कृषि शाखा प्रमुख सञ्जय तिवारीले बताउनुभयो ।

कृषि सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै थाहा नगरपालिकाका आर्थिक विकास समिति संयोजक हिरेन्द्र रायमाझीले नगरलाई तरकारीको पकेट क्षेत्रका रूपमा विकास गर्न कृषकलाई कृषि सामाग्री सहयोग गरिएको बताउनुभयो । उहाँले थाहा कृषि र पर्यटनमा आधारित क्षेत्र भएकाले यहाँको किसानको हितमा नगरले सदैव काम गर्ने स्पष्ट पार्नुभयो।

कार्यक्रममा कृषक समूहका अध्यक्ष इमानसिं तामाङ, राजकुमार मोक्तान, वडा नं. ७ का वडाध्यक्ष शिवराज थिङ, वडा सदस्य देवेन्द्र थापा, कृषि शाखाका सहायक राजकुमार श्रेष्ठ, वडा कृषि प्राविधिक उत्तम धिमाल, वडा जनप्रतिनिधिहरू तथा किसानहरूको उपस्थिति रहेको थियो ।