काठमाडौं, फागुन १४ गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६२ औँ वार्षिकोत्सव बुधबार काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।
नेपाली सेनासँगै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको सांगीतिक प्रस्तुति गरिएको थियो । जङ्गीअड्डा मातहत पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा आयोजना गरी सेनाले महाशिवरात्रि पर्व तथा सेना दिवस विशेष समारोहअन्तर्गत सैन्य परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यव्रmमको आयोजना गरेको थियो ।
टुँडिखेलमा आयोजित समारोहमा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको सहभागिता थियो ।
सो समारोहमा नेपाली सेनाका दुई हजार ५२४ जना सैनिकहरुले विशेष कला प्रदर्शनी, मार्चपास, हेलिकोप्टरबाट पुष्पगुच्छा अर्पण गर्नुका साथै राइफल र तोपबाट महाशिवरात्री बढाइँ तथा कवाज प्रस्तुत गरेका थिए । त्यसैगरी सैन्य टोलिले विभिन्न रणकौशल, मार्चपास तथा परम्परागत वेशभुषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो ।
साथै नेपाली सेनाले शान्ति मिसनमा प्रयोग गर्दै आएको विभिन्न सवारी साधन, उपकरण र हतियार प्रदर्शन गरेको थियोे ।
सोही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाले प्रकाशन गरेको सिपाही पत्रिका विमोचन गर्नुका साथै प्रदर्शनीमा उत्कृष्ट व्यक्तिहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियोे । साथै उहाले मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका ब्याण्ड टिम प्रमुखलाई उपहार प्रदान गर्नुभयो ।
समारोहमा १४ जना विशेष तामिलप्राप्त सैनिकबिच सात हजार फिट उचाइबाट हाइफल जम्प (प्यारासुट जम्प) मा प्रतियोगितामा आयोजना गरिएको थियो । सो प्रतियोगितामा प्रथम स्थाल हासिल गर्नुहुने सेनानी जगन्नाथ दनै र द्वितीय स्थान हासिल गर्ने अमल्दा मित्रबहादुर रानामगरलाई राष्ट्रपति पौडेलले विशेष ट्रफिसहित पुरस्कृत गर्नुभयो ।
वि.सं १८१९ सालमा स्थापाना भएको नेपाली सेनाले फागुन कृष्ण त्रयोदशी अर्थात् महाशिवरात्रि पर्वको अवसरमा सैनिक दिवस विशेष कार्यव्रmको आयोजना गर्दै आएको छ ।
सेना दिवसको अवसरमा सहभागि हुन भारतीय सेनाका छ जना भूतपूर्व स्थल सेनाध्यक्षहरु नेपालमा आउनुभएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाली सेनाका मानार्थ महारथीबाट सम्मान हुनुभएका भारतीय पूर्वस्थल सेनाध्यक्षहरु जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, डा. विजय कुमार सिंह, दलवीर सिंह सुहाग, डा. मनोज मुकुन्द नरवणे र मनोज पाण्डे सेना दिवस विशेष समारोहमा विशेष अतिथिको रुपमा सहभागि रहनुभएको थियो ।