काठमाडौँ, फागुन १२ गते । सभामुख देवराज घिमिरेले भारतको ओडिसामा प्रकृति लम्सालको हत्या भएको घटनाका सन्दर्भमा बोल्ने क्रममा परिवारप्रति नै श्रद्धाञ्जली व्यक्त भएको शब्दको प्रयोग भएको भए हेरेर सच्याउन निर्देशन दिनुभएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयका बिचमा सांसद रामहरि खतिवडाले सभामुखको ध्यानाकर्षण गराउँदै फागुन ६ गतेको बैठकमा सांसद डा स्वर्णिम वाग्लेले बोल्ने क्रममा लम्सालका सपरिवारलाई श्रद्धाञ्जली दिएको शब्दावलीको प्रयोग भएकाले त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गर्नुभएको थियो ।
सांसद खतिवडाको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सपरिवारलाई श्रद्धाञ्जली दिएको शब्दावली प्रयोग भएको भए सच्याउन निर्देशन दिनुभयो । उहाँले संसद् सचिवालयका कर्मचारीलाई त्यो विषय सुनेर सच्याउन निर्देशन दिनुभयो । रासस