• १२ फागुन २०८१, सोमबार

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

blog

बरामद भएको हतियार र गोली । तस्बिर : अनिल पराजुली ।

अनिल पराजुली

हेटौँडा, फागुन १२ गते । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५ रातमाटे चेकपोस्टबाट पेस्तोल र गोलीसहित दुई भारतीय नागरिक पक्राउ गरेको छ । प्रहरी चौकी रातमाटे र अस्थाई प्रहरी पोस्ट हरियालीबाट खटिएको संयुक्त टोलीले भारत बिहार राज्य सिहुहर जिल्ला धनहरा ग्राम बस्ने २२ वर्षीय धिरज कुमार र बिहार राज्य मोतीहारी जिल्ला बहरी ग्राम बस्ने २६ वर्षीय दीपक कुमारलाई पक्राउ गरेको हो । 

धिरजको साथबाट एकराउन्ड गोली लोड भएको एमएम अटो पेस्तोल र थप २ थान गोली गरी तीन थान गोली बरामद गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत रातमाटे चेकपोइन्टमा गौरबाट चितवन तर्फ जान आउँदै गरेको ना. ८ ख. ८७७३ नं. को भाडाको बसलाई विशेष सूचनाको आधारमा चेकजाँच क्रममा खानतलासी गर्दा हतियार र गोली बरामद भएको हो ।