• १२ फागुन २०८१, सोमबार

कैलालीमा साढे दुई हजार जलपन्छी अभिलेख

blog

जाखोर तालमा रहेका जलपन्छी । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, फागुन १२ गते । कैलालीको सिमसारमा यस वर्ष ५९ प्रजातिका दुई हजार ५२२ वटा जलपन्छी अभिलेख भएका छन् । हिउँदमा गरिएको गणनाको क्रममा सो सङ्ख्यामा जलपन्छी अभिलेख गरिएको हो । 

रैथाने र आगन्तुक जलपन्छीको सङ्ख्या, अवस्था, प्रजाति पत्ता लगाउनका लागि गत जनवरीमा विभिन्न तालतलैयामा जलपन्छीको गणना गरिएको थियो । 

गणनाको क्रममा विश्व रामसार क्षेत्रमा सूचीकृत नेपालको पहिलो चरा आरक्ष घोडाघोडी तालमा ३५ प्रजातिका एक हजार ४९७ जलपन्छी अभिलेख भएका छन् । यसैगरी, धनगढी उपमहानगरपालिकामा रहेको जाखोर तालमा १७ प्रजातिका ४५८ जलपन्छी अभिलेख भएका छन् । कैलाली र बर्दियाको सीमा क्षेत्रस्थित कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा विभिन्न २८ प्रजातिका ५५४ वटा जलपन्छी अभिलेख भएका छन् । 

वसन्ता वन क्षेत्रमा पर्ने रखौना, लौकाभौका, सोनियाँ रुपियाँ, घोडताल, रप्ताहीलगायतका तालमा पनि पानी चराको गणना गरिएको थियो । बसन्ता वन क्षेत्रमा रहेका तालहरुमा जलपन्छीको सङ्ख्या निकै घटेको पाइएको चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो । उहाँले चराको प्राकृतिक वासस्थानको विनाश, मानवीय हस्तक्षेपलगायतका कारण जलपन्छीको सङ्ख्या घट्दै गएको बताउनुभयो ।   

जाडो छल्नका लागि उत्तरी ध्रुवबाट यहाँका सिमसारमा विभिन्न प्रजातिका पाहुना जलपन्छी पुगेको बेला हरेक वर्ष जलपन्छीको गणना गर्ने गरिन्छ । कैलालीको सिमसारमा सिलसिले हाँस, नादुन हाँस, मरुल, डुबुल्की चरा, हरिहाँस, कैले टाउके हाँस, जलेवा, जलअप्सरा, बगाले सिमकुखुरा, हरिहाँसलगायतका रैथाने र आगन्तुक जलपन्छी पाइने गरेका छन् ।