सर्लाही, फागुन १२ गते । यहाँको बरहथवा नगरपालिका–१४, हरिपुर्वाका १४ वर्षीय मुकेश बैठालाई यही फागुन १ गते छाडा कुकुरले टोक्यो । एक्कासि कुकुरले टोकेपछि उहाँ तत्काल बरहथवा नगर अस्पताल पुग्नुभयो । तर, अस्पतालले भ्याक्सिन नहुँदा उहाँलाई फर्कायो ।
त्यसपछि मुकेशलाई निजी क्लिनिकमा लगियो । क्लिनिकमा रु छ सय ५० तिरेर भ्याक्सिन लगाउनुभयो । तीन–तीन दिनको अन्तरमा तीन मात्रा भ्याक्सिन लगाउनुपर्ने मुकेश दोस्रो मात्राका लागि नगर अस्पताल पुग्नुभयो । तर, चिकित्सकले औषधि अझै नआएको भनेर फर्काए । फेरी निजी क्लिनिकबाटै दोस्रो मात्रा लगाउनुभयो । बैठाले अन्तिम मात्रा भने नगर अस्पतालबाटै लगाउनु पाउनुभयो ।
शुक्रबार अस्पताल परिसरमा भेटिनुभएका उहाँले नेता र अस्पतालका चिकित्सकसँग हारगुहार गरेपछि एक मात्रा भ्याक्सिन पाएको बताउनुभयो । अस्पतालले रु दुई सय लिने भ्याक्सिन बाहिर रु छ सय ५० तिर्नु पर्दा महँगो परेको उहाँले बताउनुभयो ।
“गाउँका मान्छेले झन्झट मानेर रेबिजको भ्याक्सिन लगाउँदैनन् । अस्पतालमा सधैँ छैन् भनेर फर्काउछन् । बाहिर किनेर लगाउन सबैसँग पैसा हुँदैन । यहाँ दिनदिनै कुकुर, स्याल, बाँदर, बिरालोलगायतका जनावरले टोकिरहेको हुन्छ”, उहाँले भन्नुभयो ।
चिकित्सकले दश दिनसम्म टोक्ने जनावरको निगरानी गर्न भनेर पठाउने गर्दा धेरै जनाले भ्याक्सिन लगाउन नपाएको स्थानीय रामनरेश रायको अनुभव छ । “कुकुर, स्यालजस्ता जनावरले खेतमा काम गर्दै गर्दा, बाटो हिँड्दा हिँड्दै टोकेर भाग्छ”, उहाँले भन्नुभयो, “त्यस्ता जनावरको निगरानी कसरी गर्नु रु” राज्यले भ्याक्सिन पर्याप्त नदिँदा विपन्न स्थानीय मारमा परेको उहाँको भनाइ छ ।
बैठाझैँ गोडैता नगरपालिका–५, सिसौटिया निवासी ४५ वर्षकी जोगनी देवीलाई यही फागुन ३ गते खेतैमा स्यालले टोक्यो । दायाँ खुट्टामा चोट लाग्ने गरी स्यालले टोकेपछि उहाँलाई परिवारले तत्काल प्राथमिक स्वास्थ्य केन्द्र गोडैता पु(याए । तर, उहाँले स्वास्थ्य केन्द्रमा भ्याक्सिन पाउनु भएन । चिकित्सकले १० दिनसम्म टोक्ने जनावरको निगरानी गर्नु र मर्यो भने सुई लगाउन आउनु भन्दै फर्काइदिए ।
त्यसपछि उहाँ लालबन्दी नगरपालिकाको एक निजि क्लिनिकमा पुगेर भ्याक्सिन लगाउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र बलरामा आएको औषधि १५ दिनमै सकिएकोले भ्याक्सिन लगाउन अन्तै पठाएको स्वास्थ्य केन्द्रका इन्चार्ज नितेशकुमार कुशवाहले जानकारी दिनुभयो । भ्याक्सिन जम्मा ४० भाइल मात्र आउने गरेको उहाँले बताउनुभयो । भ्याक्सिन सकिएपछि अधिकांश स्वास्थ्य संस्थाहरूले बिरामीलाई अन्यत्र पठाउने गरेका छन् ।
जिल्लामा सधैँ रेबिज विरुद्धको भ्याक्सिन अभाव हुने गरेको छ । सरकारी स्वास्थ्य संस्थामा कोटाअनुसार आउने रेबिज विरुद्धको भ्याक्सिन अभाव भएपछि निजी क्लिनिकबाट महङ्गोमा किनेर लगाउनुपर्ने बाध्यता छ ।
जिल्लामा प्रादेशिक अस्पताल मलङ्गवा, नगर अस्पताल लालबन्दी, ईश्वरपुर, बरहथवा प्राथमिक स्वास्थ्य केन्द्र हरिवन, बलरामा रेबिज विरुद्धको भ्याक्सिन लगाउने गरिएको छ । तर, ती केन्द्रमा आएका औषधि एक हप्तादेखि १५ दिनमै सकिने गरेको संस्थाका स्वास्थ्यकर्मीको गुनासो छ । तीन सय भाइल भ्याक्सिनको कोटा भएपनि कहिले महिना दिन, त कहिले १५ दिनलाई पनि नपुग्ने प्रादेशिक अस्पताल मलङ्गवाका प्रमुख डा नवलकिशोर झाले जानकारी दिनुभयो ।
औषधि सकिने बित्तिकै माग फारम भरेर पठाउने गरेपनि ल्याउन समय लाग्ने हुँदा कहिलेकाँही १५–२० दिनसम्म भ्याक्सिन अभाव हुने डा झा बताउनुहुन्छ । चिकित्सकीय अभ्यासमा टोकेको जनावरको १० दिनसम्म निगरानी गरेर मरे वा बहुलाए मात्र औषधि लगाउनुपर्ने भएपनि बिमारी जनावर भाग्यो भनेर आउने गर्दा भ्याक्सिन लगाउनै पर्ने दवाब हुने उहाँले बताउनुभयो ।
भ्याक्सिनको कोटा कम हुँदा अभाव हुने गरेको बरहथवा नगर अस्पताल प्रमुख नागेन्द्र साहले बताउनुभयो । पहिला धेरै कोटा भएपनि मधेश प्रदेश मातहतमा आएपछि महिनामा ६० भाइल मात्र प्राप्त हुने गरेको उहाँले बताउनुभयो । प्राप्त भ्याक्सिन एक हप्तामै सकिने उहाँको भनाइ छ ।
गत माघमा प्राप्त ४० भाइल भ्याक्सिन १० दिनमै सकिएको हरिवन नगरपालिका स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले बताउनुभयो । फागुन महिनाको लागि आउँदो २० गते औषधि प्राप्त गर्ने तालिका रहेको उहाँले जानकारी दिनुभयो । अहिले अस्पतालमा रेबिज विरुद्ध भ्याक्सिन लगाउन आउनेलाई अन्यत्र पठाउने गरेको उहाँले स्वीकार्नुभयो ।
हाल जिल्लामा मासिक छ सय भाइल बराबर रेबिजको भ्याक्सिन प्राप्त हुने गरेको छ । यो आवश्यकताको एक तिहाइ मात्रा मात्र भएको स्वाथ्यकर्मी बताउँछन् । आवश्यकताको आधारमा कम मात्रामा भ्याक्सिन आउने भएकाले लक्षितवर्ग जोखिममा परेको नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले बताउनुभयो ।