• ७ वैशाख २०८२, आइतबार

व्यावसायिक माहुरीपालन फस्टाउँदै

blog

रामेछाप, फागुन १२ गते । जिल्लामा व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरुमा माहुरीपालन गर्नेको सङ्ख्या बढ्दै गएको छ । मन्थली र रामेछाप नगरपालिका, सुनापति गाउँपालिकालगायतका स्थानीय तहमा व्यावसायिक माहुरीपालन गरिएकाे छ । 

कम लगानीमा बढ आम्दानी हुने भएपछि यहाँका कृषक माहुरीपालनतर्फ आकर्षित भएका हुन् । सुख्खा ठाउँमा पनि माहुरीपालन गर्न सकिने भएकाले धेरैको रोजाइमा परेको छ । 

विशेषगरी सेरेना जातका माहुरीले प्रायः दुई÷तीन महिनामै मह उत्पादन गर्ने भएकाले मह बिक्रीबाट आम्दानी लिन सजिलो हुने कृषक बताउँछन् । लामो समयसम्म रोजगारीको सिलसिलामा सहर बसेर फर्किनुभएका रामेछाप नगरपािलका–७ सुकाजोरका स्थानीय कृष्णबहादुर तामाङले गाँउमै केही गर्ने अठोटका साथ माहुरीपालन गर्नुभएको छ । 

अवसरको खोजी गर्ने क्रममा अन्तिममा माहुरीपालन सहज लागेकोले आफू यसप्रति सन्तुष्ट रहेको उहाँको भनाइ छ । अहिले मह प्रतिकिलो एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरको छ । एक सिजनमा एउटा घारबाट तीन केजीसम्म मह उत्पादन हुन्छ । एक वर्षमा चार पकटसम्म मह काढ्ने गरेको तामाङको भनाइ छ । 

मन्थली नगरपालिका–१ का चन्द्रबहादुर मानन्धरले दुई÷तीन वर्षमै माहुरीपालन विस्तार गरी २० घार बनाउनुभएको छ । उहाँले हाल दुई सय किलोभन्दा बढी मह बिक्री गरिसक्नुभएको छ । सुरुमा माहुरीपालनसम्बन्धी कुनै ज्ञान नभए पनि छोटो अवधिकोे तालिम लिएर सुरु गरेकाले अहिले राम्रै आम्दानी गरेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “विशेषगरी तोरी फुलेका बेलामा माहुरीको मह चाँडो चाँडो काढ्न सकिन्छ । माहुरीको चरन क्षेत्र भनेको फूलबारी र तोरीबारी हो ।”

माहुरीपालन गर्ने कृषकले मह मात्र नभ माहुरीसहितको घार पनि बिक्री गर्ने गरेका छन् । सेरेना जातको माहुरीसहितको घार प्रतिगोटा रु. १० हजारसम्ममा बिक्री हुने कृषक बताउँछन् । 

मन्थलीमा सदाबहार बहुद्देश्यीय सहकारी संस्थाले पनि माहुरीपालन सुरु गरेको छ । छोटो तालिमपश्चात् सुरु गरेको माहुरीपालनबाट प्रतिकिलो एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्मा गाउँघरमै मह बिक्री गर्ने गरेको सुनापति माहुरीपालन फार्मका सञ्चालक एवं खनियापानीका लालबहादुर मानन्धरले बताउनुभयो । 

उहाँले सेरेना र मेरीफेरा गरी दुई जातका माहुरीबाट एक सिजनमा  एक सयदेखि एक सय पचास किलोसम्म मह उत्पादन गर्दै आउनुभएको छ । खनियापनीस्थित रूपाकोटका १८ जनाले पनि व्यावसायिक माहुरीपालन गर्नुभएको छ । रूपाकोट माहुरीपालन कृषक समूहले ५३ घार एकै ठाँउमा माहुरीपालन गर्नुभएको छ  । खनियापानीमा मात्र पाँच सय घार माहुरीपालन गरिएको छ । 

माहुरीपालनका लागि प्रधानमन्त्री कृषि आधुनिकीककरण परियोजनाले पनि विगतदेखि अनुदानस्वरूप सहयोग गर्दै आइरहेको छ । उक्त सहयोग चालु आर्थिक वर्षमा पनि गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकी सूचना अधिकारी बिनिषा श्रेष्ठले जानकारी दिनुभयो ।