गोरखापत्र संस्थानको कान्छो प्रकाशन हो डिजिटल प्रकाशन । गोरखापत्र दैनिकले १२४ वर्ष पूरा गरी १२५ वर्षको खुट्किलो टेक्नै लाग्दा हामी डिजिटल प्रकाशनको आज तेस्रो वार्षिकोत्सव मनाइरहेका छौं । २०६९ मङ्सिरदेखि गोरखापत्र अनलाइन डट कम डोमेनमा व्यवस्थित रुपले समाचार प्रकाशन गर्दैआएका छौं । सोअघि वि.सं. २०५३ फागुन १२ गतेदेखि अङ्ग्रेजी पत्रिका ‘दि राइजिङ नेपाल’ को सामग्रीलाई इन्टरनेटमा पहिलो पटक प्रकाशन गरेको स्मरणमा संस्थानले सोही दिनलाई ‘डिजिटल डे’ को रुपमा मनाउने निर्णय गर्यो । २०७६ भदौं २४ गते सूचना विभागमा दर्ता भई व्यावसायिक प्रतिस्पर्धामा खरो उत्रेको डिजिटल भर्सनको प्रथम डिजिटल डे २०७९ फागुन १२ गते मनाएका थियौं । दोस्रो डिजिटल डे २०८० फागुन १२ गते र आज २०८१ फागुन १२ गते तेस्रो ‘डिजिटल डे’ मनाइरहेका छौं । आजको यस सुखद क्षणमा हाम्रा पाठक, शुभेच्छुक र विज्ञापनदातामा हार्दिक आभार व्यक्त गर्दछौं ।
डिजिटल युगको यस प्रतिस्पर्धी बजारमा हाम्रा पाठक, सहयोगी र शुभेच्छुकहरुका लागि हामी अनवरत खटेका छौं । हाम्रो प्रकाशनको विश्वव्यापी पहुँच स्थापित गर्न सफल भएका छौं । गोरखापत्र संस्थान सरकारी स्वामित्वको संस्था भए पनि प्रतिस्पर्धी बजारमा हामी खरो उत्रेका छौं । देश विदेशमा रहनुभएका हाम्रा पाठक र शुभेच्छुकहरुका लागि गुणस्तरीय र विश्वसनीय सूचना समाचार पस्कन तल्लीन छौं । देशभरका ७७ जिल्लामा १५० बढी हाम्रा समाचारदाता नयाँ सूचना र समाचार सङ्कलनका लागि तैनाथ छन् । परिपक्व र आधिकारिक सूचनाहरु मात्र सम्प्रेषण गर्छौं । दैनिक दुईसयभन्दा बढी समाचार डिजिटल माध्यमबाट पस्कन्छौं । पाठकलाई भ्रममा पारी भ्यूज मात्र बढाउने छुट हामीलाई छैन । हाम्रो समाचार सामग्रीप्रति पाठकहरुले देखाउनुभएको अपार माया र विश्वास हाम्रो सम्पत्ति हो । यसलाई निरन्तर कायम राख्न हामी दिनरात खटेका छौं र खटिरहनेछौं ।
सूचना प्रविधिको डिजिटल युगमा सबैभन्दा ठुलो चुनौती भनेकै विश्वसनीयता कायम राख्न सक्नु नै हो । सामाजिक सञ्जाल, न्यूज पोर्टलसहितको न्यू मिडियाको अधिक्तम विकास र प्रयोग भए पनि सत्य र तथ्यपूर्ण समाचारको खडेरी छ । खोजी समाचार नगण्य छ । कपी पेष्ट समाचारको बाढी छ । तथ्यलाई तोडमोड गरी पाठकहरुलाई दिग्भ्रमित पारी भ्यूज बढाउने ध्याउन्न केही मिडियाको देखिन्छ । डिजिटल मिडियाको बढ्दो विकासले पाठकलाई छनाेटको विकल्प त दिएको छ, तर गुणस्तरीय सामग्री प्राप्त नहुँदा पाठक निराश हुनेगरेका छन् । यस्तो अवस्थामा गोरखापत्रको डिजिटल प्रकाशन नै भरपर्दो र विश्वसनीय विकल्पको रुपमा पाठकलाई सेवा प्रदान गर्दैआएको छ । विश्वसनीय र सन्तुलित समाचार पस्केर हामी पाठकको मन जित्न सफल भएको अनुभूति गरेका छौं । सस्तो लोकप्रियताका ‘भ्यूज’ बढाउने मात्र हाम्रो ध्याउन्न छैन । हामी पाठकलाई सही, सत्य र तथ्यपूर्ण समाचार सामग्री पस्कने प्रण गरेका छौं । त्यहीकारण पाठकको असीम माया प्राप्त गरेका छौं ।
समय र पत्रकारिताको बजार प्रतिस्पर्धी छ । एकातिर हामीले सत्य र सही सूचना समाचार सम्प्रेषण गरी पाठकसामु आफूलाई खरो उतार्नु पर्नेछ । अर्कोतिर पाठकको विश्वास र माया प्राप्त गर्नुपर्ने छ । यी दुवै पक्षलाई ध्यानमा राखी हामी विश्वसनीय स्रोतको आधारमा खोजमूलक समाचार पस्किरहेका छौं । आगामी दिनमा अझ बढी विश्वसनीय र पठनीय सामग्री पस्कने जमर्को गर्नेछौं । गोरखापत्रको डिजिटल प्रकाशनमार्फत हामी ४५ भाषाका सामग्री पस्कन्छौंं । गोरखापत्रका प्रकाशनले समावेशी, भौगोलिक विविधता र विश्वसनीयतालाई प्राथमिकतामा राखेको छ । पाठकहरुको चाहनालाई ध्यानमा राखी अनलाइन टीभीमार्फत भिडियो अन्तरवार्ता ‘सांसदलाई सवाल’ सुरु गरेका छौं । २०८१ साउन १२ गतेदेखि सुरु भएको भिडियो अन्तर्वार्ता अहिलेसम्म ३१ औं शृङ्खला सम्पन्न भएको छ । यो शृङ्खलाले जनतालाई जनप्रतिनिधिसँग जोड्ने अवसर प्रदान गरेको छ । जनप्रतिनिधिलाई जनताप्रति जवाफदेही बनाएको विश्वास लिएका छौं । अन्य विविध राजनीतिक, सांस्कृतिक, स्वास्थ्य तथा समसामयिक विषयका भिडियो सामग्री पनि निरन्तर प्रकाशन गर्दैआएका छौं ।
हाम्रो प्रकाशन सामग्रीलाई अझ प्रभावकारी, विश्वसनीय र पठनीय बनाउन पाठकको निरन्तर खवरदारी अपेक्षित छ । यहाँहरुको अमूल्य सुझाव, टिप्पणी र मार्गनिर्देशनले हामी आफूलाई अब्बल सावित गर्न सक्नेछौं । काम गर्नेक्रममा हामीबाट अनेक त्रुटि, कमजोरी भएका छन् । त्यसबाट पाठ सिक्दै आगामी दिनमा हाम्रा प्रकाशनलाई अझ पठनीय, विश्वसनीय र सन्तुलित बनाउन सचेत रहनेछौं । यहाँहरुको स्वस्थ आलोचना र रचनात्मक सुझावको सदैव अपेक्षा गरेका छौं । हाम्रो प्रकाशन सरकारी मुखपत्र होइन, दुर्गममा रहेका नागरिकको समावेशी आवाजको वकालत गर्ने हो । यही हाम्रो कर्तव्य ठानेका छौं । नागरिकको समस्या सरकारसमक्ष पुर्याउने र सरकारले गरेका कामलाई नागरिकसामु पुर्याउने पुलको रुपमा सदैव काम गरेका छौं र गर्नेछौं । तेस्रो ‘डिजिटल डे २०८१’ को अवसरमा हाम्रा पाठक, शुभेच्छुक, सहयोगी र विज्ञापनदाता सबैमा हार्दिक शुभकामना ।