गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १२ गते । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत नेपाली सेनाद्वारा निर्माणाधीन काठमाडौँ–तराई द्रुतमार्गको भौतिक तथा वित्तीय प्रगति बढेको छ । नेपाली सेनाका गतिविधिबारे जानकारी गराउन सैनिक मुख्यालय जङ्गी अड्डामा आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजनाका प्रमुख, उपरथी कमलविक्रम शाहले द्रुतमार्गको समग्र प्रगति करिब ४० प्रतिशत रहेको जानकारी दिनुभयो ।
उहाँले भौतिक प्रगति ३८.२६ प्रतिशत तथा वित्तीय प्रगति ३९.८४ प्रतिशत रहेको जानकारी दिँदै भन्नुभयो, “आयोजना अन्तर्गत अधिकांश भौगोलिक रूपमा विकट तथा कठिन ठाउँमा काम भइरहेको छ । विगतभन्दा अबदेखि आयोजनाको तुलनात्मक प्रगति बढी हुन्छ ।”
गत आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको भौतिक प्रगति ३०.९६ प्रतिशत वित्तीय प्रगति ३१.५७ प्रतिशत रहेको थियो । आयोजनाको कुल ७०.९७७ किलोमिटर लम्बाइ रहेको द्रुतमार्गमा १०.९७ किलोमिटर लम्बाइका सात वटा सुरुङमध्ये धेद्रे सुरुङ र लानेडाँडा सुरुङ छिचोलिइसकेको र सबैभन्दा लामो महादेवटार सुरुङमार्गको काम पनि तीव्र रूपमा अघि बढेको सेनाले जनाएको छ ।
देवीचौरी, सिसौँटार, चन्द्राम भिरमा बन्ने सुरुङको डिजाइन तयार भई काम अघि बढेको जनाइएको छ । आयोजनाको कुल १३ निर्माण प्याकेज रहेकामा प्याकेज नम्बर १ देखि ७ र १० को खरिद प्रक्रिया सम्पन्न भई कार्यान्वयनको चरणमा छ । प्याकेज नम्बर ८ (क), ८ (ख), ९ (क) र ९ (ख) समस्या सिर्जना हुँदा काम अघि बढ्न सकेको छैन । त्यसै गरी प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना क्षेत्रमा द्रुतमार्गको सुरु बिन्दु निर्धारण, सो क्षेत्रको सवारी आवागमन व्यवस्थापन र जग्गा अधिग्रहण विवाद समाधान भए कामको प्रगति बढ्ने छ ।
आयोजनाको करिब ९५ प्रतिशत प्याकेज कार्यान्वयन तथा खरिद प्रक्रियामा पुगेको र मुख्य गरी सुरुङमार्ग र पुल निर्माणको काम तीव्र रूपमा अघि बढेको छ । त्यसै गरी आयोजनामा कुल ८९ पुलको लम्बाइ १२.८८५ किलोमिटर रहने छ । प्याकेज नम्बर १ देखि ७ सम्मका पुल निर्माण अघि बढेको छ ।
काठमाडौँलाई तराईसँग जोड्न सबैभन्दा छोटो द्रुतमार्गमा पहाडी भू–भागमा सडकको चौडाइ २५ मिटर र तराई भू–भागमा २७ मिटर रहेको आयोजनाले जनाएको छ । आयोजना निर्माणका लागि अधिग्रहण गर्नुपर्ने कुल १५ हजार ४१६ रोपनी जग्गामध्ये सरकारी जग्गा १० हजार २४४ र व्यक्तिगत जग्गा पाँच हजार १७२ रोपनी रहेको छ । अधिग्रहणको सूचनामा प्रकाशित व्यक्तिगत जग्गा पाँच हजार १७२ रोपनीमध्ये हालसम्म चार हजार ७७७ रोपनी जग्गा अधिग्रहण भइसकेको सेनाले जनाएको छ ।
सडक हस्तान्तरण
नेपाली सेनाले भौगोलिक रूपमा कठिन भई निजी क्षेत्रले निर्माण गर्न नसकेका सडक निर्माण सम्पन्न गरी दुर्गम क्षेत्रमा सडक पहुँच विस्तार गरेको छ । सेनाले पछिल्लो १० वर्षमा बहुप्रतीक्षित कालीगण्डकी कोरिडोर, जाजरकोट–डोल्पा–जोमसोम–कागबेनी सडक, कर्णाली राजमार्ग, काठमाडौँ–हेटौँडा कान्ति लोकमार्गलगायत ३२ वटा सडक आयोजना सम्पन्न गरेको जनाएको छ । जसको लम्बाइ एक हजार ४०० किलोमिटर रहेको र ती सडक सरकारलाई हस्तान्तरणसमेत गरिसकेको जनाएको छ ।
सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार खाँदबारी–किमाथाङ्का सडक, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक, कर्णाली कोरिडोर सडक, दार्चुला टिङ्कर सडक अन्तर्गतका २०० किलोमिटरभन्दा बढी सडक निर्माण भइसकेको र बाँकी सडक निर्माण पनि तीव्र रूपमा अघि बढेको छ ।