• ११ फागुन २०८१, आइतबार

जनकपुरका निजी अस्पताल : एनेस्थेसियाका जनशक्तिबिना शल्यक्रिया

blog

अस्पताल अनुगमन गर्नुहुँदै मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, फागुन ११ गते  । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले जनकपुरका निजी अस्पतालमा बिरामीलाई बेहोस बनाउने (एनेस्थेसिया) डाक्टरको उपस्थितिबिना नै शल्यक्रिया हुने गरेको खुलासा गर्नुभएको छ । उहाँले अनुगमनका क्रममा शल्यक्रयाका लागि आवश्यक दक्ष एनेस्थेसियोलोजिस्टको उपस्थितिबिना नै शल्यक्रिया हुने गरेकोे पत्ता लागेको बताउनुभयो । 

मुख्यमन्त्री सिंहले जनकपुरका अधिकांश निजी अस्पतालमा दुई/चार महिना तालिम लिएका सहायकका भरमा शल्यक्रया गर्ने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी अनुगमनका क्रममा विभिन्न अस्पताल पुगेका थियाैँ । शल्यक्रियाको जिम्मा लिने डाक्टरहरूको नाम एउटै भए पनि शारीरिक रूपमा उनीहरू त्यहाँ थिएनन् । सट्टामा सहायकलाई शल्यक्रिया गर्ने जिम्मा दिइएको पाइयो ।”

उहाँका अनुसार यहाँका अधिकांश अस्पतालमा ‘एनेस्थेसिया’ का डाक्टर नै छैनन् । शल्यक्रिया गर्दा ‘एनेस्थेसियोलोजिस्ट’ को उपस्थितिमा मात्रै शल्यव्रिmया गरिन्छ तर मधेश प्रदेशका निजी अस्पतालमा दक्ष चिकित्सकबिना नै जटिल शल्यक्रिया भइरहेकाले बिरामीको ज्यान जोखिममा परिरहेको छ ।

जनस्वास्थ्यका लागि गम्भीर चुनौती बनेको यस अवस्थालाई नियन्त्रण गर्न मुख्यमन्त्री सिंहले कडा नियमन गरिने बताउनुभयो । बिनाएनेस्थेसिया डाक्टर शल्यव्रिmया गर्ने अस्पताललाई कारबाही गरिने उहाँले चेतावनी दिनुभयो । 

एक जना एनेस्थेसियोलोजिस्टका अनुसार नेपालमा स्वास्थ्य व्यवसाय परिषदमा दर्ता भएका एमडी चिकित्सकले मात्र एनेस्थेसिया दिन पाउने प्रावधान छ । जटिल शल्यक्रियामा बिरामीलाई एनेस्थेसिया दिनुअघि मुटुको चाल, मानसिक अवस्था, दीर्घकालीन तथा अल्पकालीन रोगको अवस्थाबारे जाँच गर्नु पर्छ तर जनकपुरका ठुला भनिने अस्पतालले समेत बिरामीसँग पैसा लिएर असिस्टेन्टमार्फत शल्यक्रिया गर्ने गरेको उहाँले आरोप लगाउनुभयो । 

उहाँका अनुसार जनकपुरमा एनेस्थेसिया डाक्टर जम्मा छ जना मात्र छन् । तीमध्ये प्रादेशिक अस्पताल जनकपुरमा डा. सञ्जय यादव, डा. रोशन साह, डा. अजय पजियार, डा. सन्दीप शर्मा गरी चार जना कार्यरत छन् । बाँकी दुई जना मात्र अन्य अस्पतालमा छन् ।

माघ ३ गते जनकपुर–१४ स्थित बिनादर्ताको मुस्कान हस्पिटलमा सर्लाहीकी पविताकुमारी यादवको पित्तथैलीको अपरेसन गर्दा २० दिनसम्म होस (चेत) नआएपछि मुख्यमन्त्री सिंहले अवैध अस्पतालमाथि चासो लिँदै अनुगमन सुरु गर्नुभयो । माघ २५ गते मुस्कान हस्पिटलको अनुगमन गर्दै दर्ताबिना नै सञ्चालन भएको पाइएपछि बन्द गर्न निर्देशन दिनुभयो । त्यसपछि जनकपुर र वीरगन्जमा गरिएको अनुगमनपछि १६ वटा अस्पताल अवैध रूपमा सञ्चालनमा रहेको पाइएको छ । 

मुख्यमन्त्री सिंहको निर्देशनमा ती अस्पताल हाल बन्द गरिएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार बन्द गरिएका अस्पताल अवैध रूपमा सञ्चालनमा रहेको पुष्टि भएपछि तिनलाई बन्द गरिएको हो । जनकपुरका कुल ८० वटा अस्पतालमध्ये अहिलेसम्म ४० वटा अस्पतालको निरीक्षण गरिएको छ । 

मुख्यमन्त्री सिंहले अनुगमन गरिएका अस्पतालमध्ये लगभग आधा जति मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निजी अस्पतालको कामकारबाहीबारे धेरै गुनासो आएपछि आफैँ निरीक्षण गर्ने योजना बनाएँ । अस्पतालको अनुगमन गर्दा यो गम्भीर समस्या बाहिर आयो ।