• ११ फागुन २०८१, आइतबार

पथरीशनिश्चरे खण्डमा कालोपत्रे हुँदै

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, फागुन ११ गते । हिउँदमा धुलो र वर्षायाममा हिलो खेपिरहेका मोरङको पथरीशनिश्चरे शिविरडाँडाबाट शनिश्चरे बजार–गान्धी आश्रम–टकुवा हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहन मार्गका उपभोक्ताको खुसी फर्किएको छ । 

पाँच वर्षदेखि लथालिङ्ग भएको सडकमा निर्माण कम्पनीले धमाधम काम गर्न थालेपछि खुसी फर्किएको हो । सम्झौता अनुसार सडक २०८० सालको भदौ मसान्तमा कालोपत्रे गरिसक्नुपर्ने थियो । निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनले तोकिएको मिति सकिएको १५ महिनापछि काम थालेको पथरीशनिश्चरे नगरपालिका वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राईले बताउनुभयो । 

राईका अनुसार विद्युत्को पोल स्थानान्तरणमा समस्या भएकाले एकातर्फ मात्र कालोपत्रे भइरहेको छ । काम तीव्र गतिमा भइरहेकाले अब हिलो र धुलोबाट मुक्त हुनेमा आशावादी भएका वडाध्यक्ष राईले भन्नुभयो ।

पूर्वपश्चिम राजमार्गसँग विराटनगर–रङ्गेली– भद्रपुर सडकलाई जोड्ने यो सडक सङ्घीय सरकारको हुलाकी सडक आयोजना इटहरीमार्फत २०७७ सालमा ठेक्का लागेको हो । कान्छाराम कन्स्ट्रक्सनले एक अर्ब ९४ करोड ९४ लाख रुपियाँमा ठेक्का प्राप्त गरेको सडकलाई त्यसबेला जिल्लाकै नमुना सडकका रूपमा निर्माण गरिने बताइएको थियो । दुवैतर्फ नालासहित ६० फिटको सडकमा २४ फिट कालोपत्रे र बाँकी भाग साइकल र पैदल पथ निर्माण गर्ने योजना थियोे तर लामो समयसम्म निर्माण कम्पनी काममा नफर्किएपछि स्थानीय उपभोक्ता धुलो र हिलोको मारमा थिए । 

कान्छाराम कन्स्ट्रक्सनका निर्देशक दीपक थिङले भन्नुभयो, “बजेट अभावका कारण काम रोकिएको थियो । सरकारले पैसा दियो भने काम रोकिन्न । निर्माण कम्पनीले ऋण गरेर काम गर्छ । सरकारले भुक्तानी दिँदैन । हामीलाई पनि समस्या छ ।”

उहाँले स्रोतको सुनिश्चित नभई सरकारले टेन्डर आह्वान गर्दा समस्या भएको बताउनुभयोे । निर्देशक थिङका अनुसार हाल रिगुवा देखि केचनासम्म नौ किलोमिटर क्षेत्रमा कालोपत्रे भइरहेको छ । कालोपत्रेसँगै थप क्षेत्रमा माटो भर्ने, सबबेस हाल्ने, बेस हाल्ने र बिजुलीका पोल सार्ने काम धमाधम भइरहेको छ । साइट खाली नभएका स्थान छाडेर बाँकी सबै क्षेत्रमा असार मसान्तसम्ममा कालोपत्रेको काम सक्ने योजना निर्माण कम्पनीको रहेको निर्देशक थिङको भनाइ छ । 

निर्माण कम्पनीका निर्देशक थिङले हालसम्म ५० प्रतिशत भौतिक र ३५ प्रतिशत वित्तीय प्रगति भएको बताउनुभयो । २५ किलोमिटर लामो यो सडकको सुनबर्सी नगरपालिकाको केही क्षेत्रमा प्रारम्भिक चरणको काम सुरु भएको छ । 

असार मसान्तसम्ममा ९० प्रतिशत काम सम्पन्न गर्ने गरी तीव्र गतिमा काम गरिरहेको दाबी निर्माण कम्पनीले गरेको छ तर हुलाकी सडक आयोजनासँग बजेट सुनिश्चित नभएको पनि बताइएको छ । थिङले भन्नुभयो, “रकम निकासा भएमा अब काम रोकिँदैन । काम हामीले समयमै सम्पन्न गर्न सक्ने स्थिति छ । सडकले मोरङका पथरीशनिश्चरे, सुनबर्सी र रङ्गेली नगरपालिका हुँदै भारतको सिक्टीलाई जोड्छ । पथरी–ज्यामिरे सडकसँग यो सडक जोडिएपछि उत्तरी मोरङको उत्पादन भारतसम्म पु-याउन सहज हुने बताइएको छ ।