मुगु समाचारदाता
मुगु, फागुन ११ गते । जलवायु परिवर्तनका कारण यस वर्ष मुगुमा हिमपात कम भएको छ । जलवायु परिवर्तनका कारणले जिल्लामा प्रत्येक वर्ष हिउँ घट्दै गएको हो ।
यो समयमा हिमपात भएर सेताम्मे हिउँ देखिनुपर्ने हिमाल कालापत्थर जस्तै देखिएका छन् । हिउँले रुझेर यहाँको धुलो हिलाम्मे हुनुपर्ने समय हो । जिल्लाका मुगुमकार्मारोङ गाउँपालिका, सोरु, खत्याड, र छायानाथ रारा नगरपालिकाका बस्तीमा हिमपात नै कम भएको छ ।
हिउँ नपर्दा यहाँका किसान चिन्तित हुन थालेको छायानाथ रारा नगरपालिका–६ का स्थानीय कर्णबहादुर कुलालले बताउनुभयो । जिल्लामा हिमपात नहुँदा कृषि क्षेत्रमा सिँचाइको अभाव भएको छ । पर्याप्त मात्रामा हिमपात नहुँदा फलफूलदेखि कृषि उत्पादनमा कमी आउने कुलालले बताउनुभयो । जिल्लाको तल्लो क्षेत्रमा वर्षा हुने र माथिल्लो क्षेत्रमा भारी हिमपात हुँदा यहाँको उत्पादन फस्टाउने गरेको किसान बताउँछन् तर यो वर्ष कम मात्रामा हिउँ परेपछि उत्पादनमा कमी आउने देखिएको छ । प्रायः मङ्सिर अन्तिमदेखि हिमपात हुनुपर्ने हो ।
हिमपात भएपछि जीवनयापनमा समस्या हुने भएकाले यहाँका स्थानीय चिसो र हिमपात छल्न कात्तिक अन्तिम र मङ्सिर पहिलो साताभित्रै बेँसी झर्ने गर्दछन् तर यो वर्ष भने सोचे जस्तो हिमपात नभएको मुगुमकार्मारोङ गाउँपालिका–३ का स्थानीय पेमादोर्जे लामाले बताउनुभयो ।
जिल्लामा समय अनुसार हिमपात नहुँदा हिउँदेबालीमा सिँचाइ नहुँदा जौ र गहुँ, फलफूलको उत्पादन घट्ने सम्भावना देखिएको कृषि विकास कार्यालय मुगुले जानकारी दिएको छ । छायानाथ रारा नगरपालिका–६ का ८२ वर्षीय ज्येष्ठ नागरिक कर्णबहादुर ऐडीका अनुसार विगतका वर्षहरूको तुलनामा यो वर्ष हिउँ कम परेको छ ।
हिउँदे मौसममा हिमपात नभएपछि मुगुका हिमाल नाङ्गिँदै गएका छन् । पछिल्ला वर्षमा हिमपात पर्ने समय नै परिवर्तन भएको उहाँले बताउनुभयो । मौसम फेरिएर पुस, माघमा हिउँ नपर्ने र फागुन, चैतमा हिउँ पर्ने अवस्था आएको छ ।
मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर अनुभव गर्न थालेको स्थानीय बताउँछन् । अहिलेसम्मको परिस्थिति हेर्दा यो साल हिमपात केही वर्षयताकै कम हिउँ देखिएको यहाँका बुढापाका बताउँछन् ।