• ११ फागुन २०८१, आइतबार

जोखिमयुक्त काठेपुलबाट वारपार

blog

सर्केगाड गाउँपालिका–२ को खडिखेतमा रिपगाउँवासीले जनश्रमदानमा निर्माण गरेको काठेपुल । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, फागुन ११ गते । यहाँको सर्केगाड गाउँपालिका–२ को रिपगाउँका स्थानीयले जोखिमयुक्त काठेपुलबाट वारपार गर्नु परेको छ । सरोकारवाला पक्षले झोलुङ्गे पुलको निर्माण गर्न माग गरेको भए पनि कुनै सुनुवाइ नभएपछि रिपगाउँका स्थानीयले जनश्रमदानबाट उक्त काठेपुल निर्माण गरेका थिए । पुलको घेरबार नहुँदा झारपातले घेरबार गर्नु परेको छ ।

रिपगाउँका स्थानीय दलजित कार्कीले बाध्यतावश स्थानीय मिलेर काठेपुलको दुवैतिर झारपारले घेरबार गरेर काठेपुल निर्माण गरी वारपार गर्दै आउनु परेको बताउनुभयो । काठेपुल रिपगाउँका २५० घरधुरीले दुई दिन लगाएर जनश्रमदानबाट निर्माण गरेका थिए । कर्णालीपारि कर्णाली कोरिडोरको सडक छ । रिपगाउँवासीलाई सदरमुकाम सिमकोट र गाउँपालिका केन्द्र वा जिल्लाबाहिर जानका लागि गिउसी र छारेको झोलुङ्गे पुल तर्न टाढा भएका कारण कर्णाली नदी किनारको खडिखेतमा उक्त पुल निर्माण गरिएको हो ।

एक हप्ताअगाडि मात्रै उक्त काठेपुल बनाएर वारपार गर्न सुरु गरिएको छ । यसअघि सो स्थानमा तुइन थियो । कर्णालीमा आउजाउ गर्न समस्या भएपछि गाउँकै सल्लाहमा सो काठेपुल निर्माण गरिएको उहाँले बताउनुभयो । खडिखेतमा होटेल व्यवसायी, विद्यार्थीले त्यो पुल प्रयोग गर्ने गरेका छन् । उहाँले नदी ठुलो भएका कारण काठेपुलको दुवैतिर झारपातले जोखिम घटाउन घेरबार गरिएको जनाउनुभयो । बाटो छोटो भए पनि पैदल यात्रुलाई झारपातले घेरबार गरिएको उक्त पुल तर्न जोखिम रहेको उहाँको भनाइ छ । स्थानीय अज महताराले काठेपुल हटाएर उक्त स्थानमा झोलुङ्गे पुल निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । यो पुल रिपगाउँवासीका साथै वडा नं. ३ को उनापानी गाउँवासीले पनि प्रयोग गर्दै आएका छन् ।