• ११ फागुन २०८१, आइतबार

नेपाल भाषाका पाँच साहित्यकार सम्मानित

blog

 गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ११ गते । २५ औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका उपलक्ष्यमा नेपाल भाषाका पाँच जना वरिष्ठ साहित्यकारलाई शनिबार सम्मान गरिएको हो । काठमाडौँ महानगरपालिका–२२ को आयोजनामा भएको स्रष्टा सम्मान र कवितावाचन कार्यक्रममा वरिष्ठ समालोचक पुष्प चित्रकार, कथाकार सुवर्णकेशरी चित्रकार, कवि नवीन चित्रकार, कथाकार तथ गीतकार निरञ्जनरत्न शाक्य र कवि श्रीराम श्रेष्ठ सम्मानित हुनुभयो ।

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, भाषा आयोगका सदस्य सुरेश मानन्धर र वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनले सम्मानित सबैलाई दोसल्ला ओढाई सम्मानपत्र हस्तान्तरण गर्नुभयो । भाषा आयोगका अध्यक्ष ठाकुरले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा लागु गर्दा देश अझ अगाडि बढेको बताउनुभयो । “काठमाडौँ महानगरपालिकाले नेपाल भाषा र तामाङ भाषा मात्र हैन, अन्य मातृभाषा पनि लागु गर्न पहल गर्नु पर्छ । भाषा आयोगले पनि अन्य प्रदेशमा पनि अन्य भाषा लागु गराउन कार्य गर्दै आइरहेको छ,” उहाँले भन्नुभयो ।

सम्मानित कवि श्रेष्ठले स्थानीय तहबाट भएको स्रष्टा सम्मानले युवापुस्तालाई साहित्यतर्फ आकर्षित गर्न सहयोग हुने धारणा राख्नुभयो । यसै गरी आयोजक वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनले स्रष्टा सम्मान तथा विविध मातृभाषाका कवितावाचन कार्यक्रम गर्न पाउँदा खुसी लागेको र यस्तो कार्यक्रमले निरन्तर‌ता पाउँछ भन्नुभयो । सो कार्यक्रमको दोस्रो चरणमा नेपाल भाषा, नेपाली, राई, मैथिली, भोजपुरी, तामाङ भाषाका २६ जना कविले आआफ्नो मातृभाषामा कविता सुनाएका थिए ।