• ११ फागुन २०८१, आइतबार

स्वदेशी उत्पादन प्रवर्धनमा खस्यौली बजार

blog

बुटवलमा सुरु भएको खस्यौली बजार ।

बुटवल समाचारदाता

बुटवल, फागुन ११ गते । बुटवलको ट्राफिक चोकको एक किनारमा फरकपनको झल्को दिने स्वदेशी वस्तु मात्रै बिक्री हुने खस्यौली बजार सुरु भएको छ । स्वदेशी उत्पादनको पहिचान र प्रयोग बढाउन प्रोत्साहन गर्दै खस्यौली बजारको सुरुवात गरिएको हो । 

बुटवलको पुरानो लक्ष्मी चलचित्र मन्दिरनजिकै स्थानीयले फोहोर फाल्ने खाली जग्गालाई सदुपयोग गर्दै सुरु भएको यो बजारमा स्वदेशमा उत्पादन गरिएका वस्तु मात्रै बिक्रीका लागि राख्ने गरिएको छ । यो बजार हरेक शनिबार बिहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन हुन्छ । 

खस्यौली बजारमा गाउँघरमा उत्पादित तरकारीदेखि स्वदेशी कपडा, नेपाली चिया, कफी, अचार, दुग्धजन्य परिकार, हस्तकलाका सामान र बाँसबाट बनाइएका घरेलु सजावटका सामान बिक्रीका लागि राख्ने गरिएको छ । त्यसै गरी सिस्नो, स्कुस, पिँडालु, फर्सी, सिमी, तरुल, लप्सी, सिलाम, भट्ट, मासको दाल, कोदो, फापरको पिठोलगायतका तरकारी तथा दलहनसमेत खस्यौली बजारबाट खरिद गर्न पाइन्छ । 

पहिलो दिन खस्यौली बजार सुरु गर्दा जम्मा १२ वटा पसलबाट ग्राहकलाई सेवा दिए पनि एक महिनाको अवधिमा पसलको सङ्ख्या २० पुगेकाले आफूलाई उत्साहित बनाएको यसको अवधारणा ल्याउने समुद्र घिमिरेले बताउनुभयो ।

खस्यौली बजारकी व्यवसायी आस्था बुढापिर्थीले नेपाली उनी धागोबाट आफैँले बनाएका टोपी, टप्स, ब्याग, हेन्डब्याग, किरिङ, फूललगायत सामग्री बजारमा बिक्रीका लागि ल्याउने गर्नुभएको छ । उहाँका अनुसार यो बजारमा पसल राखेपछि उपभोक्ताले नेपाली उत्पादन भन्दै चासो लिएर खरिद गर्ने गरेका छन् । त्यसबाट आफू पनि उत्साहित भएको बुढापिर्थीको भनाइ छ । त्यसै गरी रुपन्देहीको शुद्धोधन गाउँपालिकाका सुजन खनालले पनि खस्यौली बजारमा आफैँले घरमै तयार गरेको उत्पादन बिक्रीका लागि राख्दै आउनुभएको छ । उहाँले आफ्नै गाउँ हिरापुरमा आँप र लिचीको व्यावसायिक खेती गर्नुभएको छ । घरमै अचार र मह उत्पादन गरेर खस्यौली बजारमा बिक्री गर्दै आएको र यो बजारबाट आफू प्रभावित भएको उहाँको भनाइ छ । खस्यौली बजारमा कटन र गाँजाको बोक्राबाट बनेको झोला पनि पाइन्छ । यस्तो झोलाको माग काठमाडौँ र विदेशमा समेत राम्रो रहेकाले खस्यौली बजारमा पनि बिक्रीका लागि राखेको व्यवसायी अच्युतराज भण्डारीले बताउनुभयो ।