• ११ फागुन २०८१, आइतबार

परिचयपत्रले उत्पादन बिक्री सहज

blog

तुलसीपुर समाचारदाता

तुलसीपुर, फागुन ११ गते । तुलसीपुर उपमहानगरपालिका–७ का दिया चौधरी बिहानै तुलसीपुर बजारमा तरकारी बिक्री गर्न जानुहुन्छ । उहाँलाई बजार क्षेत्रको निश्चित ठाउँमा तरकारी बिक्रीका स्थान तोकिएको छ । २५ वर्षदेखि तरकारी उत्पादन बिक्री गर्दै आएकी चौधरीले किसान परिचयपत्र प्राप्त गरेसँगै तरकारी बिक्रीवितरणमा सजिलो भएको बताउनुभयो । 

चौधरी मात्रै होइन, १५ वर्षदेखि तरकारी खेती गर्दै आउनुभएका तुलसीपुर–१९ का खिमबहादुर घर्तीमगरले परिचयपत्र वितरणबाट किसान र उपभोक्ता दुवै फाइदामा पुगेको बताउनुभयो । उहाँले किसानले आफैँ तरकारी बिक्रीका लागि स्थान प्राप्त गरेपछि बिचौलियाबाट उपभोक्ता ठगिन रोकिएको बताउनुभयो । उत्पादन गरेको तरकारी गैरकिसानले बजारका विभिन्न ठाउँमा हड्प्दै बिक्रीवितरण गर्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाले पालिकाभित्र रहेका किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बिक्रीवितरणका लागि किसान परिचयपत्रसमेत उपलब्ध गराएको छ । 

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बजार क्षेत्रका गैरकिसानले बजारका जुनसुकै ठाउँमा बसेर तरकारी बिक्री गर्न थालेपछि उत्पादन गर्ने किसान मारमा परेकाले किसान परिचयपत्र वितरण गरिएको बताउनुभयो । उहाँले दीर्घकालीन रूपमा समस्या समाधानका लागि पातुखोला पुलदेखि उत्तरतर्फको खाली क्षेत्रमा टहरा निर्माण गरिएको बताउनुभयो । उहाँले क्रमशः बजारका चारै दिशामा किसानले उत्पादन गरेका वस्तुको बिक्रीवितरणका लागि टहरा निर्माण गरिने बताउनुभयो । कृषि शाखाका प्रमुख धनराज गौतमले किसान परिचयपत्र वितरणसँगै किसानले उत्पादन गरेका वस्तुको बिक्रीवितरणमा सहज भएको बताउनुभयो । गौतमका अनुसार तुलसीपुर उपमहानगरपालिका–१, २, ३, ४, ७, ८, १२, १४, १५, १६, १८ र १९ का एक सयभन्दा बढी किसानले आफूले उत्पादन गरेका तरकारी बिक्रीवितरणका लागि किसान परिचयपत्र वितरण गरिएको बताउनुभयो ।